spot_img

‘जोसँग नारायण गोपालले गीत गाउन चाह गरे’

spot_img

काठमाडौं । उखानै छ नि, ‘ज्यान बूढो भए पनि मन बूढो हुँदैन’ यो उखानको भाव वरिष्ठ गायिका ज्ञानु राणाको जीवनमा मिल्दो छ । २००६ सालमा काठमाडौंको ठमेलमा जनकेशरी धर्मराज थापाको पहिलो सन्तानको रूपमा जन्मेकी ज्ञानुको उमेर ७२ बर्ष पुगे पनि उत्तिकै ऊर्जासहित गीत गायनमा सक्रिय छिन् । उनी भन्छिन्, ‘उस्तै स्वर छ भने किन नगाउँ ? भन्ने नै हो । बाँचुञ्जेल अपनाएको क्षेत्रमा स्वर र स्वास्थ्यले साथ दिउञ्जेल नै सक्रिय हुन्छु ।’

Advertisement

ज्ञानुले बाबा धर्मराज थापाको गीत ‘जानी कहाँ हो राजै, बाटो देखाइदेऊ’ बाट गीत गायन सुरु गरेकी हुन् । सो गीत रेडियो नेपालमा गाएपछि २० रुपैयाँ पारिश्रमिक पाएको अझै सम्झन्छिन्, उनी । भन्छिन्, ‘पहिलो गीतमै मैले २० रुपैयाँ पाएकी थिएँ । त्यो बेलाको खुसीको कुरै नगर्नु ।’ करिब ३ हजार गीतमा स्वर रेकर्ड गराएकी ज्ञानुले गीत रेकर्ड गराएबापत बढीमा १० हजारसम्म पारिश्रमिक बुझेकी छिन् ।

Advertisement
gyanu111

उनी अहिले पनि रेकर्डिङमा सक्रिय छिन् । पछिल्लो पटक ‘मेरो लोभी आँखाले’ र ‘जाउँ कहाँ मन मेरो’ सहित भजन गीत गाएकी छिन् । उनले गाएका हजारौँ गीतमध्ये अधिकांश लोकलयका छन् । उनको स्वर र गायकीबाट प्रभावित बनेका स्वरसम्राट् नारायणगोपालले समेत गीत गाउन गरेको अफर ज्ञानु अझै सम्झिन्छिन् । ‘एकदिन नारायणगोपालज्यूले मलाई तिमीसँग गीत गाउँछु, त्यसको लागि युगल गीत बाबासँग मागेर ल्याउनु भन्नुभयो । म त खुसीले गद्गद् ! बाबालाई गीत लेख्न आग्रह गरे । बाबाले गीत लेखिदिनुभयो । त्यो बेला हामीले ‘शिरिमा शिरिमा कान्छा’ बोलको गीत गायौं ।’ उनले भनिन् । जुन गीत लोकप्रिय बन्यो ।

Advertisement

ज्ञानु राणाको संगत नारायणगोपालसँग मात्र हैन, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, द्वारिकालाल जोशी, पाण्डव सुनुवार, कुमार बस्नेतलगायतका गीतकार, संगीतकार र गायकसँग संगत थियो । अहिले कुमार बस्नेत बाहेककाको निधन भइसकेको छ । उनले गाएको ‘शिरिमा शिरी’, ‘च्याङ्बा होई च्याङ्बा’, ‘मान्छेको माया’, ‘चौतारीमा’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘राम साइँला’, ‘भीमेश्वरको मेला’ लगायतका सयौं गीत लोकप्रिय छन् ।

उनको खास नाम योगमाया थापा हो । उनी ज्ञानी स्वभावको भएर पनि परिवारमा मायाले ज्ञानु भन्न थालियो । पछि सोही नाम गायिकाको रूपमा लोकप्रिय बन्यो । राणा परिवारमा विवाह गरेपछि ज्ञानुको पछाडि राणा पनि थपियो । उनलाई कर्मघरबाट गीत गायनमा निकै गाह्रो भो । उनी भन्छिन्, ‘राणा परिवारमा गएपछि म माथि कन्ट्रोल गर्न थालियो । तर मेरो मनमा गीतप्रतिको श्रद्धा थियो । संगीतप्रतिको माया मोह थियो । कतिपय अवस्थामा झुटो बोलेर पनि रेडियो नेपाल पुग्थे । रेकर्डिङको आशमा म रेडियो नेपाल जान्थे ।’ परिवारले गीत बौलाहाको पदवी दिएको उनी सम्झिन्छन् । गाउन नछाडेपछि श्रीमान् पनि नियन्त्रण गर्न छाडेको ज्ञानुको भोगाइ छ ।

नेपाली कलाकारमा अनुशासनको कमी रहेको गायिका राणाको बुझाइ छ । ‘पछि संगीतमा आएकाले अग्रजलाई सम्मान गर्ने बानी निकै कमजोर छ । अन्य देशमा अग्रज कलाकारलाई दिइने सम्मान र इज्जत फरक छ ।’ उनले भनिन्, ‘नेपालमा राज्यले पनि कलाकारलाई खास वास्ता गर्दैन् ।’ उनले गाएका थुप्रै गीत रिमेक गरिएको छ । तर उनलाई एक पटक सोधिएको छैन । सम्बन्धित कलाकारलाई एक वचन पनि नसोध्नु र गीत रिमेक गर्नु गलत भएको ज्ञानु बताउँछिन् ।

कुराकानीको क्रममा ‘च्याङबा होई च्याङ्बा’ र ‘चौतारीमा’ बोलको गीत खुलेर गाइन् । ७२ वर्षको उमेरमा पनि उनको गायकीमा कुनै खोट लगाउने ठाउँ भटिन्नथ्यो । ज्ञानुले उही ऊर्जा र स्वरसहित गीत सुनाइन् । पछिल्ला लोक तथा दोहोरी गीत पनि ज्ञानुले सुन्छिन् तर उनलाई कमेन्ट गर्न मन लाग्दैन । उनले भनिन्, ‘वास्तविक भाकाहरू रेकर्ड भएका छैनन् । कोठामा तयार पारिएका भाकाहरू मात्र बजारमा छन् । गाउँगाउँको लोकगीत आउन छाड्यो ।’

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै