सोलुखुम्बु, पुस ८ । हिमाली जिल्ला सोलुखुम्बुको दुर्गम भूगोल, जोखिमपूर्ण सडक र राज्यको सीमित पहुँचबीच श्रम संस्कृति पार्टीले जनश्रमदानमार्फत विकासको उदाहरण प्रस्तुत गरेको छ । सोलुदुधकुण्ड नगरपालिका–११ र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने अत्यन्त जोखिमयुक्त सडकखण्डमा ढुंगाको सोलिङ कार्य सम्पन्न गर्दै पार्टीले जिल्लामा श्रम संस्कृतिलाई व्यवहारमा उतारेको हो ।
विगतमा पटक–पटक सवारी दुर्घटना हुँदै आएको उक्त सडकखण्डमा १९ दिनसम्म सञ्चालन गरिएको श्रमदान अभियानमा ४१६ जना श्रमदाताको सक्रिय सहभागिता रहेको थियो । जनश्रमदानबाट १२२ मिटर लामो र ५ मिटर चौडाइको सडकमा मजबुत तवरको ढुंगाको सोलिङ गरिएको स्थानीयले बताएका छन् ।
भिरालो, चिप्लो र साँघुरो संरचनाका कारण यो सडकखण्ड सोलुखुम्बुकै एक जोखिमयुक्त मार्ग मानिँदै आएको थियो । पार्टीका जिल्ला अध्यक्ष विएस राईका अनुसार सबै श्रमदाताहरूको सामूहिक प्रतिबद्धता, अनुशासन र समर्पणका कारण जोखिमपूर्ण काम पनि सफलतापूर्वक सम्पन्न हुन सकेको हो ।
“यो सडक मर्मत मात्र होइन, श्रम, एकता र जिम्मेवारीको साझा अभियान हो,” अध्यक्ष राईले भने, “कतिपयले प्रत्यक्ष श्रमदान गर्नुभयो, कतिपयले औजार उपलब्ध गराउनुभयो भने कतिपयले श्रमिकहरूका लागि खाना तथा खाजाको व्यवस्थासमेत गर्नुभयो । सबैको योगदानले यो सम्भव भयो ।”
जोखिमयुक्त भिरालो क्षेत्रमा ढुंगाको सोलिङ गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय बासिन्दा, युवा, वृद्ध र विभिन्न पेशामा संलग्न व्यक्तिहरूले हातेमालो गर्दै काम सम्पन्न गरेका हुन् । ठेक्का र बजेटको प्रतीक्षा नगरी ‘आफ्नो ठाउँ आफैं बनाउने’ भावना बोकेर गरिएको श्रमदानले सोलुखुम्बुमा विकासको वैकल्पिक अभ्यास प्रस्तुत गरेको छ ।
सडक मर्मतपछि सवारी सञ्चालनमा सहजता आएको भन्दै स्थानीयवासी तथा सवारी चालकहरूले खुसी व्यक्त गरेका छन् । यसअघि वर्षायाममा चिप्लो सडकका कारण गाडी पल्टिने, हिउँदमा ढुंगा खस्ने जोखिम रहेको उक्त मार्ग अहिले तुलनात्मक रूपमा सुरक्षित बनेको उनीहरूको भनाइ छ । स्थानीय एक सवारी चालकले भने, “पहिले यो सडक पार गर्नु नै चुनौती थियो ।
अहिले सोलिङ भएपछि यात्रा सहज भएको छ । यस्तो कामले जनश्रमदानको शक्ति देखाएको छ ।” श्रम संस्कृति पार्टीले राज्यको पहुँच नपुगेका स्थानमा नागरिकको श्रम र सहभागिताबाट पनि आधारभूत पूर्वाधार निर्माण सम्भव छ भन्ने सन्देश दिएको छ ।
पार्टीले आगामी दिनमा पनि सोलुखुम्बुका अन्य जोखिमयुक्त सडक, सार्वजनिक संरचना र स्थानीय आवश्यकतासँग जोडिएका कामहरूलाई जनश्रमदानमार्फत अघि बढाउने जनाएको छ ।
दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा गरिएको यो सोलिङ कार्यले सडक मात्र होइन, श्रमको सम्मान, सामूहिक उत्तरदायित्व र स्थानीय विकासप्रतिको चेतनालाई मजबुत बनाएको स्थानीयले प्रतिकृया दिएका छन
















