सोलुखुम्बु, माघ २२ । सोलुखुम्बुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ तथा वैकल्पिक राजनीतिक दलहरूसँगै पुराना स्थापित दलहरू पनि चुनावी मैदानमा छन् । लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपाली कांग्रेसले यसपटक सोलुखुम्बुमा प्रकाशसिंह कार्कीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको छ । राजनीतिज्ञभन्दा बढी सफल व्यवसायी र समाजसेवी छवि बनाएका कार्की यसअघि २०७४ सालको प्रदेशसभा निर्वाचनमा सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार उत्तमकुमार बस्नेतसँग पराजित भएका थिए ।
हारको त्यो अनुभवपछि कार्की फेरि संघीय राजनीतिमा फर्किएका छन् यसपटक प्रतिनिधिसभाको महत्वाकांक्षी यात्रासहित । यस निर्वाचनमा नेपाली कांग्रेस सोलुखुम्बुले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बलबहादुर केसी, केन्द्रीय सदस्य आङ गेलु शेर्पा र पूर्वजिल्ला सभापति विनोदबाबु बस्नेत, महाधिवेशन प्रतिनिधि प्रकाश सिंह कार्कीलगायतका नेताहरू प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस भएका थिए । तर मनोनयनको केही हप्ता अघि नै पूर्वमन्त्री केसीले प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेपछि पार्टीभित्र आङ गेलु शेर्पा र प्रकाशसिंह कार्कीबीच टिकट प्राप्त गर्ने होड चर्किएको थियो ।
पार्टीमा लामो योगदान, वरिष्ठता र वैचारिक भूमिकाका आधारमा आङ गेलु शेर्पाले टिकट पाउनुपर्ने माग कांग्रेसभित्रैबाट उठे पनि अन्ततः पार्टी नेतृत्वलाई ‘रिजाउन’ सफल भएका कार्कीले टिकट हात पार्न सफल भए । यही निर्णयपछि पार्टीभित्र असन्तुष्टि सतहमा आयो । योगदानका आधारमा योग्य नेता पाखा लगाइएको भन्दै सामाजिक सञ्जालदेखि आन्तरिक छलफलसम्म विरोधका स्वरहरू गुञ्जिए । कतिपयले भने यो निर्णयलाई पुस्तान्तरण र ‘जेन–जी’ राजनीतिक सोचसँग जोड्दै समर्थन गरे ।
नयाँ पुस्तालाई अवसर दिनु जरुरी रहेको तर्क गर्दै कार्कीको उम्मेदवारीलाई समयसापेक्ष निर्णयका रूपमा पनि हेरिएको छ । तर पार्टीभित्रको यो आन्तरिक मतभेद निर्वाचनको मुखमा कांग्रेसका लागि चुनौतीका रूपमा देखिन थालेको छ । सोलुखुम्बुमा आगामी निर्वाचनका लागि कुल मतदाता संख्या ८५ हजार ५१५ रहेको छ । जसमा ४४ हजार ४८३ पुरुष र ४१ हजार ०३२ महिला मतदाता छन् । पालिकागत नेतृत्व हेर्ने हो भने जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटामा नेपाली कांग्रेसको नेतृत्व छ ।
सबैभन्दा धेरै मतदाता रहेका सोलुदुधकुण्ड नगरपालिका (२०,७६०), नेचासल्यान गाउँपालिका (१०,९३५), सोताङ गाउँपालिका (७,२९५), महाकुलुङ गाउँपालिका (८,१८९) र लिखुपिके गाउँपालिका (५,२६२) मा कांग्रेसकै नेतृत्व छ । यही आधारमा कांग्रेसलाई जिल्लामा बलियो शक्ति मान्ने गरिन्छ । तर विश्लेषकहरू स्थानीय तहको नेतृत्वलाई मात्रै संघीय निर्वाचनको नतिजासँग जोडेर हेर्न नमिल्ने बताउँछन् ।
राजनीतिक विश्लेषक लोकराज बरालका अनुसार संघीय निर्वाचनमा उम्मेदवारको व्यक्तिगत छवि, कार्यकुशलता, जनप्रियता, दृष्टिकोण (भिजन), भूगोल र समुदायगत सन्तुलन निर्णायक हुन्छन् । सोलुखुम्बुमा दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यद्यपि यसपटक नेपाली कांग्रेसले एक प्रत्यक्ष र दुई समानुपातिकतर्फ गरी तीनै जना प्रदेशसभा ‘क’ क्षेत्रकै उम्मेदवार अघि सारेको विषयलाई लिएर पार्टीभित्रै असन्तोष चुलिँदै गएको छ । धेरै मतदाता रहेको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ लाई उपेक्षा गरिएको भन्दै कांग्रेस नेताहरूले सामाजिक सञ्जालमै खुलेर असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
यसरी हेर्दा, प्रकाशसिंह कार्कीको उम्मेदवारी केवल एक चुनावी प्रतिस्पर्धा मात्र होइन यो कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र, पुस्तान्तरणको अभ्यास र संगठनात्मक एकताको कडा परीक्षा पनि हो । कार्की स्वयं भने निर्वाचन जित्ने दाबी गरिरहेका छन। तर असन्तुष्ट कार्यकर्ता, उपेक्षित क्षेत्र र पार्टीभित्रकै चर्को बहसलाई व्यवस्थापन गर्न सक्ने वा नसक्ने भन्ने कुराले नै उनको राजनीतिक भविष्यको दिशा तय गर्ने देखिन्छ ।
















