सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका १९ जना बालविकास शिक्षकलाई तालिम प्रदान गरिएको छ ।
रीड नेपालको आयोजना तथा नगरको सहयोगमा चलेको ५ दिने तालिममा १९ विद्यालयका एक–एक जना बालविकास शिक्षकलाई प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगायतका विषयवस्तुमा तालिम प्रदान गरिएको छ ।

सल्लेरी स्थित जनजागृती आधारभूत विद्यालयमा भएको तालिमको समापन शनिबार रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता र सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङको आतिथ्यतामा गरिएको छ । उपप्रमुख तामाङले तालिमबाट सिकेका सीप कक्षा कोठामा प्रयोगमा ल्याउन आग्रह गर्दै बालविकास शिक्षकको प्रोत्साहनका लागि सरकारले उपलब्ध गराउदै आएको सुविधामा नगरपालिकाले ५ हजार मासिक सुविधा थप्ने निर्णय कार्यान्वयनमा ल्याउने बताइन् ।
रीड नेपालका शिक्षा विकास संयोजक गिरीले तालिमको मुल्यांकनले देखाएको नतिजाले उत्साहित बनाएको बताए । उनले बालबालिकाको बलियो शैक्षिक जग बसाल्ने जिम्मेवारी निर्वाहका क्रममा सिकेका सीप कक्षाकोठामा प्रयोग भएमात्र प्रभावकारिता मान्ने बताए । सहभागीको तर्फबाट बोल्दै सिंहदेवी मावि तिङलाकी लक्ष्मी कार्की र सेकारसिंह आविकी डिल्ली कुमारी भूजेलले राज्यबाट नपाएको तालिम गैरसरकारी संस्थाबाट पाएकोमा खुसी व्यक्त गरे ।

बालबालिकाको शैक्षिक जग बसाल्ने जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने उनीहरुको भनाई थियो । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास केशवदेव गिरी तथा शिक्षा विकास अधिकृत सुजता राईले गरेका थिए । हालसम्म सोलुका विभिन्न स्थानीय तहका ७६ बालविकास शिक्षकलाई प्रारम्भिक बालविकास सम्बन्धी तालिम प्रदान गरिसकिएको छ ।