spot_img

खुम्बुमा पर्यटक आवगमन बाक्लियो, व्यवसायी धमाधम फर्किदै

spot_img

फागुन ६, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही समय आवगमन ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो । पर्यटक प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटकहरु खुम्बु प्रवेश गरिरहेका छन् ।

Advertisement

फागुन लागेसँगै पर्यटक आवगमनमा वृद्धि भईरहेको पर्यटक प्रहरी इन्चार्ज प्रहरी हवल्दार शङ्कर खत्रीले जानकारी दिए । उनले भने, “सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको छ, अस्ती फागुन लागेपछि झनै विदेशीहरुको आगमन बढेको छ, कोही बेला त दिनमै ७० जनासम्म आउने गर्छन् । फर्किने कम छन् अहिले त आउने मात्रै बढी छन् । विदेशी र स्वदेशी पर्यटकहरु धमाधम उकालो लाग्ने क्रममा छन्, खुम्बुमा अब सिजन सुरु भएकाले भ्याइनभ्याइ छ ।”

Advertisement

खुम्बु भित्रिने पर्यटकहरुमा विशेषगरी कोरियन र चाइनीज धेरै रहेको पर्यटक प्रहरी कार्यालयको तथ्याङ्क छ । सिजनको सुरुवातमा भएकाले आउने पर्यटकको तुलनाामा फर्कने अत्यन्त न्यून मात्रामा रहेका छन् । उनीहरु लुक्लासम्म जहाजमा र त्यहाँबाट पैदलमार्फत उकालो लाग्ने गरेका छन् । जसका कारण खुम्बु पर्यटकमय हुँदै गएको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए ।

Advertisement

“सगरमाथा क्षेत्र विदेशीमय हुन थालेको छ, अब सिजन सुरु भयो र मौसम पनि तातिन सुरु भएकाले अब रमाइलो छ, तर यो वर्ष खासै हिउँ नपर्दा अलिक खल्लो चै छ, पर्यटक त आउन थालिसक्यो नि ।”, उनले भने ।

तर खुम्बुमा हिमपात नहुँदा केही खल्लो महसुुस भएको स्थानीयले बताएका छन् । यो सिजनमा हिउँले डाँडापाखाहरु सेताम्मे हुने यहाँको विशेषता भएपनि यस वर्ष हिमपात नहुँदा लुक्लाबाट देखिने डाँडाहरु उराठलाग्दा बनेको स्थानीय तोया कुमार श्रेष्ठले बताए ।

उनले भने, “विदेशीहरु धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडाहरु आसपासका क्षेत्रहरु सुख्खा नै छ, खासै हिउँ परेन त्यो भएकाले जति रमाईलो हुनुपर्ने हो त्यति भएको छैन, बिहान उड्ने वित्तिकै यहाँका हिमाल अनि सेताम्मे डाँडाहरुले मनै आनन्दित बनाउथ्यो, तर यो वर्ष अब फागुन पहिलो साता बित्न लाग्यो हिउँ नपर्दा चै अलिक खल्लो जस्तो भएको छ, विदेशीको आउजाउले चै हामी खुसी नै छौँ ।”

यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् । खुम्बुको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सगमारथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए ।

यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् जसका कारण पनि सगरमाथा क्षेत्रमा आउने पर्यटकहरुको चाप वृद्धि हुने गरेको उनको भनाइ छ । खुम्बु क्षेत्रमा मुख्य गरी शेर्पा जातिको मानिसको बसोबास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्र लुक्ला, नाम्चे, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन् ।
होटल व्यवसायीहरु धमाधम फर्किदै
सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बाक्लिएसँगै खुम्बुका पर्यटन व्यवसायीहरु धमाधम फर्किन थालेका छन् । चिसो छल्न काठमाण्डौँ, पोखरा, भारतको बुद्धगैया लगायतका क्षेत्रमा गएका व्यवसायीहरु समेत अहिले धमाधम फर्किन थालेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

चिसोका कारण हिउँदमा सो क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकहरुको चाप घट्दा त्यहाँका व्यवसायीहरु समेत भ्रमणमा निस्किएका थिए । तर सिजनको सुरुवातमै पर्यटक आवगमनले उत्साहित बनाएको स्थानीय बताउछन् ।

“हामी खुसी छौँ, सिजनको सुरुवातमै विदेशीहरु धेरै आइरहेको छ, यो वर्ष पनि राम्रो सिजन चल्छ जस्तो लागेको छ, अब धेरै होटल सञ्चालकहरु खुम्बु फर्किसके, कुनै कुनै आउने क्रममा छन्, अब त विदेशी आउन थालेपछि त होटल मालिकहरु नफर्कि त सुखै छैन नि, अफ सिजनमा पो हो त घुम्ने त, फेरी चिसो मौसममा यहाँ बस्न गाह्रो हुने भएकाले बाहिर जाने हो, अब त मौसम पनि तातो हुन थाल्यो ।” स्थानीय व्यवसायी ल्हेमी शेर्पाले भने ।

‘अफ सिजन’मा बन्द भएका होटलहरु करिब ४० प्रतिशत भन्दा बढी खुलिसकेको नाम्चेका पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताए । कतिपय होटल सिजनमा मात्रै सञ्चालन हुने भएकाले सञ्चालकहरु ‘अफ सिजन’मा काठमाण्डौँसहित अन्यत्र घुमफिरमा जाने गर्दछन् । तर सिजन सुरु भएर पर्यटकको संख्या बाक्लिएसँगै व्यवसायीहरु पनि फर्किने क्रम उच्च रहेको होटल सञ्चालक भिम श्रेष्ठले बताए ।

सिजनको सुरुवातमै लागेको पर्यटक भीडले स्थानीय व्यवसायी उत्साहित छन् । तल्लो क्षेत्रका पर्यटक भरियाहरु समेत खुम्बु तर्फ जान थालेका छन् । खुम्बुमा वर्षको दुई सिजन, फागुन, चैत्र, बैशाख र असोज, कार्तिक, मंसिरलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।
लुक्लाको हवाइ सेवामा चाप
खुम्बुमा पर्यटक आवगमन सुरु भएसँगै तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला सोलुखुम्बुमा यात्रुको चाप वृद्धि भएको छ । काठमाण्डौँबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाण्डौँ–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका एटिसी अफिसर सञ्जय श्रेष्ठका अनुसार अहिले दैनिक दशदेखि १२ उडानसम्म लुक्लामा काठमाण्डौँबाट उडान हुने गरेका छन् । जसमा अधिकांश यात्रु विदेशी रहेको उनको भनाई छ । “लुक्लामा अहिले दैनिक हेलिकप्टरसहित ५० मुभमेन्टसम्म हुने गरेको छ, सिजन सुरु भएकाले काठमाण्डौँबाट आउने यात्रुको चाप बढी नै छन्, अहिले त काठमाण्डौँबाट मात्रै उडान भइरहेको छ अब मार्चदेखि रामेछापको मन्थलीबाट लुक्ला उडान भर्ने कुरा छ” उनले भने ।

लुक्लामा अहिले काठमाण्डौँबाट मात्रै उडान भएको छ भने मार्चबाट मन्थली–लुक्ला उडान भर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । चिसो सिजनमा खुम्बु छाडेकाहरु पनि धमाधम फर्किन थालेकाले लुक्ला आउने विमानमा यात्रुको चाप बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले बताए । यद्यपि मौसम प्रतिकुलताका कारण उडान प्रभावित हुँदा समस्या भएको व्यवसायीहरुले बताएका छन् ।

लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा हवाई मार्ग नै भरपर्दो विकल्प मानिएको छ । मौसमले साथ नदिदा बेला बेला पर्यटक आवगमन नै ठप्प हुने गरेको स्थानीयको भनाइ छ । लुक्लामा अहिले सीता, तारा र समिट एयरले नियमित उडान भर्दै आएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै