spot_img

बालमैत्री भविष्यको उज्यालो शुरुवात गार्माबाट !

spot_img


सोलुखुम्बु, असार १ । बिहानीको चिसो हावासँगै सोलुदुधकुण्ड नगरपालिका–७, गार्मामा बालबालिकाको हाँसो गुन्जियो । विद्यालयको आँगनदेखि गाउँको चोकसम्म, घरको ढोकादेखि वडा कार्यालयको गेटसम्म, त्यो दिन गार्मामा एक फरक उत्सव थियो । उत्सव बालमैत्री घोषणाको, उत्सव इतिहास रचिएको क्षणको । पहाडी भेगको एक सामान्य वडाले असामान्य इतिहास कोरेको छ, सोलुखुम्बुकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बनि । जहाँ नीति, व्यवहार र सोचको केन्द्रमा अब बालबालिका छन् ।

Advertisement

एक यस्तो वडा जहाँ बाल अधिकार अब भाषणको विषय होइन, शासनको व्यवहार बन्न पुगेको छ । गाउँका बालक बिनोदले आमासँगै खाजा खाँदै भने, “हामी अब विशेष भएका छौँ है !” उनका आँखामा थियो गौरव, त्यो बालमनोविज्ञान जुन कागजी योजनाभन्दा धेरै गहिरो हुन्छ । गार्मामा त्यही गर्व बिहीबार देखियो । अभिभावकको अनुहारमा, शिक्षकको आवाजमा र जनप्रतिनिधिको सम्बोधनमा । यो यात्रा सहज थिएन ।

Advertisement

सन् २०६८ बाट नेपालमा सुरु गरिएको बालमैत्री स्थानीय शासन अवधारणालाई व्यवहारमा उतार्न ५१ सूचकहरू निर्धारित गरिए । जसमा गार्माले ५० वटा अर्थात् ९८ प्रतिशत सूचक पुरा गरेर यो उपाधि हासिल गरेको हो । यो उपलब्धि साना शब्दमा वर्णन गर्न गाह्रो छ, किनभने यसले सिङ्गो सोचलाई रूपान्तरण गरेको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यमा बिहिबार आयोजित घोषणासभामा गार्मालाई बालमैत्री वडा घोषणा गरियो ।

Advertisement

प्रमुख निरौलाले स्पष्ट शब्दमा भने, “बालमैत्री सोच राख्ने समाज नै समृद्ध राष्ट्र निर्माणको जग हो ।” यो वाक्य केवल भाषणको अंश होइन, यो त्यो यात्राको संकेत हो जहाँ बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा, सिर्जनशीलता र सहभागितालाई स्थानीय शासनले आफ्नो नीति निर्माणको मुख्य आधार बनाएको छ । सोलुदुधकुण्ड नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाइले धेरै कुरा खोलिदियो, “सामाजिक संरचनामार्फत बालमैत्री संस्कृतिको प्रवद्र्धन गर्दै गार्माले अन्य वडाहरूका लागि अनुकरणीय अभ्यास प्रस्तुत गरेको छ ।” यो भनाइले गार्माको त्यो साझा मञ्च देखाउँछ, जहाँ विद्यालय, अभिभावक, युवा क्लब, बाल सञ्जाल र वडास्तरीय निकायहरू एकसाथ आएका छन् शब्दमा होइन, व्यवहारमा ।

विद्यालयमा बालमैत्री पूर्वाधार, छात्रमैत्री शौचालय, पोषणयुक्त खाजा, बाल अधिकारबारे अभिमुखीकरण, तथा जनचेतनामूलक कार्यक्रमहरूले यो अभ्यासलाई जीवन्त बनाएका छन् । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले भन्नुभयो, “बालबालिकामा लगानी गर्नु भनेको राष्ट्रका लागि वर्षौ वर्षका लागि लगानी गर्नु हो, त्यसैले गार्माका जनप्रतिनिधिले चालेको यो कदमले पहाडी भेगकै जनप्रतिनिधिहरुमा अत्यन्त सकरात्मक सन्देश प्रवाह भएको छ, यो गरिमालाई जोगाउन हामी सबै लाग्नुको विकल्प छैन् ।”
संवेदनशील नेतृत्व, साझा सफलता
वडाध्यक्ष सोनाम ग्याल्जन शेर्पाको शब्दमा गर्व मात्र थिएन, जिम्मेवारीको गहिरो बोध पनि थियो । “यो उपलब्धि कसै एक व्यक्तिको होइन, वडाबासी, शिक्षक, बालबालिका, अभिभावक र सरोकारवालाको साझा प्रयासले सम्भव भएको हो ।” उनको भनाइ केवल प्रशंसा होइन, नेतृत्वको दृष्टिकोण हो । जहाँ सूचक पुरा गर्नु मात्र होइन, त्यसलाई संस्कार र संस्कृतिमा रूपान्तरण गर्नु प्राथमिकता हो।

वडा सदस्य भलाकाजी कार्कीको सतत सक्रियता र रणनीतिक समझदारी पनि यस सफलताको मूल रहस्य हो । उपप्रमुख गान्धी माया तामाङले वडाले इतिहास रचेको उद्घोष गर्दै भनिन्, “सोलुखुम्बु जिल्लाका ५२ वडामध्ये गार्मा पहिलो बालमैत्री वडा बन्न सफल भएको छ ।

यो उपलब्धि सिङ्गो नगरकै गौरव हो ।” उनको आवाजमा त्यो आत्मविश्वास थियो, जुन नारी नेतृत्व र समावेशी सहभागिताबाट फुत्किएको हो । बालमैत्री शासन अब टाढाको सपना होइन, गाउँकै आँगनमा उभिएको यथार्थ हो ।
नयाँ पुस्तालाई केन्द्रमा राखिएको अभ्यास
गार्माका ५१३ घरधुरीका २४६६ नागरिकहरू बालमैत्री सोच, व्यवहार र अभ्यासमा सहभागी छन्। एक जनसांख्यिक दृष्टिले हेर्दा यो संख्या ठुलो होइन, तर यसको प्रभावको व्यास अत्यन्त विशाल छ । स्थानीय कुमारी विश्वकर्माले भावुक हुँदै भनिन्, “पहाडी भेगमा यस्तो सूचक पुरा गर्नु सजिलो थिएन । तर नेतृत्वको दृढ इच्छाशक्ति र सामूहिक मेहनतले यो सम्भव भयो ।” उनको शब्द केवल एक आम महिलाको उत्साह होइन, त्यो परम्परागत समाजको सोच परिवर्तन भएको प्रमाण हो ।
फेरिएको शासनको अनुहार
गार्माले प्रस्तुत गरेको बालमैत्री अभ्यास केवल शासनको ढाँचा परिवर्तन होइन, यो शासनको आत्मा परिवर्तन हो । अब यहाँ निर्णय प्रक्रियामा बालबालिकाको आवाज सुन्ने थालिएको छ । बजेट विनियोजनमा बालबालिकालाई प्राथमिकतामा राखिएको भने सामाजिक संरचनामा उनीहरू केन्द्रबिन्दु बनेका छन् ।

बिहीबार गार्माको आकाशमा कुनै झिल्के आतिशबाजी थिएन, तर बालबालिकाको अनुहारमा उल्लास थियो । गार्मा अब केवल सोलुखुम्बुको एउटा वडा होइन, यो बालमैत्री नेपालको पहाडी भेगकै एउटा सन्देशवाहक वडा पनि हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै