जेठ ६, सोलुखुम्बु । सगरमाथामा क्षेत्रमा पर्यटकलाई आवश्यक पर्ने ३० लाख बढीको विभिन्न सामाग्री हराएको छ । शेर्पा अल्टिच्यूट एड्भेन्चर एन्ड एक्स्पिडिसन प्रालिले सगरमाथाको दोश्रो शिविरमा भण्डारण गरिराखेको अन्दाजी ३०/३२ लाख मुल्य बराबरको सामाग्री गत बैशाखमा हराएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा उक्त सामाग्री खोजीका लागि उजुरी परेको छ । कम्पनीका प्रतिनिधि पासाङ दावा शेर्पाले प्रशासनमा दिएको उक्त उजुरीमा पर्यटकलाई अतिआवश्यक उपकरण तथा सरसामानहरु क्याम्प २ मा भण्डारण गरिरहेकोमा गत बैशाखमा सो स्थानबाट हराएको उल्लेख छ ।
हराएका सामाग्रीहरुमा कुकर, हड्केस, थर्मस, इपी स्टोप, टेन्ट, सोलर व्याट्रि लगायत ४२ प्रकारका सामाग्रीहरु रहेको कम्पनीले जनाएको छ । पर्यटकिय क्षेत्रमा भण्डारण गरेको सामाग्री चोरी हुनुले पर्यटन क्षेत्रमै नकरात्मक सन्देश प्रवाह हुने पर्यटन व्यवसायी कर्मा शेर्पाले बताए ।
भण्डारण गरेकै स्थानबाट सामाग्री हराउनु दुखद भएको भन्दै अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने पर्यटन व्यवसायी शेर्पाले माग गरे ।
यता प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले घटनाको अनुसन्धान गर्न प्रहरी परिचालन गरिसकेको बताएका छन् । पर्यटकिय क्षेत्रमा सामाग्री हराउनु दुखद भएको भन्दै प्रजिअ भट्टराईले घटनाको अनुसन्धन गरि सामाग्री पत्ता लगाउन कुनै कसर बाँकी नराख्ने बताए ।

