सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । आठ स्थानीय तह रहेको जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने नेचासल्यान पहिलो बनेको हो ।
अन्य कुनै पनि पालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गरेका छैनन् । गाउँपालिकाले चालु आर्थिक वर्षको कुल बजेट ४६ करोड ६ लाख ८७ हजार ३० रुपियाँ मध्ये आठ करोड १२ लाख ५६ हजार ९४४ रुपियाँ बजेट खर्च भएको छ । जुन प्रतिशतको हिसाबले हेर्दा १७.६३ प्रतिशत बजेट खर्च भएको छ ।
![सुशासनमा अघि बढ्दै नेचासल्यान 1 sarbajanik sunuwai solu santosh](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/12/sarbajanik-sunuwai_solu_santosh-1024x768.jpg)
जसमा पहिलो चौमासिकमा चालुतर्फ छ करोड ६९ लाख ८ रुपियाँ बजेट खर्च गरेको छ । चालुतर्फ गाउँपालिकालाई २९ करोड २० लाख ७५ हजार ५ सय रुपियाँ बजेट प्राप्त भएकोमा २२.९२ प्रतिशत बजेट खर्च भएको विवरण प्रमुख प्रशासकीय अधिकृत लबुन राईले प्रस्तुत गर्नुभयो । त्यस्तै, पुँजीगततर्फ प्राप्त बजेट १६ करोड ८६ लाख ११ हजार ५३० बजेट मध्ये एक करोड ८६ लाख ९६ हजार अर्थात् ११.८ प्रतिशत कार्यान्वयन भएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।
त्यस्तै, गाउँपालिकाको वडा नम्बर १ मा ७.११ प्रतिशत, वडा नम्बर २ मा ५.७८ प्रतिशत, वडा नम्बर १०.१३ वडा नम्बर ४ ले १६.३९ प्रतिशत र वडा नम्बर ५ ले २.०६ प्रतिशत बजेट खर्च गरेको विवरण प्रस्तुत गरिएको छ । कार्यक्रममा गाउँपालिकाले प्रवाह गर्ने सेवाको गुणस्तर परीक्षण सर्वेक्षणको तथ्याङ्क समेत प्रस्तुत गरेको छ ।
![सुशासनमा अघि बढ्दै नेचासल्यान 2 sarbajanik sunuwai solu santosh1](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/12/sarbajanik-sunuwai_solu_santosh1-1024x768.jpg)
गाउँपालिकाको सबै क्षेत्रमा बाह्रै महिना सडक सञ्चालन हुने वातावरण सिर्जना गरेको, गाउँपालिकाका छ स्थानमा फ्रि वाइफाइको व्यवस्था गरिएको लगायतका प्रगति विवरण सार्वजनिक गरिएको छ । पालिकाको विषयगत शाखाहरू पशु र स्वास्थ्य शाखाले एक हजार २८६ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
गाउँपालिकाले आर्थिक विकासतर्फ ४.५ प्रतिशत, सामाजिक विकासतर्फ २२.०७ प्रतिशत, पूर्वाधार विकासतर्फ ११.९३ प्रतिशत, विपद् व्यवस्थापनतर्फ ४.३ प्रतिशत खर्च गरेको हो । गाउँपालिकाबाट विनियोजन भएको बजेट तथा कार्यक्रमबारे नागरिकले राखेका प्रश्न, गुनासो तथा जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष धनजन राई, पालिकाभित्रका वडाध्यक्ष र शाखा प्रमुखले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरू रमेशकुमार राई, सिताराम काफ्ले, सिताराम भट्टराई, इन्द्रबहादुर राई, राजनकुमार राई, शाखा अधिकृत युवराज पोखरेल, शिक्षा अधिकृत माधवमणि ढुङ्गाना, सूचना तथा प्रविधि अधिकृत हुतराज बास्तोला, पशु सेवा शाखा अधिकृत लेखनाथ बास्तोला, रोजगार संयोजक निशा शर्मा लगायतको उपस्थिति रहेको थियो ।