spot_img

सोलुखुम्बुदेखि न्यूयोर्कका मेयरको ट्रान्जिसन टिमसम्म : उर्गेनको उदयमान यात्रा

spot_img


सुवास दर्नाल
सोलुखुम्बु, मङ्सिर १२ । हिमाली जिल्ल सोलुखुम्बुको लोदिङ गाउँ । सधै बादलको घुम्टो भित्रको एउटा हिमाली गाउँ । त्यही बादल छिचोल्दै बेलुकी ढल्कँदै गरेको सुनौलो घाम गाउँको घर–आँगन र डाँडापाखासँग पौठेजुहारी खेल्दै पहाडका ढुंगामाटोसँग रमाउनु दुर्गम गाउँका हरेक बासिन्दाको बाध्यता हो । यिनै पहाड, यिनै खोला, यिनै चिसो हावा र यिनै जीवनका कठिनाइबीच हुर्किएका उर्गेन शेर्पा आज अमेरिकाको विशाल महानगर न्यूयोर्क सिटीको नवनिर्वाचित नगरप्रमुख जोहरान ममदानीको कार्ययोजना टिमसम्म पुग्न सफल भएका छन् । यो केवल एक व्यक्तिको उन्नतिको कथा मात्र होइन ।

Advertisement

यो पहाडबाट सहर हुँदै विश्व र संघर्षबाट नेतृत्वमा बदलिएको एक पुरै समुदायको प्रतिनिधित्वको कथा हो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ मा पर्ने लोदिङ गाउँ । साविक तामाखानी गाउँ विकास समिति वडा नम्बर ८ लोदिङमा जन्मिएका शेर्पा बाल्यकालदेखि नै परिवार, समाज र गाउँका साझा मुद्धाहरु आपसी सहयोगको माध्यमबाट हल गर्नमा माहिर थिए । तर उच्च शिक्षा हासिल गरेपछि शेर्पा सामान्य ग्रामीण युवाले गर्ने निर्णय नै गरे कि देशकै सीमित अवसरमा बाँधिनुभन्दा बाहिर गएर केही नयाँ संसार हेर्ने निधो गरे । यही यात्राले उर्गेनलाई अमेरिकाको न्यूयोर्कसम्म पु¥यायो । जहाँ उनको जीवनले नयाँ मोड लियो ।

Advertisement

प्रारम्भिक वर्षहरू कठोर थिए, कामको खोजी, भाषाको कठिनाइ, प्रवासी जीवनका चिन्ता र सङ्घर्ष । न्यूयोर्क सहर विश्वकै संस्कृति, भाषा, वर्ग र जीवनशैलीको समिश्रण । यही भीडभाडमा दक्षिण–एशियाली, विशेषगरी नेपाली तथा हिमाली समुदायका हजारौँ आप्रवासी श्रमिक बसोबास गर्छन् । यही अमेरिकी शहरमा कोही रेस्टुराँमा, कोही निर्माणमा, कोही साना व्यापारमा, कोही ट्याक्सी चलाउँदै–चलाउँदै आफ्नो भविष्य कोरिरहेका छन् ।

Advertisement


उर्गेन शेर्पाको मन यसै समुदायको समस्यामा टिक्यो
भाषा नजान्दा सरकारी सेवामा पहुँच नहुने, कागजी प्रक्रियामा कठिनाइ, अनुदान लिन नसक्ने, घटना–दुर्घटनामा सहयोग नपाउने, बसोबास र रोजगारीको असुरक्षा जस्ता समस्या प्राय नेपालीहरुसँग ठोकिने साझा समस्या थिए । यिनै समस्याको जरोमा हात राखेर उनले समुदायको नेतृत्व सुरु गरे । त्यहीबाट सुुरु भएको शेर्पाको समाज सेवाले केही वर्षपछि उनी शेर्पा किदुग अमेरिकाका अध्यक्ष चुनिए ।

त्यही भूमिकामा शेर्पाले आपत–विपतमा पर्ने प्रवासीहरूका लागि राहत संकलन, मृत्युजस्तै कठिन अवस्थाका परिवारलाई कानुनी–आर्थिक सहयोग, सांस्कृतिक पहिचान सुरक्षित गर्ने कार्यक्रम, नयाँ आप्रवासीलाई मार्गदर्शन, समुदायबीच एकता र सहकार्य बढाउने अभियान जस्ता कार्यहरु लगातार चलाइरहे ।

त्यही कर्मका कारण समुदायले उनलाई “संकटमा सबैभन्दा पहिला हात थाप्ने व्यक्ति”को रूपमा चिन्न थाले । कोभिड–१९ महामारीले विश्वलाई हल्लाउँदा, न्यूयोर्क सबैभन्दा धेरै प्रभावित भयो । साना उद्यम टुटे, हजारौँले रोजगार गुमाए, आप्रवासी समुदाय प्रशासनिक र भाषागत कारणले राहत सेवासम्म पुग्न सकेन । यही बेला उर्गेन शेर्पाले आफ्नो जीवनकै सबैभन्दा चुनौतीपूर्ण तर महत्वपूर्ण अभियान सुरु गरे ।

साना उद्यमीलाई बाँच्ने बाटो देखाउने, बन्द व्यापार कसरी पुनःचलाउन सकिन्छ, कागजी प्रक्रिया कसरी पूरा गर्ने, सरकारी सहायता कसरी लिन सकिन्छ, आर्थिक नोक्सानीबाट कसरी उभिन सकिन्छ, कमजोर व्यवसायलाई कसरी स्थिर बनाउने, जस्ता विषयमा प्रत्यक्ष मार्गनिर्देशन गर्न थाले । “त्यो काम त्यहाँका नेपालीहरुका लागि सजिलो थिएन ।

न त उद्यमीहरूसँग संसाधन थियो, न भाषागत सहजता । तर उर्गेनले घर–घर पुगेर, पसल–पसल धाएर, कागजी फारम भरेर, अनुदानको मार्ग खोलेर सयौँ व्यवसाय उठाएका थिए ।” न्यूजर्सी स्थित दावा जाङ्बु शेर्पाले सम्झदै भने । यसले उर्गेनलाई समुदायमा मात्र होइन, नीतिनिर्माता माझ पनि विशिष्ट प्रभाव छाड्यो ।


नगरप्रमुख ममदानीको नजरमा परेका उर्गेन
जोहरान ममदानी प्रगतिशील दृष्टिकोण, आप्रवासी–मैत्री सोच, आर्थिक समानतामा आधारित राजनीतिक अभियान उनको नेतृत्व शैली थियो । त्यही कारण ममदानीले आफ्नो प्रशासन प्रारम्भ गर्ने तयारीमा एक यस्तो टिम खोजे, जसले समुदायको जीवन प्रत्यक्ष बुझेको होस्, नीति र व्यवहारबीचको दूरी घटाउन सकोस्, आप्रवासीको आवाज नीतिमा रूपान्तरण गर्न सकोस् । उर्गेन शेर्पा यिनै गुणको प्रत्यक्ष उदाहरण थिए ।

अन्तत ममदानीले उर्गेनको नाम कार्ययोजना टिममा प्रस्ताव गरे र उनलाई औपचारिक रूपमा नियुक्त गरियो । यो नियुक्ति केवल एक व्यक्तिलाई दिइएको अवसर मात्र होइन । “सोलुखुम्बुको पहाड, नेपाली समुदाय, शेर्पा समुदाय र सम्पूर्ण हिमाली समुदायको आवाज न्यूयोर्कको सिटी हलसम्म पुगेको ऐतिहासिक क्षण हो ।” न्यूयोर्क स्थित क्षेतेन शेर्पाले भने ।


उर्गेन शेर्पाको प्रतिक्रिया

नियुक्तिपछि उर्गेनले भनेका छन् “म अत्यन्त सम्मानित महसुस गरिरहेको छु, यो अवसर केवल मेरो व्यक्तिगत उपलब्धि होइन । वर्षौँदेखि यहाँ श्रम, संघर्ष र परिश्रम गर्दै आएका नेपाली, शेर्पा तथा हिमाली समुदायको आवाज नीतिनिर्माणको तहसम्म पु¥याउने जिम्मेवारी पनि हो ।” यो परियोजना मार्फत आवास संकट समाधान, आप्रवासीमैत्री सेवा विस्तार, साना व्यवसायलाई पुनर्जीवन, सार्वजनिक सेवामा पहुँच सहज बनाउने जस्ता विषय प्रमुख प्राथमिकतामा राख्ने शेर्पाको भनाइ छ ।

आफ्ना अनुभव र समुदायसँगको निकटताले यसमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । न्यूयोर्कमा नेपालीहरूको संख्या धेरै छ तर चुनौती उही छ । न्यूयोर्कमा अहिले अनुमानित १५ हजारभन्दा बढी नेपाली बसोबास गर्छन् ।


सोलुखुम्बुको नजरमा उर्गेन

सोलुखुम्बुको लोदिङ गाउँमा अहिले खुशीको माहोल छ । पिके डाँडाको फेदीको यो गाउँमा अहिले उर्गेनको नाम लिनेहरु यत्रतत्र भेटिन्छन् । चाहे चिया गफमा हो वा मेलापात । उर्गेनले प्राप्त गरेको अवसरलाई लिएर गाउँले तथा आफन्तहरु हर्षले फुरुङ्ग छन् । स्थानीय रिन्जी शेर्पाले भन्नुभयो, “हाम्रो गाउँका छोरा विश्वकै शक्तिशाली सहरको नीति–निर्माण प्रक्रियामा सहभागी हुँदा गर्वले छाती फुल्छ ।” उर्गेनका आफन्तहरू भन्छन् “उनी जहाँ पुगे पनि आफ्नो पहाड र देशलाई कहिल्यै बिर्सिएनन् ।”

उनको सफलतामा परिवारको सहयोग, समुदायको भरोसा, आफ्नै मेहनत र अठोट मुख्य कारण बनेको लोदिङ घर भइ हाल अमेरिकामै रहेका पेम्बा शेर्पाले बताए । आज सोलुखुम्बुको पहाडमा बस्ने एक परिवार, न्यूयोर्कका गल्लीमा पसल चलाउने एक उद्यमी, ट्याक्सी चलाउने एक आप्रवासी वा विद्यालयमा भर्ना भएको एक नेपाली बालक सबैले उर्गेनमा आफ्नो भविष्यको प्रतिविम्ब देखेका छन् । लोदिङबाट सुरु भएको यात्रा आज विश्वको एक विकसित मुलुक अमेरिकाको न्यूयोर्क सिटी हलसम्म पुगेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै