सोलुखुम्बु । नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते सल्लेरी बजार सुनसान बनेको छ । सल्लेरी बजार क्षेत्रका स्थानीय, पेशा व्यवसाय गर्ने तथा कर्मचारीहरु नयाँ वर्ष मनाउन अन्यत्र गएसँगै सल्लेरी बजार सुनसान बनेको हो ।
![नयाँ वर्षमा सल्लेरी सुनसान, डाँडाकाँडा भरिभराउ 1 IMG 20230414 WA0012](https://www.satyapress.com/wp-content/uploads/2023/04/IMG-20230414-WA0012-1024x460.jpg)
आज शुक्रबार सल्लेरी तथा फाप्लु क्षेत्रका होटल पसलदेखि अधिकांश घरको ढोकामा ताला लागेको छ भने नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले सबै कार्यालयहरु पनि बन्द छन् । जसका कारण सधै जसो नागरिकको चहल पहल हुने सदरमुकाम क्षेत्र आज सुनसान छ ।
![नयाँ वर्षमा सल्लेरी सुनसान, डाँडाकाँडा भरिभराउ 2 IMG 20230414 WA0008](https://www.satyapress.com/wp-content/uploads/2023/04/IMG-20230414-WA0008-1024x460.jpg)
सल्लेरी, फाप्लु, नयाँ बजार क्षेत्र पुरै सुनसान छ भने जिल्लाको पर्यटकिय स्थलहरु पत्ताले, पिकेडाँडा, थुक्तेन्छोलिङ, रातनागी, च्याल्सा, लोदिङ मन्दिर, बेनी, गार्मा लगायतका क्षेत्रहरु पर्यटकले भरिभराउ बनेका छन् । आजको दिन परिवार, आफन्तजन तथा साथीभाईहरु एक आपसमा भेटघाट गरी रमाईलो गर्ने तथा मनोरञ्जनमा समय विताउने भएकाले जिल्लाको पर्यटकिय स्थलहरु भरिभराउ बनेका हुन् ।
![नयाँ वर्षमा सल्लेरी सुनसान, डाँडाकाँडा भरिभराउ 3 1212](https://www.satyapress.com/wp-content/uploads/2023/04/1212-1024x462.jpg)
साथै कतिपय व्यक्तिहरु वनभोज तथा सहभोजका लागि गाडी नै रिजर्भ गरेर भ्रमणमा निस्किएका छन् । आपसी सद्भाव तथा भाईचराका लागि पनि आफुहरु वनभोजमा आएको वित्तीय कर्मचारी मञ्ज सोलुखुम्बु अध्यक्ष खगेन्द्र बनले बताए । यता पत्ताले डाँडामा आज हजारौको संख्यामा पर्यटकहरु अवलोकनका लागि पुगेका छन् भने विहानैदेखि मौसम अनुकुल हुँदा त्यहाँ पुगेका पर्यटकहरु फोटो खिच्नमा तथा दृष्य अवलोकनमा व्यस्त बनेको पत्तालेबाट सन्दिप नेपालीले जानकारी दिए ।
![नयाँ वर्षमा सल्लेरी सुनसान, डाँडाकाँडा भरिभराउ 4 IMG 20230414 WA0001 1](https://www.satyapress.com/wp-content/uploads/2023/04/IMG-20230414-WA0001-1-1024x461.jpg)
नयाँ बर्षको अवसरमा जिल्लाको विभिन्न स्थानको तिर्थस्थलहरुमा मेला समेत लागेकाले त्यहाँ पुग्ने भक्तजनहरुको संख्या समेत उच्च रहेको सर्वसाधरणले बताएका छन् । पत्ताले क्षेत्रको गौरी टाप धार्मिक स्थलमा लागेको मेलामा सयौँको संख्यामा अवलोकनकर्ताहरु पुगेको धार्मिक स्थलका संरक्षक लौरेश्वर बाबाले बताए ।
![नयाँ वर्षमा सल्लेरी सुनसान, डाँडाकाँडा भरिभराउ 5 IMG 20230414 WA0005 1](https://www.satyapress.com/wp-content/uploads/2023/04/IMG-20230414-WA0005-1-1024x460.jpg)
यस्तै सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङमा ज्वालामाई मन्दिरमा पनि यस वर्ष नयाँ वर्षको अवसरमा मेला लागेको छ । नयाँ वर्षको अघिल्लो दिनबाट सुरु भएको मेलामा सोलुखुम्बुको विभिन्न स्थानसहित छिमेकी जिल्लाहरुबाट समेत अवलोकनकर्ता तथा भक्तजनहरु पुगेको मेला प्रचारप्रसार समितिका संयोजक सन्त बहादुर मगर (र्याविट)ले जानकारी दिए । तस्विर–दिपेन्द्र खनाल/होमनाथ खत्री/सन्दिप नेपाली