सोलुखुम्बु, असार २४ । विश्व भलिबल दिवसको अवसरमा सल्लेरीमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले उपाधि उचाल्न सफल भएको छ । सोमबार जिल्ला भलिबल संघ सोलुखुम्बुको आयोजनामा सम्पन्न प्रतियोगितामा पत्रकार महासंघले दमदार प्रदर्शन गर्दै उपाधि कब्जा गरेको हो ।
सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समिति (जिसस) को प्रांगणमा सम्पन्न खेलमा पत्रकार महासंघले फाइनल खेलमा नेपाल शिक्षक महासंघ सोलुखुम्बुलाई सानदार रूपमा २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेटमा २६–२४ र दोस्रो सेटमा २५–१७ को जित निकालेको पत्रकार महासंघ टोलीले समग्र खेलमा आक्रामक रणनीति प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएको थियो ।
प्रतियोगितामा जिल्ला भलिबल संघ सोलुखुम्बुको रेफ्री टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै तृतीय स्थान हात पारेका छन । प्रतियोगितामा विजयी टिमहरुलाई नगद रू ११ हजार १११, ७ हजार ७७७ र ५ हजार ५५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी पाँच टिममध्ये नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, कर्मचारी मिलन केन्द्र, उद्योग वाणिज्य संघ, र जिल्ला भलिबल संघ सोलुखुम्बु (रेफ्री टोली) रहेका थिए ।
पुरस्कार वितरण समारोहमा जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलप्रेमी, पत्रकार, खेलाडी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम आयोजक जिल्ला भलिबल संघ सोलुखुम्बुका अध्यक्षले प्रतियोगिता खेल र मैत्रीपूर्ण सम्बन्ध सुदृढीकरणको माध्यम भएको बताउँदै यस्ता कार्यक्रमले सहकार्य, सद्भाव र स्वास्थ्यपूर्ण जीवनशैलीलाई प्रोत्साहन गर्ने बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले खेलकुदले नागरिकलाई स्वस्थ र फुर्तिलो बनाउने बताए ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले उपाधि जितेपछि खेलाडी पत्रकार टोलीलाई बधाई दिँदै खेलले एकताको भावना विकास गर्नुका साथै पत्रकारहरू पनि खेलकुदमा सशक्त छन् भन्ने उदाहरण दिएको प्रतिक्रिया दिए। विश्व भलिबल दिवसको अवसर पारेर गरिएको यो प्रतियोगिता सोलुखुम्बुमा खेलकुद प्रवद्र्धन गर्न महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।
स्थानीय तह, संघसंस्था, सञ्चारकर्मी तथा खेल संघबीचको सहकार्यबाट आयोजना भएको प्रतियोगिताले सोलुखुम्बुमा खेलकुदको विकास र जनस्तरसम्मको सहभागिता वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
















