सोलुखुम्बु, जेठ ६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले पत्रकारहरूको उल्लेख्य सहभागिताबीच आफ्नो साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ । बुधबार सदरमुकाम सल्लेरीस्थित हिमालयन याक होटलको सभाहलमा आयोजित साधारणसभा जिल्ला अध्यक्ष सुवास दर्नालको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य कमल रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष भरत बहादुर खड्का, महासचिव हिमा चेमजोङ, प्रदेश सदस्यहरू लाक्पाजी शेर्पा र कुसुम घिमिरे, नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका अध्यक्ष पूर्णप्रसाद न्यौपाने लगायत जिल्ला, छिमेकी जिल्ला, प्रदेश र केन्द्रका सयौँ पत्रकार, सञ्चारकर्मी तथा पूर्व पत्रकारहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि कमल रिमालले पत्रकारहरूले आचारसंहिताको पालनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
पत्रकार समाजको ‘वाचडग’ भएकाले हरेक विषयमा जिम्मेवार र संवेदनशील भएर प्रस्तुत हुनुपर्ने उनले बताए । त्यस्तै, कोशी प्रदेश अध्यक्षभरत बहादुर खड्का ले सरकारले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने नीति अवलम्बन गरेको आरोप लगाए। उनले सरकारी विज्ञापन कटौती गर्ने कार्य निजी मिडियालाई धरासायी बनाउने नियतसहित गरिएको भन्दै यसको विरुद्ध पत्रकार महासंघले सशक्त रूपमा आवाज उठाउने बताए ।
साथै, उनले निजी सञ्चारमाध्यमको संरक्षणका लागि आ–आफ्नो तहबाट सक्रिय भूमिका खेल्न पत्रकारहरूलाई आग्रह गरे । साधारणसभामा महासंघकी जिल्ला सचिव अन्जु कार्कीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष अमृत थुलुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सुवास दर्नालले पत्रकारहरूको हकहित संरक्षण, पेशागत सुरक्षा तथा क्षमता अभिवृद्धिलाई महासंघले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले जिल्लाका पत्रकारहरूको सीप विकास, तालिम तथा पेशागत सुदृढीकरणका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने उल्लेख गरे । अध्यक्ष दर्नालले महासंघको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने दीर्घकालीन योजना भए पनि हालसम्म जग्गा व्यवस्थापन हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए । उनले आवश्यक जग्गा व्यवस्थापन गरी महासंघको छुट्टै प्रशासनिक भवन निर्माण अभियानलाई अगाडि बढाइने स्पष्ट पारे ।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको पेशागत सुरक्षा तथा संस्थागत विकासमा महासंघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । पत्रकारहरूको बाक्लो उपस्थिति, संस्थागत एकता र उत्साहपूर्ण सहभागिताका बीच सम्पन्न साधारणसभाले सोलुखुम्बुमा पत्रकारिताको पेशागत एकता थप मजबुत बनेको सहभागीहरूले बताएका छन्

















