काठमाण्डौँ । तनहूँको घिरिङ गाउँपालिकालाई कार्यक्षेत्र बनाएर संचालनमा रहेको घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मुनाफा चौगुणाले बृद्धि गरेको छ ।
शुक्रबार घिरिङमा सम्पन्न तेस्रो बार्षिक साधारण सभामा कोषाध्यक्ष नवराज श्रेष्ठले सार्वजनिक गरेको आयव्यय प्रतिवेदनमा आर्थिक बर्ष २०७८–२०७९ मा ५ लाख ५६ हजार ४४१ रुपैयाँ मुनाफा आर्जन गरेको उल्लेख छ । सहकारीले अघिल्लो आर्थिक बर्षमा एक लाख ४१ हजार मुनाफा कमाएको थियो ।

सहकारीले गत बर्ष एक करोड ८२ लाख २५ हजार ९९४ रुपैयाँको कारोबार गरेको प्रबन्धक शितल कुमार श्रेष्ठले जानकारी दिए । २८१ जना शेयर सदस्य रहेको सहकारीको कुल पूजीँ ७१ लाख १७ हजार रहेको छ । सहकारीले बचत रकमबाट शेयर सदस्यलाई एक करोड ६४ लाख ८६ हजार ५३१ रुपैयाँ व्यवसायिक ऋण लगानी गर्दै आएको छ । रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको घिरिङ सहकारीले १६ प्रतिशत व्याजदरमा ऋण लगानी र खाताको प्रकृति अनुसार ५.५ देखि ११ प्रतिशतसम्म बचत व्याज प्रदान गर्दै आएको छ ।

सहकारीका अध्यक्ष मन बहादुर रानाको अध्यक्षता तथा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको आतिथ्यतामा सम्पन्न साधारण सभामा पालिका उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, नेकपा एमाले गण्डकी प्रदेश सदस्य विष्णुभक्त सिग्देलसहित शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

सभामा पालिका अध्यक्ष थापाले सहकारी संचालनले बैँकिङ कारोबार, रेमिट्यान्स सेवा, बचत र ऋण लगानीमा सजिलो बनाएको बताए । उनले भने, ‘गाउँघरमा बचत गर्ने बानीको विकास र व्यवसायिक विकासका लागि ऋण पाउने वातावरण बन्नु सुखद कुरा हो । सहकारीले संचालन गरेको रेमिट्यान्स सेवाले पनि घिरिङबासीलाई सजिलो बनाएको छ ।’