सोलुखुम्बु, असार १० । सोलुखुम्बुमा पहिलो पटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त विपद् व्यवस्थापन पोष्ट’ स्थापना गरेकोे छ । सोलुदुधकुण्ड नगरपालिका–७ को जोरबौद्धस्थित गार्मामा भाडामा लिइएको कार्यालयमार्फत यो विपद् पोष्ट सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार उक्त पोष्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ । हालका लागि ११ जनाको सुरक्षाकर्मी टोलीले २४ सै घण्टा सेवा दिने गरी ड्युटी व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताए ।
“मानिस, सामग्री र संयन्त्र सबैको तयारी भएको छ । सूचना प्राप्त भएको केही मिनेटमै उद्धार टोली परिचालन गर्न सक्ने संरचना तयार पारिएको छ ।” प्रजिअ घिमिरेले भने । मनसुनको उच्च जोखिम हुने तीन महिना (असार, साउन र भदौ) लाई लक्षित गरी हाललाई यो पोष्ट भाडामा लिइएको घरबाट सञ्चालन गरिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएकोे छ । भविष्यमा यसलाई थप सुदृढ, संस्थागत र स्थायी बनाउने प्रशासनको योजना छ । “अहिलेको लागी त प्रारम्भिक चरण हो, तर यो रणनीतिक अभ्यास भविष्यमा जिल्लाका सबै पालिकाहरूमा लागू गर्न सकिनेछ ।” प्रजिअ घिमिरेले थपे । पोष्टको स्थान चयनमा पनि विशेष सोच पु¥याइएको देखिन्छ । सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान, माप्यदूधकोशी, महाकुलुङलगायतका पालिकामा पुग्न सहज पर्ने मुख्य सडक नजिकैको क्षेत्र भएकाले गार्मा बजारलाई पोष्टको केन्द्र बनाइएको हो ।
“यस स्थानबाट कुनै पनि दिशातिर उद्धार टोली पठाउन सजिलो हुन्छ, त्यसैले यहाँको भूगोल र यातायात पूर्वाधारलाई ध्यानमा राखेर पोष्ट राखिएको हो ।” सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेलले भने । पोष्टमा सुरक्षाकर्मी मात्र होइन, विपद् उद्धारमा प्रयोग हुने आवश्यक सम्पूर्ण सामग्री डोरी, ट्रोली, स्ट्रेचर, सुरक्षा पोशाक, टर्चलगायत आवश्यक बन्दोबस्तीका सबै वस्तुहरू राखिएको छ ।
यति मात्र होइन, उद्धार टोलीलाई तत्काल घटनास्थल पुग्न सक्ने गरी एउटा गाडी पनि स्ट्यान्डबाइमा राखिएको छ । विपद् व्यवस्थापन पोष्टमा सूचनाको तत्कालीकता अत्यन्तै महत्वपूर्ण हुने भएकाले यो पोष्टलाई छुट्टै मोबाइल नम्बरमार्फत २४ सै घण्टा सूचना प्राप्त गर्न मिल्ने बनाइएको छ ।
स्थानीय तह, सुरक्षाकर्मी र जनप्रतिनिधिबीच समन्वयात्मक अभ्यास सुरु
यो पोष्टमार्फत मात्र कार्यान्वयन नभएर, जिल्लाभरि रहेका स्थानीय तहका विपद् समितिसँग पनि प्रत्यक्ष समन्वय गर्ने कार्य प्रारम्भ भइसकेको छ । प्रजिअ घिमिरेका अनुसार प्रत्येक पालिकाबाट विपद् प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाउने र तालिम प्रदान गरेर एकीकृत प्रणाली विकास गर्ने दीर्घकालीन उद्देश्य रहेको छ ।
नेपालका अधिकांश ग्रामीण जिल्लाहरूमा विपद् व्यवस्थापन सधैंपछि सोचिने विषय बनेको छ । तर सोलुखुम्बुमा यो पोष्टको स्थापना समुदायमै जान सक्ने, प्रत्यक्ष सहायता पु¥याउन सक्ने र द्रुत प्रतिकार्य दिन सक्ने नमुना अभ्यास बन्न सक्ने सल्लेरीका महेश अधिकारीले बताए । “पहिलोचोटि यस्तो संरचना बनेको छ, अब विपद् परेमा कम्तीमा राज्यको उपस्थिति महसुस हुने भयो,” अधिकारीले भने ।