२०७९ भदौ १६  
spot_img
spot_img

भोलि उज्वल बनाउन आज संघर्षरत छु : गायक कुमार प्रयास

spot_img

‘हिम्पी’ संगीत पारखीको लागि नया“ शब्द हो । थुलुङ, राई समुदायको भाषामा ‘कान्छी’लाई ‘हिम्पी’ भन्ने गरिन्छ । सोही शब्दलाई गायक कुमार प्रयासले गीतमा प्रयोग गरेका छन् ।

रंकाशु स्टुडियोमा रेकर्ड गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ देवेश राईले गरेका छन् । सुरज तामाङको निर्देशनमा तयार नग्मा श्रेष्ठ, सञ्जीव नाछिरिङ र कुमार प्रयासले अभिनय गरेका छन् । सरल कथामा प्रस्तुत गरिएको गीतको भिडियोमा गीतको भावअनुसार वियोगलाई प्रस्तुत गरिएको छ । विशाल थापाले छायांकन गरेको भिडियो सम्पादन सनम मगरले गरेका हुन् ।

सोलुखुम्बुको लोखिममा जन्मेका गायक प्रयासले यसअघि पनि आधा दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । उनका ‘ऋणै ऋणको भारी बोक्दै’, ‘मिठुको भट्टी पसल’, ‘जूनको आ“सु’,‘प्रवेश निषेध’लगायतका गीत दर्शक श्रोताले मन पराएका छन् । उनको कम्पोजिसनमा ‘परेलीको बाटो हुँदै’ बोलको गीत गायिका श्रेया राईले गाएकी छिन् ।

गीतमा ‘हिम्पी’शब्द छनोट किन गर्नुभयो ?
एउटा गीत बनाऔं भन्ने मनमा थियो । गृह जिल्ला सोलुखुम्बु पुग्दा वियोगान्त कथामा गीत बनाउने काम सुरु भयो । छोडेर जाने मायालुलाई कसरी सम्बोधन गर्ने भन्नेमा ‘हिम्पी’ शब्द आएको हो । सानु, नीरमाया, कान्छीलगायतका शब्द गीत संगीतमा धेरै प्रयोगमा छन् । नयाँ शब्द प्रयोग गर्ने सोचअनुसार आफ्नै समुदाय (थुलुङ राई समुदाय)को बोलीचालीको भाषा ‘हिम्पी’लाई प्रयोग गरे । यसको अर्थ ‘कान्छी’लाग्छ । मैले मेरो साथीको लागि गीत बनाएको थिएँ । तर पछि आएर आफ्नै गीत, संगीत र स्वरमा रेकर्ड गराए ।

माया मैले गरेकै हो हिम्पी
किन मन दुखायौं नि लौ ।
संयौं जंघार तरेकै हो हिम्पी
किन बाटो मोड्यौ नि हौ ।।

भिडियो सामान्य बनेको रैछ, खर्च कति भो ?

हो, सामान्य भिडियो बनाउँ भन्ने थियो । काम पनि सोहीअनुसार नै गरेको हो । तर हामीजस्तो अभाव र दबाबमा संगीत क्षेत्रमा रमाउनेहरूका लागि अरूका लागि सामान्य भनिएको खर्च पनि धेरै लाग्छ ।

सुरुवाती प्रतिक्रिया कस्तो छ ?
कमेन्ट एकदम ऊर्जावान् छ । भेट्नेहरू सुरुमै ‘हिम्पी’ शब्दको अर्थ सोधी हाल्छन् । मिडिया सपोर्ट पनि राम्रो पाएको छु । भ्युज कति जाला भन्दा पनि सुनेकाहरूले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने मुख्य लाग्छ । नेपाली संगीतमा राम्रा सिर्जनाहरू दिउँ भन्ने मनसाय अनुसार नै अघि बढिरहेको छु ।

संगीतको सुरुवाती संर्घषपूर्ण अनुभव कस्तो छ ?

म हिमाली जिल्ला सोलुखुम्बुको पनि गाउँमा जन्मे हुर्केको व्यक्ति हुँ । मेरो गाउँ लोखिम हो । त्यही नै मेरो शिक्षादीक्षा भयो । मेरो अनुभव सुखदुःखको छ । विद्यालय तहमा गीत गाइनँ तर जब उच्च शिक्षा सुरु भयो । जब, गाउन थालें । सुरुमा माओवादी निकट जनसांस्कृतिक महासंघ सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा गाएँ । सल्लेरीमा आयोजित कार्यक्रममा पहिलो पटक स्टेज चढेँ । त्यस प्रतियोगितामा संगीतकार लक्ष्मण शेष, विशेष खालिङ र सन्तोष सुब्बा जर्जको रूपमा थिए । राजेशपायल राईको ‘तिमीलाई रोजें, विश्वास गरें’ बोलको गीत गाएको थिएँ । म त्यहाँ भलिबल खेल्न गएको थिएँ । त्यसअघि खास तयारी नभएकोले पनि पहिलो चरणबाटै प्रतिस्पर्धाबाट बाहिरिएको याद छ ।

दोस्रो प्रतियोगिता मैले महाकुलुङ (सोलुखुम्बुको दूधकोसी पारिको क्षेत्र)पुगेर सामना गरे । भलिबलसंँगै भएको ट्र्याक गायन प्रतियोगितामा ५० भन्दा बढी प्रतिस्पर्धी साथीहरूमा सान्त्वना स्थान हासिल गरेको थिए । पुरस्कार एक हजार नगद पाएको थिएँ । त्यसबेला पनि म भलिबल टिममा समावेश भएर गएको थिएँ । साथीभाइले गायनमा पनि भाग लिन आग्रह गरेपछि सहभागी बनेको थिए । त्यसपछि जिल्लाभित्र गाउँघरमा हुने प्रायः कार्यक्रममा पुगेकै हुन्थें । एकदम कम हुन्थ्यो, पोजिसन हात नपारेको । साथीभाइको हौसला र प्रतियोगितामा पाएको ऊर्जाले सेल्फ मोटिभेट भए । जस्को कारण आज म यहाँ छु ।

तपाई भलिबल पनि खेल्नुहुन्थ्यो ?

हो, खेल्थे । सुरुसुरुमा भलिबल प्रतियोगितामा भाग लिन कार्यक्रम चाहर्थें । निकै राम्रो खेलाडी त होइन । तर पनि एक्स्ट्रा खेलाडीको रूपमा टिममा हुन्थे । जहाँ भलिबल प्रतियोगिता हुन्थ्यो । त्यहाँ साँझमा मनोरञ्जनका लागि गायन वा नृत्य प्रतियोगिता आयोजना हुन्थे । आफूसँग गाउने सामान्य रहर र साथीभाइको आग्रहअनुसार गायन प्रतियोगितामा सहभागी बन्दाबन्दै मेरो भविष्य नै गायन बनिसक्यो । अहिले विविध अभाव र दबाबका बीच पनि सिर्जनालाई श्रोता, दर्शकमाझ प्रस्तुत गर्न छाडेको छैन ।

तपाईको अर्को गीत छ नी, डान्सिङ बिटको ‘मिठुको भट्टी पसल’ । यो गीत राम्रो हुँदाहुँदै पनि दर्शकको भ्युज पाएन नि ?

यो गीतमा मैले मेरी आमाको नाम र आमाको कामलाई रोमान्टिक तवरले प्रस्तुत गरेको छु । मेरी आमाको नाम ‘मिठु’हो । उहाँले कुनै समय ‘भट्टी पसल’ चलाउनुहुन्थ्यो । आमाको नाम, भट्टी पसल र त्यहाँ बिक्री हुने तरल पदार्थलाई समाबेश गरेर ‘मिठुको भट्टी पसल’ गीत बनाएँ । यो गीत आमालाई पनि सुनाउन, देखाउन पाएँ । निकै खुसी हुनुहुन्थ्यो । छिमेकीले आमालाई छोराले तेरो नाममा गीत बनाएछ भनेर सुनाउँदा आमा अझ मक्ख पर्नुहुन्थ्यो । तर गएको वर्ष आमालाई यो घर्तीबाट गुमाए । उनै आमाप्रति समर्पित अर्को गीत रेकर्ड गरिसकेको छु । जुन गीतमा सुवास संगम राईको शब्द र विक्रम राईको संगीतमा मेरो स्वरमा ‘अस्ताएकी आमा’ सार्वजनिक गर्दैछु ।

बाटो दियौं, माटो दियौं, यति सुन्दर संसार दियौं ।
तर आमा अस्ताएर निभेको साँझ दिलाई गयौं ।।

गीत संगीतको दुःख के हो ?

मुख्य कुरा त आर्थिक नै हो । लगानी गर्ने वातावरण बनेन वा लगानी आफूसँग छैन् भने सिर्जनालाई दर्शक श्रोतासामु सार्वजनिक गर्न सकिँदैन । राम्रो टिमवर्कमा पनि समस्या छ । लगानी छ तर शब्द, संगीत र टिम अभावमा सिर्जना मर्दो रहेछ । ती सबै कुरा मिलेर सिर्जना बाहिर ल्याएपछि रिटर्नको वातावरण छैन । लगानी बालुवामा हालेको मानी जस्तै छ । गीत संगीतमा लागेकाको जिन्दगी रमाइलो होला भन्ने लाग्छ तर एउटा संघर्षपूर्ण गायक, सर्जकको अभाव र दबाब कस्ले बुझिदिने । निकै समस्याका बाबजुद पनि गीत संगीतको यात्रा छाडेको छैन । भोलि उज्ज्वल बनाउन आज संघर्षरत छु ।

तपाईको सांगीतिक यात्रा सफलता नजिक देख्नुहुन्छ ?
गीत, संगीतको नशाले गर्दा पनि निरन्तर लगानी भइनै रहेको छ । हरेक सिर्जनामा कुनै न कुनै कोणबाट आशा राख्न्छि । राम्रो सिर्जना बजारमा पठाउँ भन्ने हो । राम्रो सिर्जना गाउँदागाउँदै कुनै दिन क्लिक भइएला भन्ने आशा छ । त्यतिबेला अहिलेसम्मको सम्पूर्ण लगानी उठ्ला भन्ने आशा जीवितै छ । त्यसकारण निरन्तर संगीतमा छु ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै