सोलुखुम्बु, माघ ५ । हिमाली जिल्ला सोलुखुम्बुमा पनि आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र बन्दै गएको छ । प्रमुख राजनीतिक दलहरू उम्मेद्वार छनोटको अन्तिम चरणमा पुगेका छन् भने केही दलले औपचारिक रूपमा उम्मेद्वार घोषणा गरिसकेका छन् । यसपटकको निर्वाचनमा अघिल्ला निर्वाचनभन्दा फरक ढंगले युवा अनुहारलाई अघि सार्ने प्रतिस्पर्धा देखिन थालेको छ ।
जसले सोलुखुम्बुको राजनीतिक धार नै बदलिन सक्ने संकेत दिएको छ । जिल्लामा नेकपा एमाले, नेकपा, जनता समाजवादी पार्टी नेपाल, श्रमसंस्कृति पार्टी र उज्यालो नेपाल पार्टीले उम्मेद्वार टुङ्ग्याइसकेका छन् । तर जिल्लाको सबैभन्दा ठूलो दल मानिने नेपाली कांग्रेस भने टिकट वितरणमै अड्किएको छ । जसले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र रणनीतिक अन्योललाई उजागर गरेको छ ।
एमालेबाट कल्पना राई
नेकपा एमालेले सोलुखुम्बुबाट युवा नेतृ कल्पना राईलाई प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनाएको छ । कल्पना राई एमाले सोलुखुम्बुकी जिल्ला सचिव तथा सोलुदुधकुण्ड नगरपालिकाकी पूर्व उपमेयर हुन् । स्थानीय तहमा कार्यकारी अनुभव भएकी राईलाई एमालेले “युवा, महिला र संगठनात्मक सन्तुलन”को प्रतीकका रूपमा अघि सारेको देखिन्छ ।
नेकपाबाट असिम राई
नेकपाले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख असिम राईलाई उम्मेद्वार बनाएको छ । स्थानीय सरकार सञ्चालनमा प्रत्यक्ष अनुभव भएका असिम राईलाई नेकपाले विकास, समावेशिता र स्थानीय नेतृत्वको प्रतिनिधि पात्रका रूपमा अघि सारेको विश्लेषण गर्न सकिन्छ । यी दुवै दलको उम्मेद्वार चयनले सोलुखुम्बुमा यसपटक स्थानीय तहमा काम गरेका युवा नेतृत्वबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो बनाएको छ ।
जसपा नेपालबाट ल्हाक्पा शेर्पा
जनता समाजवादी पार्टी (जसपा) नेपालले अघिल्ला निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका ल्हाक्पा शेर्पालाई नै पुनः उम्मेद्वार बनाएको छ । जसपा नेपालका केन्द्रीय सचिव समेत रहेका शेर्पा पार्टीभित्र अनुभवी र निरन्तरता बोकेको अनुहार मानिन्छन् । जसपाले यसपटक पनि आदिवासी जनजाति अधिकार, संघीयताको कार्यान्वयन र पहिचानको राजनीतिलाई मुख्य एजेण्डा बनाउने संकेत दिएको छ ।
श्रसपाबाट बिएस राई
श्रमसंस्कृति पार्टीले बिएस राईलाई उम्मेद्वार बनाएको छ । पार्टीका जिल्ला अध्यक्ष समेत रहेका राई श्रमिक, श्रमसंस्कृति र वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दाबीका साथ चुनावी मैदानमा उत्रिएका छन् । यद्यपि संसदीय राजनीतिमा श्रमसंस्कृति पार्टीको प्रभाव सीमित भए पनि यसले मत विभाजनमा भूमिका खेल्न सक्ने आंकलन गरिएको छ ।
उनेपाबाट पेम्बा छिरिङ शेर्पा
उज्यालो नेपाल पार्टीले पेम्बा छिरिङ शेर्पालाई प्रतिनिधिसभा उम्मेद्वार बनाएको छ । नयाँ राजनीतिक धारको प्रतिनिधित्व गर्ने यो पार्टीले सुशासन, पारदर्शिता र वैकल्पिक विकास मोडेलको कुरा अघि सार्ने तयारी गरेको देखिन्छ ।
कांग्रेसभित्र रस्साकस्सी : रणनीतिक कमजोरी ?
सबै दल उम्मेद्वार टुङ्ग्याएर चुनावी तयारीमा जुटिरहेका बेला नेपाली कांग्रेस भने अझै आन्तरिक रस्साकस्सीमै अल्झिएको छ । टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र स्पष्ट सहमति बन्न सकेको छैन । जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले चुनाव नलड्ने घोषणा गरिसकेपछि कांग्रेसको समीकरण झन् जटिल बनेको छ ।
अहिले दोश्रो नम्बरमा रहेका आङ गेलु शेर्पा, विनोद बस्नेत र महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्कीबीच टिकटको प्रतिस्पर्धा देखिन्छ । कांग्रेस निकट स्रोतका अनुसार विनोद बस्नेतले आङ गेलु शेर्पालाई समर्थन गर्ने सम्भावना बढेको दाबी गरिएको छ । तर पार्टी नेताहरू भने आङ गेलु शेर्पा र प्रकाशसिंह कार्की दुवैको सम्भावना बराबरी रहेको तर्क गर्छन् ।
समयमै उम्मेद्वार टुङ्गो नलागे कांग्रेसले चुनावी तयारीमा पछाडि पर्ने खतरा पनि उत्तिकै देखिन्छ । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले केही घण्टा भित्र सोलुखुम्बुको उम्मेद्वार टुंगिने प्रतिकृया दिएका छन् ।
















