सोलुखुम्बु, जेठ २३ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा आगामी बिहिबार पहाडी भेगकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
सबै सुचाङ्कहरु पुरा भएसँगै यही जेठ २९ गते गार्मा जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको हो । वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको ऐतिहासिक कार्यक्रमको तयारी तिब्र पारिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।
उनका अनुसार ‘बालबालिकामा लगानी सबैको सरोकार! बालमैत्री शासन विकास र समृद्धिको आधार’ भन्ने नारासहित आगामी बिहीबार बिहान १० बजे गार्मा माविको प्राङ्गणमा कार्यक्रम आयोजना हुनेछ ।
यस अवसरमा बालबालिका अनुकूल नीति, संरचना र सेवा प्रवाह गर्न वडास्तरबाट प्रतिबद्धता जनाइनेछ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला र बिशिष्ट अतिथिका रूपमा सोलुदधुकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा कार्यक्रम सभापति वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा रहने वडा सदस्य भलाकाजी कार्कीले बताए ।
वडा नम्बर ७ ले बालबालिकाको समग्र विकास, सुरक्षा, शिक्षा, स्वास्थ्य र सशक्तीकरणमा ध्यान दिँदै आएको छ । वडाध्यक्ष शेर्पाका अनुसार, “यो घोषणा केवल एउटा औपचारिकता नभई बालबालिकाका हक, अधिकार र अवसर सुनिश्चित गर्न वडाले लिएको ऐतिहासिक प्रतिबद्धता हो ।”
यो कार्यक्रमले सम्पूर्ण सोलुखुम्बु जिल्लामै सकारात्मक सन्देश दिने विश्वास गरिएको छ । स्थानीय तहको नेतृत्व र जनप्रतिनिधिहरूले बालबालिकाप्रति देखाएको जिम्मेवारीको यो उदाहरणले अन्य वडाहरूलाई समेत प्रेरणा दिने विश्वास लिइएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–७ वडा कार्यालयको आयोजनामा हुन लागेको यो कार्यक्रमले शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र समावेशितामार्फत बालमैत्री शासनको अवधारणा व्यवहारमा उतार्ने लक्ष्य लिएको छ