सोलुखुम्बु, साउन ९ । सोलुखुम्बु जिल्लामा क्रियाशील बैंक, लघुवित्त तथा बीमा कम्पनीहरूका कर्मचारीहरूको सहभागितामा ‘नेपाल बैंकर्स एसोसिएसन सोलुखुम्बु’ गठन गरिएको छ । जिल्लाको सदरमुकाम सल्लेरीमा आज शुक्रबार आयोजित भेलाले चुडाराज सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा अमन बोगटी, उपाध्यक्ष बिमल राई र दोर्ण बास्तोला, सचिवमा रबिन श्रेष्ठ, सह–सचिवमा भोजराज ढकाल र सदस्यहरूमा शोभित पोखरेल, बिश्वनाथ राई, दिनेश ढकाल, जिवन चौधरी, हिरामाया तामाङ, प्रेम बहादुर लामिछाने, मनकुमारी बास्तोला र मिङमार गेल्बु शेर्पा रहेका छन् ।
यस्तै सुमन चापागाईंको संयोजकत्वमा चार सदस्यीय सल्हाकार समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरूमा छत्रकुमारी लिम्बु, सुरज श्रेष्ठ र गोपाल धमला रहेका छन् । भेलामा जिल्लामा रहेका विभिन्न बैंक, वित्तीय संस्था, लघुवित्त तथा इन्स्योरेन्स कम्पनीका ५० भन्दा बढी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नवगठित संस्थाका सचिव रबिन श्रेष्ठका अनुसार यो एसोसिएसनले बैंकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारीहरूको हकहित, संस्थागत समन्वय, सामाजिक उत्तरदायित्व तथा पेशागत समृद्धिमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य लिएको छ । नवगठित संस्था ‘नेपाल बैंकर्स एसोसिएसन सोलुखुम्बु’ले जिल्ला भित्रका बैंक तथा बीमा कम्पनीहरू बीच आपसी समन्वय, पेशागत सीप विकास, कर्मचारीबीच पारिवारिक भावना अभिवृद्धि र सामाजिक उत्तरदायित्वमा टेवा पु¥याउने गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
सचिव श्रेष्ठका अनुसार यस संस्थाले अब नियमित रुपमा कर्मचारीहरूको हकहितका सवालमा संवाद, गोष्ठी र कार्यक्रमहरू सञ्चालन गर्दै अगाडि बढ्नेछ । संस्थाका अध्यक्ष चुडाराज सुवेदीले नवगठित एसोसिएसन सोलुखुम्बुको नेतृत्व सम्हाल्दै कर्मचारीबीच ऐक्यबद्धता, आत्मबल र आत्मसम्मान अभिवृद्धि गर्ने कार्यमा आफू निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।
“वित्तीय क्षेत्र समाजको मेरुदण्ड हो, यसलाई अझ प्रभावकारी बनाउने हाम्रो साझा दायित्व हो,“ अध्यक्ष सुवेदीले उद्घोष गरे । यसैबीच, वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको अधिवेशनले पनि आजै नयाँ नेतृत्व चयन गरेको छ । तर, उक्त मञ्चको अधिवेशनप्रति असन्तुष्टि जनाउँदै जिल्लामा कार्यरत बैंक तथा बीमा कर्मचारीहरूको एक समुहले नेपाल बैंकर्स एसोसिएसन सोलुखुम्बुको गठनमा अग्रसरता लिएको बुझिएको छ ।