सोलुखुम्बुको थुलङ दूधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माण सम्पन्न भएको दूधकोशी सामुदायिक अस्पताल उद्घाटनको तयारी गरिएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिहरुबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माणको काम थालिएको थियो ।
विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शैयाको सुविधा सम्पन्न अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख रुपैयाँमा निर्माण गरेको हो । गाउँमै राजधानी सरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतारिनु नपर्ने थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले बताए ।

अस्पतालबाट प्रसुती लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने जनाइएको छ । मातृशिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश नंं. १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको अध्यक्ष राईको भनाई छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका राईले अस्पताल बन्दैन र बनेपनि व्यवस्थित सञ्चालन हुन सक्दैन भन्नेहरुलाई कामले जवाफ दिएको बताए ।
संविधान दिवस अर्थात असोज ३ गते एक विशेष कार्यक्रममार्फत गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय र पालिकाको प्रशासनिक भवनसमेत एकैदिन उद्घाटन गरिने कार्यक्रममा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा, प्रदेश नं १ सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङबो, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हेम कुमार राई ‘शुरवीर’को पनि उपस्थिति हुने जनाइएको छ ।