सोलुखुम्बु, २६ भदौ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने हुङ्गा खोला पहिरो खसेर थुनिएको छ । आज शुक्रबार बिहान करिब ७ बजे गएको पहिरोले खोला थुनिएपछि प्रशासनले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार पहिरो खसेर खोलामा करिब १०० मिटर लामो बाँधजस्तो संरचना बनेको छ । पहिरो खस्ने क्रम अझै नरोकिएकाले खोलामा जम्मा भएको पानीको मात्रा बढिरहेको उनले बताए ।
“खोलाको माथिल्लो भागबाट ठूलो पहिरो खसेर करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनेको जानकारी आएको छ,” प्रमुख जिल्ला अधिकारी थापामगरले भने, “पहिरो खस्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौँ ।” हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले पहिरोका कारण बनेको अस्थायी तालको पानी एकैपटक बाहिरिएमा तल्लो तटीय क्षेत्रमा असर पर्नसक्ने प्रशासनको आकलन छ ।
सोही कारण सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुंगा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताए । घटनाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयमा समेत जानकारी गराइसकिएको उनको भनाइ छ । घटनास्थलको अवस्था बुझ्न तथा आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हालसम्म पहिरोका कारण तत्कालै कुनै बस्ती जोखिममा परेको यकिन नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर तल्लो तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ । महाकुलुङ गाउँपालिकाले पहिरोले खोला थुनिएको जानकारी पाएपछि घटनास्थलतर्फ स्काभेटर पठाएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए । उनका अनुसार घटनास्थलको अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको छ ।
हुङ्गा खोला आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजनाहरु समेत निर्माणाधीन अवस्थामा रहेका छन् । खोलामा जम्मा भएको पानी अचानक बाहिरिएर ठूलो बहाव आएमा ती आयोजनाका संरचनामा समेत असर पर्नसक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले खोला तथा नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा घटनास्थलतर्फ नजान, नदीको बहाव तथा पानीको सतहमा हुने परिवर्तनबारे सचेत रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनालाई ध्यान दिन आग्रह गरेको छ ।
तस्विर : एआइद्वारा निर्मित
















