spot_img

स्थापितले बालेनलाई भने- बिहानै मुड यस्तो खराब छ, कसरी मेयर चलाउँछौ !

spot_img

काठमाडौंका मेयर बालेन शाह बुधबार बिहानै स्थानीय निर्वाचनका आफ्ना प्रतिस्पर्धी तथा पूर्वमेयर केशव स्थापितलाई भेट्न चुच्चेपाटीस्थित उनको निवास पुगे।

Advertisement

मेयर निर्वाचित भएपछि बालेन पहिलोपटक स्थापितलाई भेट्न गएका हुन्।

Advertisement

‘म त ध्यान गर्ने तयारीमा थिएँ। श्रीमतीले बालेन आएको छ भनिन्,’ स्थापितले सेतोपाटीसँग भने, ‘मैले उनलाई डाकेको पनि होइन। बिहान ढोका ढक्ढक्याउँदै आइपुगे। मैले कफी खुवाएँ।’

Advertisement

बालेनले उम्मेदवार बन्नुअघि पनि स्थापितसँग कुराकानी गरेका थिए। निर्वाचन प्रचारप्रसार क्रममा पनि दुई जनाको भेट भएको थियो। बालेनले आशिर्वाद मागेका थिए। स्थापितले ‘सफल इन्जिनियर भव’ भने।

निर्वाचनकै बेला बालेनलाई ‘फटाहा’ भन्नधरि स्थापित पछि परेका थिएनन्। जवाफमा बालेनले ‘आफ्नो प्रचार गरिदिएको’ भन्दै स्थापितलाई ‘ब्रान्ड एम्बेसडर’ को पगरी थमाइदिए।

चुनावदेखि नै यस्तो नोकझोंक चलिरहेका बालेन र स्थापितबीच बुधबार करिब एक घन्टाको कफी वार्ता भयो।

‘मैले अबदेखि सोधेर आउने चलन चलाउनू, बाटोबाटै आउने होइन भनेको छु,’ स्थापितले भने, ‘विषय किटान गरेर आउनुपर्छ। अनुमति लिनुपर्छ। कार्यालयमा चिट काटेर आएजस्तो होइन। यो त मेरो घर हो, दिस इज माई हाउस भनेँ।’

बालेन सुरूमा सोफाको पल्लो छेउमा बसेको र पछि आफूले सँगै बसालेको स्थापित बताउँछन्।

‘उनी सोफाको पल्लो छेउमा बसेका थिए, मैले मेरै छेउमा बस भनेँ,’ स्थापितले भने, ‘कालो कफी खुवाएँ। पाकेको ‘अन्डा खाऊ’ भनेको, खाएनन्। बालेनसँगै आउनेले चाहिँ खाए।’

स्थापितका अनुसार झन्डै एक घन्टा बसे पनि बालेन खासै बोलेनन्। सँगै आएका उनको सचिवालयका व्यक्तिहरूले धेरै जिज्ञासा राखेको स्थापितले बताए।

धेरैजसो जिज्ञासा फोहोर व्यवस्थापन, महानगरको बागदरबार कार्यालय नयाँ बनाउने कि रेट्रोफिट गर्ने, फुटपाथ पसल कसरी व्यवस्थापन गर्ने लगायत विषयमा केन्द्रित थिए।

‘फोहोर व्यवस्थापनको कुरा गर्न खोजेको मैले बुझेँ। आसय बुझेर मैले यो मेरो काठमाडौं हो, म मेरो काठमाडौं सुध्रिएको हेर्न चाहन्छु भनेर भनेँ। तीन महिनाभित्र काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिन्छ भनेर सुनाएँ,’ स्थापितले भने।

यति भनेपछि बालेनले ‘कसरी जाऊँ त’ भनेर सोधेछन्।

स्थापितले भनेछन्, ‘अहिले तिमी हिँडेको बाटो गलत छ। तिमी उल्टो बाटो गइरहेका छौ। यसले तिमीलाई गलत ठाउँमा पुर्‍याउँछ। बाटो सच्याएर अगाडि बढ्नू।’

त्यसपछि फोहोर व्यवस्थापनमा कसरी अघि बढ्ने भनेर सुझाव दिएको स्थापितले बताए।

बालेनलाई दिएको सुझाव उद्धृत गर्दै उनले भने, ‘काठमाडौंको शतप्रतिशत फोहोर व्यवस्थापन निजी क्षेत्रले गरिरहेको छ। कसले कहाँ फोहोर संकलन गर्छ भन्ने महानगरसँग रेकर्ड छैन। एउटा घरको पनि फोहोर महानगरले उठाउँदैन।’

उनले अगाडि भने, ‘महानगरले कुहिने र नकुहिने फोहोरको डस्टबिन छुट्याउने भनेको छ। तर फोहोर छुट्याउने ठाउँमा महानगरको पहुँच छैन। निजी क्षेत्रले काम गरिरहेको ठाउँमा प्रवेश गरेर ‘डस्टबिन’ दिन्छु भनेर हुन्छ? डस्टबिन फ्याक्ट्री कता छ? कसले बाँड्ने हो? महानगरको बजेटमा पनि यो कुरा छैन। त्यसैले यो विषयमा प्रवेश नगर। निजी क्षेत्र जसले काम गर्छ, उसलाई सम्मान गर।’

महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन निजी क्षेत्रलाई नै प्रस्ताव राख्नुपर्ने स्थापितको सुझाव थियो।

‘निजी क्षेत्रका २० देखि २२ वटा कम्पनीले फोहोर उठाइरहेका छन्। उनीहरूलाई फोहोर छुट्याउन र मल कारखाना स्थापना गर्न ५ करोड रूपैयाँका दरले ऋण दिऔं, अनुदान होइन। यति गर्न सक्यो भने उनीहरू आफैं फोहोर छुट्याउँछन् र कुहिने फोहोरबाट मल बनाउँछन्। फोहोरमैलामा निजी क्षेत्रले संगठित ढंगले काम गरिरहेका छन्। महानगरले उनीहरूलाई नै सम्मानका साथ काममा लगाउनुपर्छ,’ स्थापितले भने।

उनले फोहोरमैलाको परिमाण कम गर्न टेकुको संकलन केन्द्र (ट्रान्सफर स्टेसन) मा ‘हाइड्रोलिक कम्प्रेसर’ प्रयोग गर्न सुझाएका छन्। एउटा इनारजस्तो बनाएर त्यसमा कम्प्रेस गरेपछि फोहोर १० प्रतिशतमा झर्ने उनको भनाइ छ।

‘यसरी कम्प्रेस गरेपछि फोहोरको चक्का बन्छ,’ उनले भने, ‘बजारको छ महिनाको फोहोर कम्प्रेस गर्दा एक महिनाको जति मात्र हुन्छ। त्यसले प्रेसर घट्छ। चाहिएका बेला त्यसबाट फोहोर छुट्याउन सकिन्छ।’

टेकुको ट्रान्सफर स्टेसन वरपरका ५० घरजति जग्गा अधिग्रहण गर्न पनि स्थापितले सुझाएका छन्।

‘टेकुमा पहिला फोहोरमैला राख्ने ठाउँ बनाउँदा घर थिएनन्। पछि सस्तो जग्गा किन्दै मान्छेहरूले घर बनाए। त्यहाँको ५० वटा घर अहिलेको बजार मूल्यमा अधिग्रहण गर्नुपर्छ। अनि त्यो ठाउँ प्लास्टिकबाट ‘ऊन’ बनाउने कम्पनीलाई भाडामा देऊ। मल बनाउने कम्पनीलाई भाडामा देऊ। मेटल उद्योग, कागज उद्योगलाई त्यहीँभित्र काम गर्न देऊ। निजी क्षेत्रलाई भाडामा दियो भने महानगरको लगानी पनि उठ्छ,’ उनले भने।

टेकुमा हेटौंडा-काठमाडौं रोपवेको ३० रोपनीजति जग्गा भएकाले त्यसलाई प्रयोग गर्न सकिने स्थापितको भनाइ छ।

‘त्यो सरकारी जग्गा हो। त्यहाँ ठूलो टहरा पनि छ। त्यो ठाउँमा अहिले नै निजी कम्पनीलाई मल कारखाना सञ्चालन गर भनेर भाडामा दिन सकिन्छ। त्यही ठाउँमा फोहोरलाई हाइड्रोलिक कम्प्रेसन गर्न सकिन्छ। नेपाल सरकारबाट निर्णय गराएर त्यो जग्गा महानगर मातहत ल्याउने हो भने फोहोर भण्डारण गर्ने ठाउँ बन्छ। यति सबै गरेपछि बचेको फोहोर मात्र ल्यान्डफिल साइट लैजाने हो। त्यसो गर्दा अहिलेको फोहोरको पाँच प्रतिशत मात्र सुख्खा रूपमा डम्पिङ साइटमा जान्छ। यो तीन महिनामै पूरा हुने काम हो,’ स्थापितले बालेनलाई दिएको सुझाव सुनाए।

उनले अगाडि भने, ‘फोहोरमैला व्यवस्थापन गर्न महानगरलाई स्रोतको अभाव छैन। दस अर्ब रूपैयाँ विद्यासुन्दर शाक्यले राखिदिएका छन्। त्यसैमध्ये दुई अर्ब फोहोरमा लगानी गर्दा हुन्छ।’

सिसडोल ल्यान्डफिल साइटको फोहोरबाट पनि प्लास्टिक निकाल्न सकिने र व्यवस्थापन गरेर पार्क बनाउन सकिने उनले बताए।

‘सिसडोलमा पार्क बनाएर स्थानीय जनतालाई उपहार दिने हो भने तिमी त्यहाँको हिरो भइहाल्यौ नि,’ स्थापितले बालेनलाई भने, ‘गर्नुपर्ने काम यही हो। मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन। घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन। काठमाडौंले यस्तो मान्छे खोजेको होइन।’

कुराकानी क्रममा बालेनले कुनै टिपोट गरेनन्। उनी पूरै अवधि मुठ्ठी बाँधेर मौन बसे। सँगै आएकाहरूले नै धेरैजसो प्रश्न सोधेका थिए।

सुकुम्बासी व्यवस्थापन कहाँ, कसरी गर्ने भनेर पनि उनीहरूले प्रश्न गरे। स्थापितको जवाफ थियो, ‘खोलाछेउका कतिपय ठाउँ मैले खाली गराएको हो। मैले धेरै जनासँग संवाद गरेको पनि हो। तर सुकुम्बासीको विषय बुझेको छैन भने अहिले त्यसमा हात नहाल।’

फुटपाथ पसल व्यवस्थापनका लागि आफूले महानगरपालिकामा छँदा गराएका अध्ययन हेर्न सुझाव दिएको उनले बताए।

‘फुटपाथ कसरी व्यवस्थापन गर्ने भनेर मैले महानगरपालिकामा छँदा २०-३० वटा अध्ययन गराएको थिएँ। त्यसको रिपोर्ट महानगरमै होला। खोजेर अध्ययन गर्नू,’ स्थापितले बालेनलाई भने, ‘रिपोर्टले भनेबमोजिम एप्रोज समाउनू।’

आफूले विभिन्न विषयमा सल्लाह-सुझाव दिँदा पनि बालेन सुन्ने र अमल गर्ने मुडमा नदेखिएको स्थापितको बुझाइ छ।

‘मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ,’ उनले भने, ‘ऊ भरिभराउ भएर आएको थियो। यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो।’

उनको यस्तै मुड देखेर ‘तिम्रो काम गर्ने शैली भएन’ भन्दै आफूले हप्काएको पनि स्थापितले बताए।

‘यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु,’ स्थापितले भने, ‘मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’

कुराकानी क्रममा बालेनका सहयोगीहरूले पछिल्लो समय उठेका आलोचनाको प्रसंग पनि झिकेको स्थापितले जानकारी दिए। खासगरी बालुवाटारमा मकै पोल्ने व्यवसायीका सामान नगर प्रहरीले जबर्जस्ती खोसेर लगेको घटनामा भएको आलोचनाबारे उनीहरू स्थापितको राय सुन्न चाहन्थे।

जवाफमा स्थापितले भने, ‘सहरी गरिबले कुनामा बसेर मकै बेचेर के हुन्छ? आइसक्रिम बेचेर के हुन्छ? सैलुङको आलु ल्याएर भुटेर बेचे पनि हुन्छ। तिमीले त बरू १० हजार जनालाई रोजगारी दिन्छु भन न। यसको निम्ति लगानी गर र उनीहरूबाट दैनिक पैसा उठाऊ। मकै पोल्न दस हजारवटा आधुनिक मेसिन ल्याऊ। ब्रिकेटबाट पोल्न मिल्ने, धुवाँ नआउने मेसिन हुन्छ। त्यस्तो मेसिनले आफैं हावा दिन्छ। मकैको खोयाबाट ब्रिकेट पनि बनाउन मिल्छ। त्यस्तो मेसिनबाट मकै पोल्ने व्यवस्था गराऊ।’

स्थापितले यो पनि भने, ‘मकै भनेको सामान्य मान्छेले बेच्ने र सामान्य मान्छेले खाने कुरा हो। बाटोमा हिँड्दा मकै किनेर खान नपाउने भन्ने पनि हुन्छ? तर मूल सडकमा त्यस्तो व्यवसाय गर्न नदेऊ। व्यवस्थित बनाऊ। सुरक्षित र स्वस्थ बनाउने संयन्त्र खडा गर। अनि यस्तो व्यवसायमा शारीरिक अपांगता भएकालाई प्राथमिकता देऊ।’

काठमाडौं महानगरको कार्यालय रहेको बागदरबार भत्काएर नयाँ बनाउने कि रेट्रोफिट गर्ने भन्ने बालेनको प्रश्नमा आफूले नयाँ बनाउन सुझाव दिएको स्थापितले बताए।

‘अहिले रेट्रोफिट गर्ने कुरा आएको छ। उसले पनि केही मान्छेको कुरा सुनेको रहेछ। इञ्जिनियर टोलीको कुरा होला,’ स्थापितले भने, ‘त्यो बागदरबारको घर नै इञ्जिनियरिङ हिसाबले फेलियर हो। त्यो घरमा गेटबाट छिर्नासाथ सिँढी राखिएको छ। दायाँ र बायाँ जान घुम्नुपर्छ। जबकि सिँढी त सबै दरबारमा गेटबाट छिरेपछि अन्तिममा आउँछ। कोठा सबै अँध्यारो र चोक मात्र उज्यालो छ। त्यसको स्ट्रक्चर पनि सबै ठाउँमा चर्किएको छ। रेट्रोफिट गरेर काम छैन। त्यसैले कानुनी उपाय गरेर नयाँ भवन बनाउनुपर्छ। बरू नयाँ भवन बनाउँदा सांस्कृतिक खालकै बनाऔं।’

उनले काठमाडौं महानगरको ठिक अगाडि रहेको ११ रोपनी जग्गा अधिग्रहण गर्न पनि सुझाव दिएका छन्। त्यहाँको जग्गा अधिग्रहण गर्ने हो भने दुईवटा राम्रो भवन बनाएर सबै कार्यालय राख्न सकिने स्थापितको भनाइ छ।

‘पछाडिको घरमा चाहिँ मेयरको अफिस हुन्छ,’ उनले भने, ‘अहिले एउटा कुनामा एउटा अफिस र अर्को कुनामा अर्को अफिस छ। यसले सुशासन दिँदैन। मेयरले के काम भइरहेको छ भनेर देख्ने अवस्था पनि छैन। सबै कार्यालय एकै ठाउँमा राख्ने व्यवस्था गर्नुपर्छ।’

बालेनलाई आफूले प्रतिवाद नगर्न सुझाव दिएको पनि स्थापितले बताए।

‘प्रतिवादमा नजाऊ, मेयरको क्षमता भनेको प्रतिवाद गर्ने होइन,’ स्थापितले भने, ‘मैले सभ्य समाजमा घरघर छिर्ने चलन हुँदैन भनेको छु। तर आएपछि कुरा गर्ने मुडमा आउनुपर्थ्यो।’

उनले बालेनलाई भनेछन्, ‘टुडे यू आर नट इन गुड मुड। बिहानै यस्तो छ भने कसरी मेयर चलाउँछौ!’

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै