काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरुले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो ।
आयोगको निर्देशन अनुसार दलहरुले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पाउने छैनन् ।
यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।
यसैगरी सभा वा भेला र भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग नगर्न पनि आयोगले भनेको छ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको निम्ति दर्ता भएका राजनीतिक दलहरुले आयोगमा उपस्थित भई आचारसंहिता कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गरेका आयोगले जनाएको छ ।