सोलुखुम्बु । काठमाडौँका विभिन्न सहकारी फोडेर फरार रहेका एक व्यक्ति सोलुखुम्बुको सल्लेरीस्थित बैंक फोड्ने प्रयास गर्दागर्दै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शृङ्खलाबद्ध चोरीमा संलग्न थुलुङदुधकोशी गाउँपालिका–७ देउसाका ३८ वर्षीय धनकुमार राईलाई पक्राउ गरेको हो । गत मंगलबार राति करिब १ बजेतिर मुखमा मुकुण्डो लगाएर राई सल्लेरी बजारस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा प्रवेश गरेका थिए ।
बैंकको मुख्य ढोकाको चाबी फोडेर भित्र पसेका उनले दोस्रो तलामा रहेको च्यानल गेट रडको सहायताले तोडफोड गर्न थाले । सोही क्रममा घरमा बस्ने अन्य व्यक्तिले थाहा पाएर होहल्ला गरेपछि उनी फलामको रड त्यहीँ छोडेर भागेका थिए । बैंकको सीसीटीभी फुटेजका आधारमा खोजी गर्दा प्रहरीले उनलाई सोही दिन दिउँसो नेले बजारबाट घटनामा प्रयोग भएका सामग्रीसहित पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा राईले सोलुखुम्बुकै देउसामा पनि ठुलो चोरी गरेको खुलेको छ। गत कात्तिक १० गते उनले स्थानीय फ्रेमराज खत्रीको किराना पसल फोडेर ७ लाख नगद र हजारौँको रिचार्ज कार्ड चोरी गरेका थिए । प्रहरीले उनको घर खानतलासी गर्दा चोरी भएका एनसेलका रिचार्ज कार्डहरू फेला पारेको छ, जसले उनको संलग्नता पुष्टि गरेको छ ।
पक्राउ परेका राई यसअघि काठमाडौँमा पनि चोरी तथा डकैती मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन्। प्रहरीको अपराध रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनले २०८१ कात्तिकमा काठमाडौँको चाबहिलस्थित ‘पूर्णिमा बचत तथा ऋण सहकारी’ र ‘शुभ विनायक बचत तथा ऋण सहकारी’ फोडेका थिए ।
उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई ३ महिना ५ दिन कैद, १५ हजार जरिवाना र ४ लाख २९ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो। तर, अदालतको फैसला कार्यान्वयन नगरी उनी फरार हुँदै गाउँ आएर पुनः शृङ्खलाबद्ध चोरीमा लागेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार निजले अन्य जिल्लामा समेत आपराधिक घटना घटाएको हुन सक्ने देखिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको र कोही पीडित भए सम्पर्क गर्न समेत आग्रह गरेको छ ।-रातो पाटी
















