सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदमा नारी दिवस मनाइएको छ । दिवसको अवसरमा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरसहितका महिलाहरुको उपस्थितिमा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङमा कार्यक्रमको आयोजना गरिएको हो ।
सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हमु गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले आफुले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलबायु परिवर्तनकै कारण महिलाहरुले धेरै समस्या भोगेको देखेको भन्दै राज्यले नितिगत रुपमै हिमाली भेगमा जलबायु अनुकुलनका कार्यक्रमको ब्यवस्था गर्ने बताइन ।
उनले भनिन, ‘यहाँको कृषि, स्वास्थ्य र पर्याययन पर्यटनमा निकै नै प्रभाव परेको देखियो, अब यसको समाधानमा सिंगो राज्य लाग्नु पर्छ, त्यसको पहलकदमी म गर्छु ।’
बुधबार १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बुपासाङल्हमु वडा नम्बर ४ खुम्जुङमा सम्पन्न कार्यक्रममा पुर्व परराष्ट्रमन्त्रि तथा राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलालो भोगेको समस्या देशकै प्रतिनिधिमुलक भएको बताइन।
उनले महिला स्वास्थ्य, कृषि र पर्यटनमा जलबायु अनुकुलनका कार्यक्रम ल्याउन माथिल्लो सदनमा आवज उठाउने धारणा राख्नु राखिन । ‘बर्षौदेखि हिमाली भेगको वातावरण झेल्दै आईरहेका हिमाली भेगका महिलाहरुको अहिलसम्मको भोगाई, सिकाई तथा अनुभव राज्यको लागि निति निर्माणको आधार बन्न सक्ने उनको भनाई छ ।
जलबायु विज्ञ डा. माधव कार्कीले नेपालको जलबायु परिवर्तनको नितिमा नै महिलाहरुलाई जलबायु परिवर्तन सम्बन्धि महिलाहरुको अधिकार सुनिश्चित गरेको उल्लेख गरे । डा. कार्कीले हिमाली क्षेत्रमा पानी आपुर्तीमा गम्भिर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लेर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताए ।
आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका उजागर गर्नु पर्ने बताइन । कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले मन्त्रालयले हरेक स्थानीय तहमा जलबायु अनुकुलनको लागि कार्यक्रमहरु संचालन गरिरहेको र आगामि दिनमा पनि नितिहरु परिमार्जन गर्दै लैजाने बताईन् ।
गाउँपालिका उपाध्यक्ष टासिल्हमु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानु पर्ने बताइन ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाहरुले भोगेको सवाल आम संचारको प्राथमिक्तामा पर्नु पर्ने धारणा राखे । सो अवसरमा खुम्बु महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरुले आफुहरुले पिउने पानी, स्वास्थ्य र पर्यावणीय समस्या झेल्नु परेको भन्दै राज्यको खबरदारी गरेका छन् ।
कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बुपासाङल्हमु गाउँपालिका लगायत सङ्घसंस्था र निकायको सहकार्य रहेको थियो ।