काठमाडौँ, २७ भदौ । काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित शेर्पा हिल्समा बौद्ध धर्मावलम्बीहरूको विशेष धार्मिक अनुष्ठान ‘यार्ने पूजा’ सम्पन्न भएको छ। भारत लद्दाखका धर्मगुरु डुबिन सोनाम जोम्बेल रिन्पोछेको विशेष उपस्थितिमा करिब ३५० जना बौद्ध भिक्षुको सहभागितामा विभिन्न बौद्ध धार्मिक विधि तथा पूजासहित यार्ने पूजा कार्यक्रम सम्पन्न भएको हो।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६, सल्लेरी स्थायी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै आएका पर्यटनविद् तथा समाजसेवी चेङ्गा शेर्पाको आयोजनामा उक्त पूजा भएको हो। कार्यक्रममा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न पूजा, प्रार्थना तथा धार्मिक अनुष्ठान गरिएको आयोजकले जनाएको छ।
बौद्ध परम्परामा ‘यार्ने’लाई वर्षावासका रूपमा लिइन्छ। वर्षायामको निश्चित अवधिमा भिक्षु–भिक्षुणी एकै स्थानमा बसेर ध्यान, धर्मअध्ययन, पूजा, पाठ तथा आध्यात्मिक साधनामा केन्द्रित हुने परम्परालाई यार्ने भनिन्छ। बौद्ध धर्ममा यो अवधिलाई आत्मअनुशासन, साधना र धार्मिक अभ्यासका दृष्टिले महत्वपूर्ण मानिन्छ।
समाजसेवी शेर्पाले विगत सात वर्षदेखि यही प्रकृतिका धार्मिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गर्दै आएको बताए । उनका अनुसार यस्ता कार्यक्रमले बौद्ध धर्म, संस्कार तथा आध्यात्मिक अभ्यासको संरक्षणसँगै समाजमा शान्ति, सद्भाव र करुणाको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
यसै अवसरमा जलवायु मैत्री हिमालय संगठनको संयोजकत्वमा गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको चिरशान्तिको कामनासहित विशेष शान्ति पूजासमेत गरिएको थियो। बाढी तथा विपद्मा परी दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै उनीहरूको नाममा धार्मिक विधिअनुसार पूजा तथा प्रार्थना गरिएको आयोजकले जनाएको छ।
जलवायु मैत्री हिमालय संगठनको आयोजनामा भएको शान्ति पूजामा संगठनका अध्यक्ष तथा विश्व पर्यटनविद् आङ छिरिङ शेर्पाको समेत उपस्थिति रहेको थियो।
हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनसँगै बाढी, पहिरो, हिमताल विस्फोटलगायतका प्राकृतिक विपद्को जोखिम बढ्दै गएको अवस्थामा दिवंगतहरूको सम्झनामा गरिएको शान्ति पूजाले मानवीय संवेदना र प्रकृतिप्रतिको उत्तरदायित्वलाई समेत जोडेको आयोजकले जनाएको छ ।
बौद्ध परम्परामा विभिन्न धार्मिक अनुष्ठान तथा पूजालाई व्यक्तिगत शान्ति र कल्याणसँगै सम्पूर्ण प्राणीको सुख, शान्ति र कल्याणको कामनासँग जोडेर हेर्ने गरिन्छ। नेपालमा पनि विभिन्न बौद्ध समुदाय तथा गुम्बाहरूमा यस्ता धार्मिक साधना र पूजा नियमित रूपमा आयोजना हुँदै आएका छन्।
शेर्पा हिल्समा सम्पन्न यार्ने पूजामा ठूलो संख्यामा भिक्षु तथा बौद्ध धर्मावलम्बीको सहभागिताले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वसमेत बढाएको आयोजकले जनाएको छ।
















