सोलुखुम्बु, माघ १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोलुखुम्बु जिल्लाका १२४ मतदानस्थलमध्ये १० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्लामा निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोनित कुँवरका अनुसार १२४ मतदानस्थलमध्ये १० मतदानस्थल अति संवेदनशील, ४१ मतदानस्थल संवेदनशील र ७३ मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समिति सोलुखुम्बुको टोलीले जिल्लाका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गर्दै निर्वाचन सुरक्षाको तयारीलाई प्रभावकारी बनाउने कार्य अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेको नेतृत्वमा भएको निरीक्षण टोलीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । टोलीले सोलुदुधकुण्ड नगरपालिका –१, माप्यदुधकोशी गाउँपालिका–१ र खुम्बु पासाङल्हमु गाउँपालिका–१ का मतदानस्थलको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मतदानस्थलको भौतिक अवस्था, पहुँच मार्ग, सुरक्षा चुनौती तथा आवश्यक पूर्वाधारका विषयमा जानकारी लिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका सबै मतदानस्थलको स्थलगत निरीक्षण गरिने जानकारी दिँदै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना तयार गरेको बताइन् । “सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । प्रत्येक मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिनेछ,” प्रजिअ पाण्डेले भनिन्। निरीक्षणका क्रममा टोलीले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीसँग पनि छलफल भयो ।
छलफलमा मतदानस्थल व्यवस्थापन, मतदाता आवागमन, भौतिक पूर्वाधार, सुरक्षा चुनौती तथा आपतकालीन व्यवस्थापनका विषयमा छलफल गरिएको छ । प्रहरी नायब उपरीक्षक कुँवरले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना तयार गरिएको जानकारी दिए ।उनका अनुसार मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने योजना अघि सारिएको छ ।
योजनाअनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने व्यवस्था गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन अवधिभर सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायबीच समन्वय, गस्ती, निगरानी तथा सूचना संकलनलाई तीव्र बनाउने जनाएको छ । साथै दुर्गम र हिमाली क्षेत्रका मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी तथा सामग्री व्यवस्थापनको तयारी पनि तीव्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालयले मतदाता, राजनीतिक दल तथा सर्वसाधारणलाई शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान समेत गरेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा कुल ८५ हजार ५१५ जना मतदाता रहेका छन् । जसमध्ये ४१ हजार ३२ जना महिला र ४४ हजार ४८३ जना पुरुष रहेका छन् ।
















