भोटेकोशी बाढीले थिलथिलो पारेका बालमनमा भरोसा जगाउँदै सोनाम डोका

spot_img

काठमाण्डौँ, भदौ २९ । बाढीले घर, विद्यालय, आफन्त र सुरक्षित भविष्यको भरोसा एकैपटक खोसिदिएका बालबालिकाका लागि अहिले राहतको अर्थ केवल खाना र कपडा उपलब्ध गराउनु मात्र होइन, डराएको मनलाई फेरि सुरक्षित महसुस गराउनु पनि हो । यही आवश्यकता महसुस गरेर सामाजिक संस्था द स्मल वल्ड(टिएसडब्यु)ले रसुवाका बाढी प्रभावित बालबालिकालाई लक्षित गर्दै मनोसामाजिक सहयोग र पोषण कार्यक्रम अघि बढाएको छ ।

Advertisement

द स्मल वल्डकी निर्देशक सोनाम डोका शेर्पाको पहलमा काठमाण्डौँको एलो गुम्बास्थित होल्डिङ सेन्टरमा रहेका करिब ६० जना बालबालिकालाई लक्षित गरी ट्रमा एसिस्मेन्ट तथा मनोसामाजिक सहयोगका गतिविधि सञ्चालन भइरहेका छन् ।

Advertisement

बाढीका क्रममा बालबालिकाले सामान्य अवस्थाभन्दा बिल्कुल फरक र भयावह परिस्थिति देख्नुपरेको थियो । कतिपयले बाढीको वेग, घर तथा संरचना बगाएको दृश्य र आफन्त तथा परिचित व्यक्तिसँग सम्बन्धित पीडादायी घटना प्रत्यक्ष देखेका छन् । यस्तो अनुभवले तत्काल शारीरिक क्षति नदेखिए पनि बालबालिकाको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने भएकाले संस्थाले राहतको कामसँगै उनीहरूको मानसिक अवस्थालाई प्राथमिकतामा राखेको हो ।

Advertisement

‘बालबालिकालाई सुरक्षित छौँ भन्ने अनुभूति गराउनु र आशा जगाउनु नै अहिलेको पहिलो आवश्यकता हो’ भन्ने अवधारणासहित संस्थाले बालबालिकामा ‘सेन्स अफ सेफ्टी’ अर्थात् सुरक्षित भएको अनुभूति र ‘नर्मल फिलिङ’ अर्थात् सामान्य अवस्थामा फर्किएको महसुस गराउने गतिविधि सञ्चालन गरिरहेको जनाएको छ ।

कार्यक्रममा बालबालिकालाई आफ्ना अनुभव तथा भावना व्यक्त गर्न सहज वातावरण बनाउने, उनीहरूको व्यवहार र मानसिक अवस्थाको प्रारम्भिक मूल्याङ्कन गर्ने तथा विपद्पछिको त्रास कम गर्न सहयोग गर्ने गतिविधि समेटिएका छन् । यसका लागि आधा दर्जनभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ भने ट्रमा एसिस्मेन्टसम्बन्धी कामका लागि आधा दर्जनभन्दा बढी व्यक्तिलाई तालिम दिइएको संस्थाले जनाएको छ ।

सोनामको प्राथमिकता भने राहत वितरणमा मात्र सीमित छैन । बालबालिकाले विपद्पछि सुरक्षित वातावरण पाऊन्, उनीहरूको दैनिक जीवन क्रमशः सामान्य बन्दै जाओस् र मानसिक आघात दीर्घकालीन समस्यामा परिणत नहोस् भन्ने उद्देश्यले संस्थाले मनोसामाजिक सहयोगलाई राहतको अभिन्न भाग बनाएको छ ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाको अर्को संवेदनशील पक्ष पोषण हो । विस्थापनको अवस्थामा नियमित घरायसी खानपानको व्यवस्था टुट्ने र बालबालिकाले आवश्यक पोषक तत्त्व नपाउने जोखिम हुन्छ । त्यसलाई ध्यानमा राख्दै टिएसडब्यूले बालबालिकाका लागि स्वस्थ तथा पोषिलो खानाको समेत व्यवस्था गरेको छ ।

यसरी टिएसडब्यूले ‘खाना, सुरक्षा र मानसिक स्वास्थ्य’लाई एकैसाथ जोडेर बालबालिकालाई सहयोग गरिरहेको छ । संस्थाका अनुसार कार्यक्रम अगस्टको अन्तिमतिरबाट सुरु गरिएको हो । रसुवा बाढीपछि बालबालिकाको अवस्था विशेष संवेदनशील बनेको छ । बाढी प्रभावित क्षेत्रका बालबालिकाले आफ्नै आँखा अगाडि घर, विद्यालय तथा अन्य संरचना बगेको देखेका कारण उनीहरूमा मानसिक आघातको जोखिम रहेको युनिसेफले समेत जनाएको छ ।

बाढीबाट प्रभावित बालबालिकामा रोग, कुपोषण, हिंसा र शोषणको जोखिम बढेको तथा उनीहरूलाई मनोसामाजिक परामर्श आवश्यक रहेको युनिसेफले जनाएको छ । यही संवेदनशील अवस्थाबीच सोनाम डोका शेर्पाले नेतृत्व गरिरहेको टिएसडब्यूको कार्यलाई तत्कालीन राहतभन्दा बालबालिकाको पुनःस्थापना र आत्मविश्वास पुर्ननिर्माणतर्फको प्रयासका रूपमा हेरिएको छ ।

द स्मल वल्ड नेपालमा स्थानीय समुदायमा आधारित शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था हो । संस्थाले विशेषगरी बालबालिका र जोखिममा रहेका बालिकाको शिक्षा, महिला सशक्तीकरण, स्वास्थ्य तथा समुदाय विकासलाई आफ्नो कामको केन्द्रमा राखेको जनाएको छ । सन् २००६ मा स्थापना भएको संस्थाले पछिल्ला वर्षहरूमा सयौँ बालिका तथा युवतीलाई शिक्षा र उच्च शिक्षामा सहयोग गरेको जनाएको छ ।

सोनाम डोका शेर्पाको नेतृत्वमा टिएसडब्यूले विपद्का बेला पनि समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने अभ्यासलाई निरन्तरता दिएको छ । संस्थाको आधिकारिक विवरणअनुसार शेर्पा शिक्षा, महिला सशक्तीकरण र समुदायमा आधारित कार्यक्रम सञ्चालनमा लामो समयदेखि सक्रिय छन् । होल्डिङ सेन्टरमा अहिले बालबालिकाका लागि गरिएको काम त्यसैको अर्को उदाहरण बनेको छ । विपद्मा सबैभन्दा पहिले शरीर बचाउने प्रयास हुन्छ, तर विपद्पछि बालमन बचाउने काम पनि उत्तिकै आवश्यक हुने् जानकारहरु बताउछन् ।
रसुवा बाढीपीडितलाई द स्मल वल्र्डको सहयोग
सामाजिक संस्था द स्मल वल्र्ड (टिएसडब्यू)ले रसुवामा बाढीबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा आवासका लागि आवश्यक सामग्री सहयोग गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोटको त्रिशूली, बेत्रावतीलगायतका क्षेत्रमा पुगेर संस्थाले प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो । सहयोगमा खाद्यान्न, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक कपडालगायतका सामग्री रहेका छन् ।

बाढीपछि घर तथा दैनिक जीवनका अत्यावश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गरी विदुर नगरपालिकासँगको समन्वयमा तीन सयभन्दा बढी परिवारलाई बासका लागि आवश्यक एक–एक सेट सामग्री उपलब्ध गराउने तयारीसमेत गरिएको संस्थाले जनाएको छ । विपद्का बेला राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावित परिवारसम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग समन्वय गरेर राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाका संस्थापक अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए । संस्थाले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी सोहीअनुसार सामग्री वितरणलाई प्राथमिकता दिएको जनाएको छ ।

उनका अनुसार टिएसडब्यूले उक्त राहतका लागि अमेरिकामा रहेका विभिन्न संस्था तथा व्यक्तिहरूबाट सहयोग संकलन गरेको हो । विदेशबाट प्राप्त सहयोगलाई नेपालमा परिचालन गर्न समाज कल्याण परिषद्को स्वीकृति लिएर तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरी राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै