सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका १३ विद्यालयका १५ जना बालविकास शिक्षकलाई तालिम प्रदान गरिएको छ । पालिकाको समन्वयमा रीड नेपालको आयोजनामा जारी ५ दिने प्रारम्भिक बालविकास सम्बन्धी शिक्षक तालिम आज समापन गरिएको छ ।
उपाध्यक्ष राईले बाल विकास शिक्षकहरुको भूमिका अन्य शिक्षकको तुलनामा बढि हुने भएकाले तालिमबाट सिकेका सीपलाई साना नानीहरुको विकासमा सदुपयोग गर्न आग्रह गरे । बालविकास कक्षा भित्रको समस्या समाधानमा गाउँपालिका प्रतिबद्ध रहेको बताउदै उपाध्यक्ष राईले आवश्यकता पहिचान गरेर पालिकामा पेश गर्न आग्रह गरिन् ।

त्यस्तै सामाजिक विकास समिति सयोजक बुद्धिराज राईले शिक्षाको विकासमा रीड नेपालको भूमिका अहम रहेको बताउदै पालिका रीड नेपालसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । वीरेन्द्रज्योति माविका प्रध्यानाध्यापक दिलकुमार राईले रीड नेपालको प्रवेशसँगै विद्यालयमा शैक्षिक सुधार आएको बताउदै तालिम आवश्यकताको आधारमा आयोजना गरिएकोमा धन्यवाद दिए । जनता मावि लोखिमका शिक्षक पुष्प राईले तालिमबाट महत्वपुर्ण सिकाई भएको र सिकेको कुरालाई कक्षाकोठामा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रारम्भिक बालविकास नै विद्यालयको आधारशिला भएकोले विद्यालयको शिक्षा सुधार गर्न प्रारम्भिक बालविकासमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘तालिमको सार्थकता त्यतिबेला झल्कन्छ, जतिबेला अनुगमनमा आउँदा तालिममा सिकाइएका सीप कक्षाकोठामा प्रयोग भइरहेको होस् ।’

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष सविता राईको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको समापनमा सामाजिक विकास समिति संयोजक बुद्धिराज राई, शिक्षा शाखा प्रतिनिधि रचना पौडेल, वीरेन्द्रोदय माविका प्रध्यानाध्यापक दिलकुमार राई, स्थानीय स्रोत शिक्षक धनरुपा राईको उपस्थिति रहेको थियो ।
तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, आधारभूत तथा विषयगत सिप, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगायतका विषयमा तालिम संचालन गरिएको थियो ।
सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी, सहायक शिक्षा अधिकृत निमा शेर्पा, स्थानीय स्रोत शिक्षक धनरुपा राईले गरेका थिए ।