काठमाडौँ, माघ १८ । सल्लेरी–च्याल्सा विद्युत् कम्पनी लिमिटेड सञ्चालक समिति अध्यक्षमा दावागेलु पाख्रिन(राजु) चयन भएका छन् । आज काठमाण्डौँमा सम्पन्न अधिवेशनले पाख्रिनको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । कम्पनीका अनुसार नव निर्वाचित कार्यसमितिको पदावधि चार वर्षको रहनेछ ।
समितिका सदस्यहरुमा नुरू लामा, देण्डी शेर्पा, नारायण काजी श्रेष्ठ, कुलनारायण श्रेष्ठ र टंकीमाया बस्नेत चयन भएका थपिएका छन् । यसअघि सल्लेरी–च्याल्सा विद्युत् कम्पनीको अध्यक्षमा डाक्टर मिङमार ग्याल्जेन शेर्पा रहेका थिए । अधिवेशनले शेर्पाको कार्यकालको समीक्षा गर्दै कम्पनीको संस्थागत विकास र स्थानीय ऊर्जा आपूर्तिमा पु¥याएको योगदानको प्रशंसा गरेको छ ।
सोलुखुम्बु सदरमुकाम क्षेत्रमा सञ्चालित सल्लेरी–च्याल्सा विद्युत् कम्पनीले स्थानीय स्तरमा विद्युत् आपूर्तिको जिम्मेवारी वहन गर्दै आएको छ । कम्पनीले उत्पादन, वितरण तथा सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको जनाएको छ । नव निर्वाचित अध्यक्ष पख्रिनले कम्पनीको दिगो सञ्चालन, सेवा सुधार तथा स्थानीय उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै बोर्ड सदस्यहरूले पनि सामूहिक नेतृत्वमार्फत कम्पनीलाई थप सक्षम र उत्तरदायी बनाउने बताएका छन् । हाल कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रका गरी २ हजार २ सय घरधुरी भन्दा बढी उपभोक्तालाई विद्युत सेवा उपलब्ध गराउँदै आएको छ ।
















