सोलुखुम्बु – नेपाली कांग्रेसले बुधबार सोलुदुधकुण्ड नगरपालिका ३ बोल्दोमा मतदातालाई पैसा बाँडेको आरोपको खण्डन गरेको छ ।
नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापति कर्मा शेर्पाद्वारा जारी प्रेस विज्ञप्तीमा कांग्रेस उम्मेदवारको बदनाम गर्ने नियतका साथ एमालेका आफ्नै संगठित सदस्य राम्री माया तामाङलाई प्रयोग गरि आफ्नै खल्तिको पैसा देखाएर पैसा बाँडेको भ्रम सृजना गरेकाको दाबी गरेको छ ।
विज्ञप्तीमा एमालेले पराजित मानसिकताका साथ झुटो कुरालाई सामाजिक सञ्जालको समेत प्रयोग गरि प्रचार–प्रसार गरेको र यस्ता कपोकल्पित र भ्रमपुर्ण कुराको पछि नलाग्न र विचल्लित नहुन समेत आम मतदाताहरुलाई आग्रह गरिएको छ ।
‘एमालेका कार्यकर्ताहरुले हाम्रा पार्टीका उम्मेद्वारहरुको चरित्र हत्या गर्ने मनसायका साथ नियोजित रुपमा घटना घटाइएकाले आगामी दिनमा यस्ता निकृष्ट हर्कत नगर्न चेतावनी दिदै यस्ता स्तरहिन नाटकको नेपाली कांग्रेस घोर भत्सना गर्दछ ।’विज्ञप्तीमा भनिएको छ ।
एमाले कार्यकर्ताले कांग्रेस उम्मेदवारले मतदाता प्रभावित पार्न पैसा बाँडेको भन्दै नाराबाजी गरेका थिए । बोल्दोमै नाराबाजी गरेका उनीहरुले प्रहरीलाई पक्राउका लागि माग राखेका थिए । समाचारमा आएजस्तो आरोपित उम्मेदवार र वडाअध्यक्षलाई पक्राउ नगरिएको र घटना हिंसात्मक नबनोस् भन्नका लागि सहजीकरण मात्रै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
स्रोतका अनुसार एमाले पार्टीको तर्फबाट विहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मौन अवधि उलङंघन गर्दै मतदाता प्रभावित पार्न खोजेको भन्दै आवश्यक प्रक्रिया अघि बढाउने गरिएको छ ।
