spot_img

वडाध्यक्षकै कार्यकक्षबाट स्वास्थ्य सेवा : गार्मामा देखिएको स्थानीय शासनको नमुना अभ्यास

spot_img

सोलुखुम्बु, पुस १४ । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य सेवा अझै पनि भौगोलिक कठिनाइसँग गाँसिएको विषय हो । छरिएर रहेका बस्ती, उकालो–ओरालो बाटो र सीमित पूर्वाधारका कारण सामान्य उपचारसमेत यहाँका नागरिकका लागि चुनौतीपूर्ण छ । यही यथार्थका बीच सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा सुरु गरिएको एउटा नवीन अभ्यासले स्थानीय शासनको मानवीय पक्षलाई उजागर गरेको छ । वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आफ्नै कार्यकक्षलाई स्वास्थ्य क्लिनिकका रूपमा प्रयोगमा ल्याएर नागरिकलाई नजिकैबाट सेवा उपलब्ध गराउन थालेका छन् ।

Advertisement

वडाको कार्यालय खासै व्यस्त नहुने समयलाई सदुपयोग गर्दै नागरिकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले उक्त निर्णय लिइएको हो । सोलुदुधकुण्ड नगरपालिका–७ को वडा कार्यालय माथिल्लो गार्मामा अवस्थित छ भने सरकारी स्वास्थ्य चौकी करिब १० किलोमिटर टाढा तल्लो गार्मामा रहेको छ । “जनप्रतिनिधि भनेको कार्यालयमा बस्ने मात्र होइन, नागरिकको समस्या बुझेर समाधान खोज्ने हो,” वडाध्यक्ष शेर्पाले सत्य प्रेससँग भने, “सामान्य उपचारका लागि पनि नागरिकले लामो दूरी तय गर्नुपरेको देख्दा कार्यालय खाली राख्नु उचित लागेन ।” सरकारी कागजात र बैठकका कुर्सीबीच सुरु गरिएको यो सेवा अहिले स्थानीयवासीका लागि भरोसाको केन्द्र बनेको छ ।

Advertisement

वडाध्यक्षको यो पहलले स्वास्थ्य सेवा केवल भवन र संरचनासँग मात्र होइन, इच्छाशक्ति र संवेदनशील नेतृत्वसँग पनि गाँसिएको विषय हो भन्ने सन्देश दिएको स्थानीय सोनामछोटी शेर्पाले बताइन् । वडाका अनुसार यहाँको करिब ५५ प्रतिशत जनसंख्या माथिल्लो गार्मा क्षेत्रमा बसोबास गर्छ । तीमध्ये ठूलो हिस्सा वृद्धवृद्धा, महिला र बालबालिका रहेका छन् ।

Advertisement

तत्कालका लागि मासिक रुपमा सेवा दिने र विस्तारै सेवालाई सप्ताहिक बनाउने योजना रहेको वडाध्यक्ष शेर्पाले बताए । वडा कार्यालयमा काम लिएर आउने नागरिकले स्वास्थ्य सेवा पनि पाउन थालेपछि स्थानीय तहप्रतिको विश्वास समेत थप मजबुत बनेको स्थानीयको भनाइ छ । दुर्गम भेगमा सुरु गरिएको यो अभ्यासले स्थानीय शासनको मानवीय पक्षलाई उजागर गर्दै संघीयताको मर्म नागरिकको दैनिकीमा कसरी झर्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ ।
नमुना वडा बन्दै गार्मा
सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा पछिल्लो समय जिल्लाकै नमुना वडाको रूपमा चिनिन थालेको छ । यहाँको सेवा प्रवाह, नवप्रवर्तनशील अभ्यास र नागरिकमैत्री नीति अन्य वडाका लागि समेत प्रेरणादायी बन्दै गएको छ । केही महिना अघि मात्रै यस वडाले जिल्लामै पहिलो पटक बालमैत्री वडा घोषणा गरेको थियो ।

बाल अधिकार, शिक्षा, स्वास्थ्य र संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढेको वडाले अहिले स्वास्थ्य सेवामा समेत नयाँ अभ्यास सुरु गरेको हो । राजनीतिक तथा प्रशासनिक जानकारहरूका अनुसार वडाध्यक्षकै कार्यकक्षबाट स्वास्थ्य सेवा सञ्चालन हुनु संघीयताको मर्मअनुसार स्थानीय सरकारको सक्रिय भूमिकाको उदाहरण हो ।

“संविधानले दिएको अधिकार कागजमा सीमित नराखी नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति गराउने काम गार्माले गरेको छ,” एक स्थानीय कान्छा शेर्पाले भन्नुभयो । वडाध्यक्ष शेर्पाका अनुसार यो व्यवस्था अस्थायी भए पनि भविष्यमा छुट्टै संरचना निर्माण गरेर स्वास्थ्य क्लिनिकलाई स्थायी बनाउने योजना रहेको छ ।

“यो सुरुवात हो,” उनले भने, “हामी चाहन्छौँ, गार्माका कुनै पनि नागरिक सामान्य उपचारका लागि टाढा जान नपरोस् ।” सीमित स्रोतसाधनबीच पनि इच्छाशक्ति र सहकार्यले कस्तो परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश गार्माले दिएको छ । यदि यस्ता अभ्यास अन्य वडामा पनि विस्तार भए, हिमाली भेगका नागरिकका लागि स्वास्थ्य सेवा अब टाढाको सपना रहने छैन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै