भदौ ३, सोलुखुम्बु । हाट बजारमा बिक्रीका लागि ल्याइएको निगरो खरिद गरे उपभोग गर्ने हामी जोकोहीको ध्यान स्वाद र मुल्यमा मात्रै केन्द्रित हुन्छ भन्दा फरक नपर्ला । तर गाउँघरका न्यून आयस्तर भएकाहरुले त्यही निगुरो बिक्री गरेर जिन्दगी धानिरहेका छन् भन्दा तपाईलाई अपत्यारिलो लाग्न सक्छ, तर वास्तविकता त्यही हो ।
सोलुदुधकुण्ड नगरपालिका ७ गार्माकी राम माया सुनुवार सोलुखुम्बु सदरमुकाम सल्लेरी स्थित सप्ताहिक हाट नयाँ बजारको एक कुनामा बसेर निगुरो बेच्दै थिइन् । उमेरले ५० वर्ष पार गरिसकेकी राम मायाको ध्यान कसरी घरखर्च जुटाउने भन्नेमै केन्द्रित देखिन्थ्यो । हाट बजारमा आएका अन्य व्यापारी तथा क्रेताहरु रमझम तथा ठट्टा गर्दै व्यापार गर्दै थिए भने राम मायाको अनुहारमा खासै चमक देखिदैन थियो ।
उनको ध्यान मात्रै कसरी निगुरो बिक्री गरिसक्ने भन्ने थियो । नजिकै बोरा भरी निगुरोको साग राखेर ग्राहक कुरेर बसेकी राम माया भन्दै थिइन्,‘खै अझै बेच्न बाँकी यत्ति धेरै छ, कहिले सक्नु, झन आज छिटो घर फर्किनुप¥यो भनेको व्यापार नै भएन्, आज त झन १०० रुपैयाँको पनि बेच्न सकिएन, के गर्नु र….।’
चारकोशे झाडीमा उम्रने निगुरोको साग बेचेरै राममायाले घर व्यावहार धान्ने गर्छिन् । उनको घरमा कमाउने मान्छे कोही छैनन् । उनले बिहिबार र शुक्रबार दुई दिन जंगल तथा खोलाखोल्सीमा गएर निगुरो टिप्छिन भने सोही निगुरो शनिबार हाटमा ल्याएर बिक्री गर्ने गर्छिन् । तिन छोरा र दुई छोरीकी आमा राममायाले घर चलाउन सकस भएपछि करिब ३ वर्ष अघि हुर्किएका जेठो छोरालाई विदेश पठाईन् ।
धन कमाउला र सुखसँग राख्ला भनेर ऋण काँडेर साउदी पठाएका छोरा उतै अस्ताएपछि राममायालाई झनै पीडा थपिएको छ । गहभरी आँसु पार्दै उनले भनिन,‘बढेको छोराले केही गर्ला र मलाई सुख देला भनेर साउदी पठाए, दुनियाभर ऋणपात गरेर छोरा विदेश पाए, तर त्यो गएको केही दिनमै गाडी दुर्घटनामा म¥यो, त्यो मरेपछि मेरो आँखा ओभाएको छैन् अरु छोराहरु सानो छन् भएको एउटा ठुलो भएको छोरा वितिगयो, म दुखीको को नै छ र अब ?’ घर धान्नकै लागि निगुरोमा भर पर्नु राम मायाको रहर नभई बाध्यता हो ।
निगुरो बिक्री गरेर खाईनखाई जसोतसो जोहो गरेको रकमले राम माया छोराछोरी पढाउनदेखि घर व्यावहार समेत धान्ने गर्छिन् । तर दिनानुदिन आकाशीदो महँगीले भने उनलाई झस्काउने गर्दछ । ‘चामल पनि ३ हजार पुग्न लाग्यो बोराको महँगी बढेको बढ्यै छ, हाम्रो निगुरो चै मुठाको १० रुपैयाँमा पनि किन्दैनन् तर अरु सामानको भाउ च यति धेरै बढेको छ, के गरेर गरी खाने हो खै’ लामो सुस्केरा हाल्दै उनले भनिन् ।
विहान उज्यालो नहुँदै जंगल तथा खोलाखोल्सीमा पुग्ने राममाया साँझ परेपछि मात्रै जंगलबाट फर्किने गर्छिन् । आफु अशक्त रहेकाले पटक पटक घरबाट आउजाउ गर्न नसक्ने भएकाले निगुरो टिप्न विहानै घरबाट हिड्ने र बेलुका मात्रै घर फर्कने गरेको राम मायाको भनाई छ ।