सोलुखुम्बु – सोलुखुम्बुमा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाअध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् ।
शुक्रबार माप्य दुधकोशीमा बसेको एमाले गाउँपालिका कमिटीको बैठकमा माप्य दुधकोशी गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष दिनेश राई र वडा नं ७ का वडाअध्यक्ष सगुजित राई एमाले प्रवेश गरेका छन् ।

तत्कालिन अवस्थामा नेकपा एमालेमै रहेका दिनेश २०७४ सालको स्थानीय तहको निर्वाचनको संघारमा कांग्रेस प्रवेश गरेका थिए । सोही निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएको थियो । सगुजित राई भने लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय थिए ।
दुवै अध्यक्ष जनस्तरमा लोकप्रिय मानिन्छन् । निर्वाचनको संघारमा एमाले प्रवेश गर्नुलाई महत्वका साथ हेरिएको छ ।

नवप्रवेशी अध्यक्षद्धय लगायतका स्थानीय नेतालाई नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राई, नेकपा (एमाले) प्रदेश १. का प्रमुख सचेतक क. बुद्विकुमार राजभण्डारी, जिल्ला समन्वय समिति संयोजक वीर कुमार राई, नेकपा (एमाले) सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला, सचिव आश कुमार राई, जिल्ला सचिवालय सदस्य तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्विकिरण राई, एमाले माप्य दुधकाशीका अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष जुनिता माया मगर लगायतले पार्टीमा स्वागत गरेका छन् ।
