सोलुखुम्बु – रीड नेपालले सोलुदुधकुण्ड नगरपालिकामा ३० पृष्ठको शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना तयार पारेको छ । मंगलबारबाट सल्लेरी सुरु भएको दुई दिने गोष्ठीले शैक्षिक क्षेत्रमा भईपरि आउने विपद्कोे व्यवस्थापन कार्ययोजना तयार पारेको हो ।
उक्त योजनामा प्रकोपको अवस्था र जोखिम विश्लेषण, प्रकोपको आधारमा विद्यालयको जोखिम विश्लेषण, प्रकोपका कारण विद्यालयमा हुन सक्ने क्षतिको पुर्वानुमान, विपद्ले सृजना गर्न सक्ने तत्कालिन सामाजिक सवालहरु, विपदको जोखिमलाई न्यूनिकरण गर्न कार्यन्वयन गर्नुपर्ने गतिविधिहरु, विपद् प्रतिकार्य कार्ययोजनाहरु, समन्वय र सञ्चार व्यवस्थापन, सहयोगी संस्थाहरुको विवरण लगायतका विषयहरु समेटिएको छ ।

विपद व्यवस्थापन कार्ययोजनालाई पुर्णता दिन नगर शिक्षा शाखा प्रमुख गोपालराज भूजेलको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरुमा केशव देव गिरी, तिलक बहादुर राई, रिता ढुंगाना र ल्हाक्पा गेलु शेर्पा रहेका छन् ।

तयार गरिएको कार्ययोजनालाई सफल कार्यन्वयन गराउन गोष्ठीले तयार गरेको माइनोट रीड नेपालले नगरपालिकालाई हस्तान्तरण गरेको छ । समापन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङले नगर क्षेत्रमा शिक्षाको गुणस्तर बृद्धिका लागि रीड नेपालले खेलेको भूमिकालाई प्रसंशाा गर्दै गोष्ठीले तयार पारेको कार्ययोजना कार्यन्वयनमा नगरपालिका तयार रहेको बताइन् ।

प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम अधिकारीले स्थानीय तहकोे गर्ने हरेक विकासमा गैरसरकारी संस्थाको भुमिका अतुलनिय हुने बताउदै विपद् पुर्वतयारी कार्ययोजनाले विपद्बाट हुन सक्ने क्षतिलाई कम गराउनमा ठुलो मद्धत मिल्ने विश्वास व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले विपद्का कारण शैक्षिक क्षेत्रमा पर्न सक्ने असरलाई कम गराउन गोष्ठी उपलब्धीमुलक बनेको बताए ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम अधिकारी, शिक्षा शाखा प्रमुख गोपालराज भूजेल, वडाअध्यक्षहरु, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खगेन्द्र श्रेष्ठ, ५ वटा माविका प्रध्यानाध्यापक, महिला तथा बालबालिका शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
गोष्ठीको सहजिकरण रीड नेपालका विपत जोखिम न्यूनिकरण टिम लिडर रामनाथ ओझा, विपत जोखिम न्यूनिकरणका प्रशिक्षक उत्सब बोगटी र शिक्षा विकास संयोजक केशवदेव गिरीले गरेका थिए । रीडले सोही प्रकृतिको कार्यक्रम जिल्लाको आठ वटै स्थानीय तहमा गर्ने जनाएको छ ।