सोलुखुम्बु, असार १ । सोलुखुम्बुमा सामाजिक सञ्जालमार्फत युवतीलाई प्रभावमा पारेर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका २ निवासी ३० वर्षीय नरेश कुलुङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार आरोपित कुलुङलाई शुक्रबार राति उनकै घरबाट पक्राउ गरिएको हो । कुलुङले फरक फरक ५ वटा फेक फेसबुक आईटी खडा गरेर किशोरीहरुलाई धाकधम्की र माया जालमा परी जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
नक्कली फेसबुक आइडी प्रयोग गरी युवतीहरूलाई माया प्रेमको झुटा जालमा पार्थे । ती आइडीमार्फत पीडितको मोबाइल नम्बर संकलन गरी फोन तथा म्यासेन्जरमा कुराकानी गर्ने, धम्की दिने र भेट्न बाध्य बनाउने गरेको खुलेको छ । प्रहरी अनुसन्धानअनुसार उनले १६ वर्षीया एक किशोरीलाई बुङमेलाबाट फकाएर एकान्त स्थानमा लगी बारम्बार करणी गरेका थिए ।
पीडितलाई बन्धक बनाई कुटपिटसमेत गरिएको जनाइएको छ । त्यसैगरी अर्को घटनामा १९ वर्षीया किशोरीलाई फेक आइडीमार्फत परिचय बनाई एकान्त जंगलमा बोलाई करणी गरी मोबाइल र सुनको फुली लुटिएको उजुरी परेको थियो । पक्राउ परेका नरेशले प्रारम्भिक बयानमा दुवै घटनामा संलग्न रहेको स्वीकारेका छन् ।
प्रहरीले घटनामा प्रयोग भएको मोबाइल तथा पीडितको सामान समेत बरामद गरेको छ । कुलुङले फेसबुकमा करिब एक दर्जनभन्दा बढी फेक आइडी प्रयोग गरी अरु यस्तै प्रकृतिका घटनामा संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ । हाल उनलाई जिल्ला अदालत सोलुखुम्बुबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।
यस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग संवाद गर्दा सचेत रहन, निजी विवरण नदिन र शंकास्पद गतिविधिबारे तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सबैमा अनुरोध गरिएको छ । साथै जिल्लाका अन्य व्यक्तिहरु पनि यस्ता घटनाबाट पीडित भएको भए प्रहरीलाई जानकारी गराउन सोलुखुम्बु प्रहरीले आग्रह गरेको छ ।