असोज २०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ जुभिङमा भुइँ भालु मृत भेटिएको छ ।
शुक्रबार साझ जुभिङ सामुदायिक वन क्षेत्रको श्यामकाई खोलामा हिमालयन कालो पोथी भालु मृत भेटिएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
निमित्त डिभिजनल वन अधिकृत मनराज राईका अनुसार स्थानीयले खोलामा भालु मरेको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी, वन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको सक्रियतामा उद्दार गरेर डिभिजन वन कार्यालय सल्लेरीमा ल्याई कार्यालयकै परिसरमा आज शनिबार गाडिएको अधिकृत राईले बताए ।
करिब २/३ दिन अघि मरेको हुन सक्ने उक्त भालु १.५ मिटर लम्बाई, १ मिटर उचाई रहेको छ भने करिब १०० किलो तौल रहेको बताइएको छ । भालुको शरिरमा कुनै चोट देखिएको छैन भने मृत्युको कारण बारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
