सोलुखुम्बु, जेठ ६ । नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले जिल्लाका पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित तीन दिने एआइ पत्रकारिता तालिम सञ्चालन गरेको छ । महासंघ सोलुखुम्बुले आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्यमा सल्लेरीस्थित हिमालयन याक होटलको सभाहलमा जेठ ४ गतेदेखि ६ गतेसम्म तालिम सञ्चालन गरेको हो ।
तालिममा जिल्लाका २६ जना पत्रकार सहभागी भएका थिए । तालिममा एआइको प्रयोगमार्फत समाचार संकलन, सामग्री सम्पादन, तथ्य परीक्षण, डिजिटल सुरक्षा, कन्टेन्ट निर्माण तथा आधुनिक पत्रकारितामा प्रविधिको उपयोगबारे प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । कार्यक्रममा एआइ विज्ञ अजय शर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका अध्यक्ष सुवास दर्नालले पत्रकारिताको बदलिँदो अभ्याससँगै पत्रकारहरुलाई प्रविधिमैत्री बनाउन तालिम आयोजना गरिएको बताए । उनले ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारहरुलाई नयाँ प्रविधिसँग जोड्दै व्यावसायिक क्षमता अभिवृद्धि गर्नु महासंघको प्राथमिकता रहेको उल्लेख गरे ।
तालिम उपयोगी भएको भन्दै सहभागीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । सहभागी विष्णु खड्काले एआइ प्रविधिबारे व्यवहारिक ज्ञान प्राप्त भएको बताए । त्यस्तै अर्का सहभागी मनोज कुमार श्रेष्ठले डिजिटल युगमा पत्रकारितालाई प्रभावकारी बनाउन यस्ता तालिम आवश्यक रहेको धारणा राखे । महासंघले आगामी दिनमा पनि जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।























