काठमाडौँ, असोज ९ । ‘लेडी र्यापर’का रूपमा परिचित मञ्जली तामाङले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ र्याप गीत ‘दनदनी’ सार्वजनिक गरेकी छन्। गीत सार्वजनिकसँगै उनले आफ्नो जन्मदिन सामाजिक सेवामार्फत समेत मनाएकी छन् । ‘दनदनी’ ¥यापमा बुलेट फ्लो ‘थापाकाजी’को लेखन तथा कम्पोजिसन रहेको छ भने मञ्जली तामाङले प्रस्तुति दिएकी छन् ।
गीतमार्फत ट्रेन्डिङ र भाइरल हुने दौडमा मात्र नलागी आफ्नै मिसन र भिजनअनुसार अघि बढ्नुपर्ने सन्देश प्रस्तुत गरिएको छ । गीतको भिडियोमा विनोद राईको सिनेमेटोग्राफी, सुवास भट्टको कोरियोग्राफी र लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ। ‘दनदनी’ मञ्जली तामाङ ‘लेडी र्यापर’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक गर्नुका साथै मञ्जलीले जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै चन्द्रागिरि–१४, नैकाप, काठमाडौँस्थित सुजनशील अपांग पुनस्र्थापना केन्द्र तथा विशेष शिक्षा विद्यालयमा पुगेर त्यहाँ रहेका व्यक्तिहरूलाई खाना खुवाएकी छन् । मञ्जलीले यसअघि ‘गरिबलाई कानुन’, ‘लिट मेन्दो माया’, ‘चेन्ज माइ नेशन’, ‘भ्रष्टलाई फाँसी’ र ‘कथा’ लगायतका र्याप गीत सार्वजनिक गरिसकेकी छन् ।
सामाजिक तथा समसामयिक विषयलाई आफ्ना ¥यापमार्फत उठाउँदै आएकी उनका गीतलाई दर्शकले रुचाउँदै आएका छन् । नयाँ गीत ‘दनदनी’मार्फत आफ्नै बाटो, सोच र लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने सन्देश दिन खोजिएको मञ्जलीको भनाइ छ ।
भिडियो लिंक
















