२०७९ भदौ १६  
spot_img
spot_img

गुर्जो : उपचार अनेक

spot_img

गुर्जो हामी सबैका लागि परिचित जडीबुटीको नाम हो । यो स्वादमा टर्रो, हलुका तीतो र झनझनाहटकारी हुन्छ । वात, पित्त र कफलाई सन्तुलनमा राख्न सहयोगी मानिएको यो अमृतबुटी हाम्रो घरआँगन, वनजङ्गल, चोकचौतारा र पार्कहरुमा विभिन्न प्रकारका रुखबिरूवाहरुमा लहरिएर झ्याँगिएको हुन्छ । कतैकतै घरमा भित्ताहरुमा, गमला र खम्बाहरुमा पनि यसको लहरा फैलिएको देख्न सकिन्छ । अचम्म के छ भने जुन रुखबिरूवामा यो झ्याङ्गिन्छ, त्यही बिरूवाको गुण यसमा पनि आउँछ ।

विशेषगरी नीम, रूद्राक्ष, पीपल, बर, समी र खयरजस्ता बोटहरुमा फैलिएको गुर्जो अझै लाभकारी हुन्छ भनेर भनिन्छ । टिनोस्पोरा कार्डिफोलिया यसको वानस्पतिक नाम हो । संस्कृतमा यसलाई अमृता, चक्राङ्गी अथवा गुडुचीजस्ता अनेक नामले चिनिन्छ । हिन्दीमा गिलोय, उर्दूमा गर्च, अङ्ग्रेजीमा टिनोस्पोरा र नेपालीमा गुर्जोका रुपमा यो परिचित छ, यदाकदा घरगाउँमा चिनी लहरो भनेर पनि भन्ने गरिएको पाइन्छ ।

यसका फाइदा
गुर्जो अन्य बोटबिरूवाको सहारामा फैलिने वा झ्याँगिने वनस्पति भए पनि यसका अनेक फाइदाहरु छन् । हाम्रा वरपर सहजरुपमा प्राप्त गर्न सकिने गुर्जो दिव्य जटीबुटी हामी सबै नेपालीका लागि अत्यन्त उपयोगी हुने कुरामा कुनै शङ्का छैन । यतिबेला कोरोनाको महामारीसित हामी सबै विश्ववासी नै लडिरहेका छौँ । नेपालमा पनि यो सङ्क्रमण अझै कायम छ । कोरोनाको उपचारको ठ्याक्कै ओखती पत्ता लागिसकेको अवस्था छैन । सङ्क्रमणबाट जोगिनु र रोगप्रतिरक्षा शक्तिको विकास गर्नुबाहेक हामीसित अर्को कुनै विकल्प छैन । यस्तो अवस्थामा गुर्जो हामी सबैका लागि उपयोगी बन्न सक्छ, किनकि गुर्जोको सबैभन्दा ठूलो उपयोग नै शरीरभित्रको रोगप्रतिकारक क्षमता विकासमा गर्ने गरिन्छ ।

हाम्रा पितापुर्खाले गाउँघर, पहाड, उकालीओराली, पाखापहराहरुमा वर्षौँदेखि प्रयोग गर्दै आएको यो बहुउपयोगी औषधीय वनस्पतिका दुर्लभ गुण र चिकित्सकीय उपयोगहरु के–के छन् त ? आउनुस्, तिनका बारेमा जानौँ ।


कसरी प्रयोग गर्ने ?

गुर्जोको पात, यसको जरा र लहरालाई मूलतः औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ, तापनि लहरो अथवा डाँठ वा काण्ड नै अधिक उपयोगी मानिएको छ । गुर्जोमा अधिक मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरीका साथमा क्यान्सर प्रतिरोधी गुण पाइन्छ । गुर्जोमा प्राप्त यिनै विशेषताका कारणले गर्दा यसले मूत्ररोग, मधुमेह, ज्वरो, जन्डिस, अपच, अम्ल, कब्जियत, निमोनिया, वातजस्ता अनेकौँ रोगहरुबाट हामीलाई मुक्ति दिन्छ, ती रोगसित लड्न सक्ने बनाउँछ ।
गुर्जोको प्रयोग खासमा तीन तरिकाले गर्ने गरिन्छ । एउटा यसलाई चूर्ण बनाएर, अर्को जुस बनाएर र गिलोय सत्व बनाएर प्रयोग गर्ने गरिएको छ । क्यान्सियम, फस्फोरस, आइरन, म्याग्नेसियम, कपर र जिङ्क गुर्जोका पौष्टिक—संरचनाहरु हुन् ।

१. रोगप्रतिरोधक शक्तिको विकास गर्न
रोगप्रतिरोधक क्षमताको विकास गर्नु गुर्जोको प्रमुख काम हो । यसलाई ‘पावरहाउस अफ एन्टिअक्सिडेन्ट’ पनि भनेर भनिन्छ । यसमा अल्कालाइड्स, बर्बरिन, कोलम्बिन, टिनोस्पोरल, कास्मान्टिन, पाल्मारिन, टिनोस्पोरिक एसिड हुन्छन्, जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हुन् । जुन वनपस्पतिमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ, त्यसले व्यक्तिको रोगप्रतिकारक क्षमताको पनि वृद्धि गर्दछ । शरीरमा रहेका विजातीय द्रव्यलाई हटाउनुका साथै रगतको सफाइ गर्नु पनि गुर्जोको अर्को काम हो । मुत्रावरोध हटाउनु, कलेजोका रोगहरुसित लड्नु र रोगकारक ब्याक्टेरियासित लडेर व्यक्तिलाई स्वस्थ राख्नमा गुर्जोले सहयोग गर्दछ । यसको जुस र सत्वको प्रयोगले रूघाखोकीजस्ता सङ्क्रामक रोगहरुबाट पनि हामीलाई बचाउँछ ।

२. ज्वरोको उपचार गर्न
गुर्जोको प्रयोगले हाम्रो शरीरका पुरानोभन्दा पुरानो र असाध्य ज्वरोलाई पनि समाप्त गरिदिन्छ, किनकि यसमा यस्ता प्रभावकारी एन्पियरेटिक गुणहरु हुन्छन् । खासगरी डेंगु, मलेरिया, स्वाइन फ्लुजस्ता रोगका ज्वरोमा यसकै प्रयोगमा विशेष जोड दिइन्छ । त्यसो त, हामीकहाँ सबैभन्दा पहिला गुर्जोलाई चिन्नुपर्दा ‘यसले गर्मी फाल्छ’ भनेर पनि चिनिन्छ ।

३. मधुमेह रोग नियन्त्रण गर्न
यसले हाम्रो शरीरमा हुने चिनीको मात्रालाई सधैँ सन्तुलनमा राख्न मद्दत गर्दछ भने चिनीको बढ्दो मात्रालाई कम गर्दछ । खासगरी ‘टाइप—२’ सुगरलाई यसले सन्तुलनमा राख्ने क्रममा निकै प्रभावकारी तरिकाले काम गर्दछ । यसले इन्सुलिनको स्रावमा वृद्धि गर्दछ भने प्रतिरोधलाई कम गर्दछ । गुर्जोले हाइपो ग्लाइकमिक एजेन्टको रुपमा काम गर्ने भएका हुनाले पनि महुमेहका रोगीका लागि अति उपयोगी मानिएको हो ।

४. दम/श्वासप्रश्वास/खोकीको समस्या समाधान गर्न
गुर्जोमा एन्टिइन्फ्लामेटरी अर्थात् शीतकारक विशेषता र फाइदाहरु छन् । चिसो, कफ र टन्सिलका कारण उत्पन्न श्वासप्रश्वाससम्बन्धी समस्या समाधान गर्नका लागि पनि गुर्जो उत्तिकै उपयोगी वनस्पति हो । लामो समयदेखि यदि तपाईंलाई खोकी लागिरहेको छ भने गुर्जोको उपयोगबाट त्यो निको हुन सक्छ । गुर्जोमा एन्टिएलर्जिक गुण हुने भएका कारण पनि खोकीमा समेत यो उत्तिकै प्रभावकारी बनेको हो । खोकीमा गुर्जोको काँढा बनाएर सेवन गर्दा अझ फाइदा हुने बताइएको छ । गुर्जोले फोक्सोलाई पनि अद्यावधिक र स्वस्थ तुल्याउने काम गर्दछ । दममात्रै होइन, श्वासप्रश्वाससित सम्बन्धित अन्य विभिन्न समस्या पनि यसको प्रयोगका कारण हटेर जान्छन् ।

५. जन्डिस रोगको उपचारमा सहयोग पु¥याउँछ
जन्डिसका बिरामीले गुर्जोलाई प्रयोग गर्दा यसको काण्ड अर्थात् लहरोलाई भन्दा पातलाई प्रयोग गरेर जुस बनाई पिउँदा अझ प्रभावकारी हुने कुरा उल्लेख गरिएको छ । यदि पात पाइएन भने पनि लहरोलाई ससाना टुक्रा बनाई थिचेर कपडामा छानी जुस बनाई पिउन सकिन्छ । शीतकारक हुने हुनाले शरीरको गर्मी जाने, ज्वरो निको हुने र अनावश्यक दुःखाइबाट पनि मुक्ति मिल्छ । शरीर र अनुहारमा देखा परेको पहेँलोपन हट्दै जान्छ भने कान्ति र ओजमा वृद्धि हुन्छ ।

६. पाचनप्रक्रियालाई सुचारू र सुदृढ तुल्याउँछ
हाम्रो शरीरमा पाचनप्रक्रियामा गडबडीको समस्या निकै पुरानो हो । अपच अथवा अधिकपच दुवै रोगका बिरामीहरुका लागि गुर्जो रामवाण मानिएको छ । यसको काँढा बनाएर बिहान—बेलुका सेवन गर्दा शरीरको पाचन प्रक्रिया सहज र नियमित हुन्छ । यसको चूर्णलाई अमलाका साथमा प्रयोग गर्दा अपचका सबै खाले समस्या समाधान हुन्छन् भनिएको छ । कब्ज र अपचका रोगीले यसको उपयोग गर्नु अत्यन्त हितकर देखिन्छ ।

७. आर्थराइटिस, जोर्नीवात, गठिया
गुर्जोमा शीतकारक र एन्टिआर्थराइटिक गुण हुने भएका हुनाले वातरोगका लागि पनि यो उत्तिकै उपयोगी छ । खासमा जोर्नीहरु अति दुख्ने, बाथको समस्या भएका बिरामीले नियमितरुपमा गुर्जोको सेवन गर्दा हितकर हुन्छ । यसका लागि गुर्जोको जुस र काँडा दुवै उपयोगी मानिएको छ । जुसको प्रयोग गर्दा एक कप पानीमा तीन चम्चा अर्थात् पन्ध्र मिलिलिटर जुस राखेर बिहान खाली पेटमा सेवन गर्न सकिन्छ भने काँढा बनाएर सेवन गर्दा मह मिसाई बिहान र बेलुका प्रयोग गर्न सकिन्छ ।

८. बुढ्यौली घटाउँछ, जवान राख्छ
गुर्जोले हामीभित्र रोगसित लड्ने प्रतिरक्षाशक्तिको विकास गर्छ भन्ने विषयमा हामीले चर्चा गरिसक्यौँ । जो जतिबेला पनि लड्न सक्छ, जसलाई कसैले पनि आक्रमण गर्न सक्दैन उही नै त युवा हो । हामीभित्रको रोगप्रतिरोध क्षमता बढाउने मात्रै होइन शरीर चाउरिने, विभिन्न दागधब्बाहरु देखा पर्नेजस्ता समस्या पनि यसको नियमित प्रयोगबाट हटेर जान्छन्, किनकि यसमा एन्टिएजिङ प्रपर्टीहरुको मात्रा हुन्छ । यसको प्रयोगबाट छालामा पनि चमक देखा पर्न थाल्छ ।

९. आँखाको दृष्टिशक्ति वृद्धि गर्दछ
गुर्जोमा आँखाको दृष्टिशक्ति वृद्धि गर्ने विशेषता पनि हुन्छ । यसको नियमित सेवनले हामीले धमिलो धमिलो देख्ने क्रम हटेर जान्छ, दृष्टिक्षमतामा वृद्धि हुन्छ । यसका लागि गुर्जोको जुस बढी उययोगी मानिएको छ ।

१०. लिबर/कलेजोलाई बलियो बनाउँछ
गुर्जोले हाम्रो कलेजोलाई स्वस्थ राख्नुका साथै यसको कार्यक्षमतामा वृद्धिसमेत गर्ने काम गर्दछ । गुर्जोको प्रयोगले लिभरका लागि टनिकको काम गर्दछ । लिभरको कार्यभारलाई कम गर्ने काममा पनि सहयोग मिल्छ । विभिन्न प्रकारका अखाद्य र मादक पदार्थको सेवनबाट कमजोर र रोगग्रस्त हाम्रो कलेजोले यदि गुर्जोको जुस पायो भने अमृत पाएको महसुस गर्दछ । तसर्थ, लिभरका लागि पनि यो उत्तिकै उपयोगी छ । लिभर मोटाउने रोगबाट पनि मुक्ति मिल्छ ।

११. क्यान्सर प्रतिरोधी गुणाको विकास/रक्ताल्पताबाट मुक्ति
गुर्जोमा एन्टिक्यान्सर विशेषता पनि हुन्छ । यसले श्वेतरक्तकोषिका अर्थात् ह्वाइट ब्लडसेल्स वृद्धि गर्न सघाउँछ भने क्यान्सरकोषिका मार्न सघाउँछ । यसका कारण विभिन्न ब्याक्टेरिया र भाइरसहरुबाट पनि मुक्त राख्छ । गुर्जोले ह्वाइट ब्लडसेल्स वृद्धि मात्रै गर्दैन, यसले रक्तअल्पता अर्थात् एनिमियाजस्तो रोगबाट पनि हामीलाई सुरक्षित राख्दछ । शरीरमा रक्ताल्पताका कारण लाग्ने विभिन्न रोगमध्ये एनिमिया एक हो । खासगरी महिलाहरु एनिमियाबाट धेरै पीडित हुन्छन् । गुर्जोको रसले हामीभित्रको रक्ताल्पता घटाउँछ र शरीरको इम्युनिसिस्टम बलियो तुल्याउँछ । यसमा पनि दुई अथवा तीन चम्चा गुर्जोको जुस महपानीका साथमा सेवन गरियो भने लाभकारी हुन्छ । कुष्ठरोगमा पनि यो उत्तिकै उपयोगी मानिन्छ ।

१२. चिन्ता र तनावबाट मुक्ति दिन्छ
शरीरमा अनावश्यक ताप, गर्मीका कारण पनि चिन्ता र तनाव बढ्छ, वा भनौँ चिन्ता र तनावका कारण शरीरमा गर्मी बढ्छ । गर्मीका कारण तनाव र चिन्ता बढ्न थाल्दा गुर्जोको सेवनले शीतलता प्रदान गर्दछ भने गर्मी घटेर वा हटेर जान्छ । शरीरका विजातीय द्रव्य अर्थात् विषहरु सफा गरिदिएर मानसिक शान्ति र शीतलता प्रदान गर्दछ । हाम्रो मस्तिष्कको स्मृति क्षमता वृद्धि गर्न र संज्ञानात्मक शक्तिलाई व्यवस्थित गर्न गुर्जोको सेवन उचित मानिएको छ ।

१३. विविध रोग र अवस्थामा सहयोगी
शरीरको एलर्जी, नाक चिसो भइरहने र सिँगान बगिरहने अवस्थालाई पनि गुर्जोको सेवनले घटाउँछ भने केमोथेरापीको साइडइफेक्टबाट जोगाउँछ । नियमित यौन—सक्रियता कायम राख्नुका साथै सबै खालका ज्वरोहरु कम गर्न सघाउँछ, विशेषगरी मलेरिया र डेंगुका कारण उत्पन्न ज्वरोमा यसको प्रयोग प्रभावकारी मानिएको छ । कसैकसैलाई खुट्टा पोल्ने समस्याले सारै सताउँछ । कसैको हात सधैँ तातो भइरहने हुन्छ । यस्तो अवस्थामा गुर्जोको पात पिसेर बिहान–बेलुका हातगोडामा लगाउनाले अथवा काँढा बनाएर खानाले धेरै फाइदा गर्छ, समस्याबाट मुक्ति मिल्छ ।

कान दुःखेको छ भने पनि यसको पातको रस निचोरेर मनतातो बनाएर दुई–तीन थोपा कानमा राख्दा कानको दुःखाइ पनि कम हुन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै