सोलुखुम्बु । सोलुदुधुकुण्ड नगरपालिका ५ सल्लेरीका अग्नि पीडित बुद्धराज तामाङलाई नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा क्षेत्र ‘ख’ का सभापति कर्मा शेर्पाले आर्थिक सहयोग गरेका छन् ।
अग्नि पीडित परिवार तामाङको परिवारलाई घटनास्थलमै भेटन पुगेका कांग्रेस नेता शेर्पाले नगद ३ लाख रुपैयाँ सहयोग गरेका हुन् । साथै उनले पीडित तामाङका छोरालाई छात्रबृद्धि प्रदान गर्ने समेत बचन दिएका छन् ।
गत माघ २९ गते दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा तामाङको घरसहित सबै धनमाल जलेर नष्ट हुँदा २७ लाख बराबरको क्षति भएको थियो । सो घटनामा बच्चाको विद्यालय पोषाकसहित शुल्क तिर्न जम्मा गरेको रकम समेत जलेर नष्ट भएको पीडितले बताएका छन् ।
जसका लागि आफ्नो सानो सहयोगले पीडितको घाउमा मलम पट्टि लाग्न सहयोग पुग्ने शेर्पाको विश्वास छ । विपत्तिमा परेका परिवारलाई सबैले राजनितिक आस्था, जात, धर्म, सम्प्रादय नभनी खुला मनले सकेको सहयोग गर्न समेत नेता शेर्पाले अपिल गरे ।
कार्यक्रममा नेविसंघका जिल्ला सचिव मोहनकृष्ण निरौलाले यस्ता विपत्तीको घटना आउन नदिन सबैले सबैले पाठ सिकेर अघि बढ्नुपर्ने बताए । अहिले हावाहुरीको समय भएकाले आगो र आगोजन्य श्रोतको विशेष ख्याल गर्न उनले आग्रह गरेका छन् ।