सोलुखुम्बु – रीड नेपालको आयोजना तथा सोलुखुम्बुका नगरपालिका तथा गाउँपालिकाको समन्वयमा स्थानीय स्रोत शिक्षकको क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
तालिममा सोलु दुधकुण्ड नगरपालिकाबाट चार जना, थुलुङ दुधकोशी गाउँपालिकाबाट तीन जना, नेचासल्यान गाउँपालिकाबाट चार जना, सोताङ गाउँपालिकाबाट दुई जना, महाकुलुङ गाउँपालिकाबाट दुई जना, माप्य दुधकोशी गाउँपालिकाबाट चार जना र लिखुपिके गाउँपालिकाबाट दुई जना गरी २१ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो ।
स्थानीय तह शिक्षा शाखाको सिफारिसमा उक्त शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि स्थानीय स्रोत शिक्षकको अवधारणा अघि सारेको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले जानकारी दिए ।
स्थानीय स्रोत शिक्षकहरुले आफ्नो विद्यालय लगायत आफ्नो छिमेकी ४ देखि ७ ओटा विद्यालयमा गएर नमूना कक्षा प्रदर्शन, शिक्षकको कक्षा अवलोकन तथा पृष्ठपोषण, सामाग्री निर्माण, सामाग्री वितरण, कक्षाकोठा व्यवस्थापनमा, तथ्यांक संकलन गर्ने, बैठक तथा सल्लाह सुझाव आदानप्रदान गर्ने, विद्यार्थी सिकाइ मूल्यांकन अभिलेख फारम प्रयोगमा सहयोग गर्ने लगायतका काम समेटेर अर्धवार्षिक योजना समेत निर्माण गरिएको छ ।
तालिममा सहभागी शिक्षक रोलकुमार बस्नेतले नयाँ विषयवस्तु सिकेकोले तालिम प्रभावकारी भएको बताउदै स्थानीय स्रोत शिक्षकको अवधारणा ल्याएकोमा रीड नेपाललाई धन्यवाद दिए । तालिमका अर्का सहभागी शिक्षक धनरुपा राईले चुनौतिसंगै अवसर प्राप्त भएको भन्दै सिकेको कुरा आफ्नो विद्यालयमा र आफ्नो जिम्मेवारी तोकिएको विद्यालयमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
तालिममा रीड नेपालका गतिविधि, स्थानीय स्रोत शिक्षकको भूमिका, संचार सिप, एकीकृत पाठ्यक्रम विद्यार्थी सिकाई मूल्यांकन अभिलेख फारमको अभ्यास कार्ययोजना निर्माण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण लगायतका विषयमा प्रशिक्षण दिएको थियो । कार्यक्रमको सहजीकरण रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटी, शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमेरे, शिक्षा विकास संयोजक केशव देव गिरी लगायतले गर्नु भएको थियो ।