सोलुखुम्बुमा जिल्लामा असोज २४ र २५ गते मोतिबिन्दुको शल्यक्रिया गरिने भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा जिल्ला समुदायिक आँखा केन्द्र फाप्लुमा दुई दिने मोतिबिन्दुको शिविर सञ्चालन हुने भएको हो ।
मोतिबिन्दु छनौटका लागि भदौ १८ गते देखि छनौट शिविर सञ्चालन हुने सामुदायिक आँखा केन्द्रले जनाएको छ । भदौ १८ गते काँकु स्वास्थ्य चौकी कोफुमा, २० गते जुभिङ स्वास्थ्य चौकी, २२ गते वाकु स्वास्थ्य चौकी, २४ गते काँगेल स्वास्थ्य चौकी, २६ गते लोखिम स्वास्थ्य चौकी, २८ गते सोताङ प्राथमिक अस्पताल, ३० गते बुङ प्राथमिक अस्पताल, असोज २ गते नेचाबेतघारी स्वास्थ्य चौकी, असोज ४ गते तिङला स्वास्थ्य चौकी, ६ गते टाप्टिङ स्वास्थ्य चौकी, २३ र २४ गते सामुदायिक आँखा केन्द्रमा छनोट शिविर राखिएको छ ।
नेपाल आँखा कार्यक्रमले सोलुखुम्बु जिल्लामा बार्षिक रुपमा मोतिबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र स्थापनाको २० वर्षको अवधिमा १ हजार ७८२ जनाको निशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको छ । सोही अवधिमा ६६ हजार ८६७ जनाको आँखा उपचार गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलखुुम्बुले जनाएको छ ।
