सोलुखुम्बु, असार २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले संघ तथा प्रदश सरकारमा देखिएको अराजकता, असंसदिय चरित्र ,अनियमितता र वेथितिको गम्भीर समीक्षा गर्दै त्यसको अन्त्यका लागि पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार बी.पी नगर ललितपुरमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता शेर्पाले संघ तथा प्रदेश सरकार सञ्चालनमा पार्टीको सहभागिता हुँदाहुँदै पनि बजेट विनियोजनमा असमानता, नीति निर्माणमा गम्भीर त्रुटि र नेतृत्व तहमा देखिएको जवाफदेहीहीनता संघीयता स्वयंका लागि खतरनाक बन्दै गएको बताए ।
जनमोर्चा र राप्रपले त संघीयताको बिरोध सैद्धान्तिक मात्र हो, तर प्रदेश सरकारमै रहेका हाम्रा सांसद, मन्त्री तथा नेताबाटै जब बेतिथी फैलिएको छ, त्यो संघीयता ब्यबहारिक ढंगले नै गलत सावित गर्ने गरि कृयकलाप भएको छ । “नेता शेर्पाले बैठकमा धारणा राखे । “संघीयता समाप्त हुन नदिन, नेपाली कांग्रेसले अग्रसर भएर यसको समाधान गर्नुपर्छ, छानबिन समिति त्यसको पहिलो शर्त हो ।” उनले बजेट विनियोजनको क्रममा मन्त्री, नीजि लाभ, पहुँचवाला नेताको क्षेत्रमा प्राथमिकता दिइने र दुर्गम क्षेत्रको उपेक्षा हुने जस्ता प्रवृत्तिले लोकतन्त्र माथि बिश्वास नै कमजोर बनिरहेको उल्लेख गर्दै, संसदीय प्रणालीप्रति जनआस्था खस्किनसक्ने चेतावनी दिए ।
संगठनभित्र पनि शुद्धीकरणको माग
नेता शेर्पाले पार्टीभित्रका भातृ संस्थाहरुको भूमिका पुनरावलोकन गर्नुपर्नेमा पनि जोड दिए । उनले लोकतन्त्र प्राप्तिका संघर्षकालमा भातृ संस्थाहरुले विचार र सिद्धान्तमा आधारित भएर आन्दोलनमा भूमिका खेलेको भए पनि अहिलेको अवस्थामा उनीहरुको भूमिकामा परिवर्तन आवश्यक रहेको धारणा राखे । “
अब यी संगठनहरु पेशागत हकहित, व्यावसायिकता र स्वतन्त्र अस्तित्वका आधारमा अगाडि बढ्नुपर्छ,” नेता शेर्पाले भने, “राजनीतिक एजेन्डालाई दोश्रो प्राथमिकतामा राखेर संगठनलाई पेशागत रुपमा सशक्त बनाउने दिशातर्फ जानुपर्छ, यी संस्था भित्र पार्टीले माइक्रो म्यनेजमेण्ड गर्न छोड्नु पर्छ र पार्टीको एउटा नियमक निकायले हेर्ने गरि स्वायत्त ढंगले नेतृत्व चायन गर्ने परिस्थिति निर्माण गरिनुपर्छ ।”
उहाँले पार्टीको अबद्दा रहेका पत्रकार, अधिवक्ता, डाक्टर, शिक्षक, विद्यार्थी लगायतका पेशागत संगठनहरुलाई स्वायत्त रुपमा सञ्चालन गर्न दिनुपर्ने बताए ।
लोकतन्त्रलाई बलियो बनाउने अभियानमा कांग्रेस अग्रसर होस्
नेता शेर्पाले लोकतन्त्र प्राप्त भइसकेको वर्तमान परिवेशमा पार्टीभित्र शुद्धिकरण, पारदर्शिता र जवाफदेहीता अभिवृद्धि गर्न नसके संघीयता र लोकतन्त्र दुबैको भविष्य अस्थिर बन्न सक्ने औंल्याए ।
“लोकतन्त्रको नाममा भएको चरम अव्यवस्थाले जनमानसमा निराशा फैलिन थालेको छ,” उनले भने, “त्यसैले नेपाली कांग्रेसले अब लोकतन्त्रको व्यावहारिक अभ्यासका माध्यमबाट मात्रै होइन, पार्टी र सरकारमा देखिएको विकृति, विसंगति र असमानताको अन्त्य गरेर जनविश्वास कायम राख्नुपर्ने बेला आएको छ ।”
नेता शेर्पाले सुझाव दिए कि पार्टीले नीतिगत हस्तक्षेपमार्फत अनुशासन, शुद्धीकरण र आत्मालोचनाको प्रक्रिया सुरु गर्न सक्यो भने मात्र नेपाली कांग्रेसले लोकतान्त्रिक अग्रणी दलको हैसियत जोगाउन सक्नेछ । सोही बैठकमा नेता शेर्पाले, को–राला पास नाका खोल्नु पर्ने, माउन्ट कैलाश ट्रेकिङ त्यो मार्गमा चलाउन सकेमा पर्यटकको नेपाल बसाइँ लम्बिने र देशले लाभ लिन सक्नेछ ।
राफ्टिङ पेशाको सुरक्षा र यस क्षेत्रको पर्यटकीय आकर्षण निरन्तर कायम राख्न कम्तीमा दुईवटा नदि छुट्टाउन नेपाल सरकारलाई अनुरोध गर्दै रोयल्टी रकमबाट अरोही मजदुरहरुलाई लाभ दिने गरि निश्चित प्रतिशत “हिमाल अरोही कल्याण कोष” खडा गरि राहत दिने प्रबन्ध गर्न प्रस्ताव गरिएको गर्नु भएको छ ।