काठमाण्डौ । संसारको छानो अर्थात् सगरमाथा आगामी दिनमा केवल हिउँको हिमाल मात्र हुने छैन । वैज्ञानिकहरुका अनुसार सगरमाथामा जिवाणु तथा ढुसीको पहाड पनि ठडिँदैछ । मानिसको खकार तथा सिँगानबाट निस्किएका जिवाणु तथा ढुसी सगरमाथामा जम्मा भइरहेको एक अध्ययनले देखाएको छ ।
शोधकर्ताहरुले सगरमाथाबाट संकलित माटोको नमूनामा यस्ता ब्याक्टेरिया तथा ढुसी फेला पारेका छन् जुन पर्वतारोहीको नाक तथा मुखबाट निस्कन्छन् । खोकी तथा सिँगानबाट निस्किएका ब्याक्टेरिया तथा ढुसीहरु सबैभन्दा धेरै सगरमाथाको साउथ पोल बेस क्याम्पका साथै पर्वतारोहणको बाटोमा भेरिएका छन् ।
चिसो मौसम तथा माइनस तापक्रमका कारण ती ब्याक्टेरिया तथा ढुसीहरु सदियौँसम्म सगरमाथाको माटोमा जीवित रहनसक्ने शोधकर्ताहरुको भनाइ छ । अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका माइक्रोबियल इकोलोजिस्ट निकोलस ड्रागनका अनुसार निकै विषम परिस्थिति भएको सगरमाथामा समेत जिवाणु तथा ढुसीहरु जिवित रहेका छन् ।
तर यी जिवाणुहरु सुख्खा, विषम तथा चिसो मौसममा पनि बाँच्ने गरेको पाइएको छ । सगरमाथाको मौसममा ती रोगका जिवाणु तथा ढुसीहरु सुुसुप्त अवस्थामा रहेको भए पनि उपयुक्त मौसम आउनासाथ तिनीहरु सक्रिय हुने शोधकर्ता बताउँछन् ।
निकोलसका सहकर्मी स्टिभन स्मिटका अनुसार सगरमाथाको सुक्ष्म जैविक वातावरणमा मानिसद्वारा उत्सर्जित ब्याक्टेरिया र ढुसीले आफ्नो स्थान बनाइसकेका छन् । साइन्स अलर्टबाट