सोलुखुम्बु, माघ १३ । हिमाली जिल्ला सोलुखुम्बुमा आगामी निर्वाचनका लागि कुल मतदाता संख्या ८५ हजार ५१५ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतदाता विवरणअनुसार जिल्लाका आठ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिएको हो ।
जिल्लामा कुल मतदाता मध्ये ४४ हजार ४८३ पुरुष र ४१ हजार ३२ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख दिपेन्द्र राज अधिकारीले जानकारी दिए । पुरुषको तुलनामा महिला मतदाताको संख्या कम देखिएको छ । कुन पालिकामा कति छन् त मतदाता ?
पालिकागत मतदाता विवरण
सोलुदुधकुण्ड नगरपालिका – २० हजार ७६०
नेचासल्यान गाउँपालिका – १० हजार ९३५
थुलुङ दुधकोशी गाउँपालिका – १५ हजार ९९८
सोताङ गाउँपालिका – ७ हजार २९५
महाकुलुङ गाउँपालिका – ८ हजार १८९
माप्यदुधकोशी गाउँपालिका – १० हजार ९४३
खुम्बु पासाङ ल्हामु गाउँपालिका – ६ हजार १३३
लिखुपिके गाउँपालिका – ५ हजार २६२
सबैभन्दा बढी मतदाता सोलुदुधकुण्डमा
जिल्लाको सदरमुकाम समेत रहेको सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढी २० हजार ७६० मतदाता दर्ता भएका छन् । त्यसपछि थुलुङ दुधकोशी गाउँपालिकामा १५ हजार ९९८ मतदाता रहेका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिकामा भने मतदाता संख्या कम रहेको छ ।
जुन भौगोलिक विकटता, बसाइँसराइ र जनसंख्याको घनत्व कम हुनुका कारण भएको सरोकारवालाहरूले बताएका छन् । विशेषगरी सोलुखुम्बुबाट काठमाडौँ लगायत शहरी क्षेत्रतर्फ बढ्दो बसाइँसराइले जिल्लाको मतदाता संरचनामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । युवापुस्ताको वैदेशिक रोजगारी र अध्ययनका लागि बाहिरिने प्रवृत्तिले ग्रामीण पालिकामा मतदाता संख्या तुलनात्मक रूपमा स्थिर वा घट्दो रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
निर्वाचन तयारी र राजनीतिक सरगर्मी बढ्दै
जिल्लामा मतदाता विवरण सार्वजनिक भएसँगै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको राजनीतिक सरगर्मी बढ्न थालेको छ । प्रमुख राजनीतिक दलसहित अन्य नयाँ तथा पुराना राजनितिक दलद तथा उम्मेद्वारहरु संगठन विस्तार र मतदाता लक्षित अभियानमा जुटेका छन् ।
महिला मतदाता सहभागिताको संकेत
जिल्लामा महिला मतदाताको संख्या ४१ हजार ०३२ पुगेको छ । जुन कुल मतदाताको करिब ४८ प्रतिशत हाराहारीमा रहेको छ । यसले स्थानीय तहदेखि संघीय राजनीतिमा महिला सहभागिता विस्तार हुँदै गएको सकारात्मक संकेत दिने विश्लेषकहरूको भनाइ छ ।
















