spot_img

प्रदेश १ मा एमाले बन्यो ठूलो दल

spot_img

Advertisement

नेकपा (एमाले) प्रदेश नम्बर १ मा सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश १ मा प्रत्यक्षतर्फ सबै मतगणना भइसक्दा प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिट जितेर एमाले पहिलो दल बनेको हो।

Advertisement

समानुपातिकतर्फ पनि अहिलेसम्म यो प्रदेशमा एमालेकै अग्रता छ। प्रतिनिधि सभाको समानुपातिकमा एमालेले अहिलेसम्म ६ लाख ८ हजार ६७९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख २५ हजार ९५४ मत ल्याएको छ।

Advertisement

प्रदेश सभाको समानुपातिकतर्फ एमालेले ६ लाख ३२ हजार ७०४ मत पाउँदा दोस्रोमा रहेको कांग्रेसले ५ लाख ३२ हजार ८४५ मत पाएको छ।

मंसिर ४ को निर्वाचनअघि सत्ता गठबन्धनका प्रदेश १ स्थित नेताहरू ‘प्रदेशमा एमालेलाई पाँच सिटमा खुम्च्याइदिने’ बताउँथे। सार्वजनिक कार्यक्रममा मात्रै होइन,  गठबन्धनको आन्तरिक बैठकमा पनि उनीहरू यस्तै आत्मविश्वासी कुरा गर्थे।

आफू जित्दै एमालेको ‘रिसाइजिङ’ गर्ने सत्ता गठबन्धनको ध्येय चुनावी नतिजाले पूरा हुन दिएन।

त्यसो त देशव्यापी रूपमा प्रत्यक्षतर्फ सय हाराहारी र समानुपातिकबाट ५० सिट जितेर एकल बहुमत ल्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीको हाँक पनि पूरा हुन सकेन।

ओलीकै गृह प्रदेशमै पनि एमालेले २०७४ को सफलता दोहोर्‍याउन सकेन। तर, सत्ता गठबन्धनको दाबीअनुसार कमजोर पनि भएन। 

प्रतिनिधि सभामा प्रत्यक्षतर्फका २८ सिटमध्ये एमालेले १३ मा जीत हात पारेको छ भने प्रदेशका ५६ मध्ये २५ सिट जितेको छ। 

२०७४ को निर्वाचनमा माओवादीसँग वाम गठबन्धन गरेर चुनावमा होमिएको एमालेलाई त्यसबेला प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा प्रदेश १ मा ठूलो फाइदा भएको थियो। प्रदेशमा बलियै मानिने कांग्रेस वाम गठबन्धनको घेराबन्दी चिर्न नसक्दा कमजोर बनेको थियो।

प्रदेश १ मा प्रतिनिधि सभाका कूल २८ निर्वाचन क्षेत्रमध्ये त्यसबेला एमालेले १६ क्षेत्रमा जीतको झण्डा फहराएको थियो। कांग्रेसले ५ क्षेत्रमा जित हासिल गर्दा माओवादी केन्द्रले ६ ठाउँमा जीत हात पारेको थियो।

यसपटक एमालेले प्रदेशमा प्रतिनिधि सभामा १३ क्षेत्रमा जीत हात पारेको छ। कांग्रेसले ९, माओवादीले ३, जसपा, राप्रपा र स्वतन्त्रले १-१ स्थानमा जीत हासिल गरेका छन्।

२०७४ को दाँजोमा एमालेले यसपटक तीन सिट कम ल्याएको छ। माओवादीसहितको पार्टी एकता टुटेको र एमाले पनि विभाजित भएको बेला सत्ता गठबन्धनको चुनावी आक्रमण एमालेका लागि कठिन हुन सक्ने  अनुमानविपरीत एमालेले उल्लेख्य नतिजा हात पारेको छ। यसक्रममा एमालेले आफ्ना केही प्रभाव क्षेत्र भने गुमाएको छ।

तेह्रथुम, खोटाङ, मोरङ १, ३ र ६, ओखलढुंगा र सुंखवासभा यसपटक एमालेले गुमाएको छ। यी सबै क्षेत्रमा २०७४ मा एमाले उम्मेदवार विजयी भएका थिए। यसपटक खोटाङमा माओवादी उम्मेदवार विजेता बन्दा अन्य सबै क्षेत्रमा कांग्रेस उम्मेदवारले जितेका छन्।

प्रदेश १ को ताप्लेजुङमा २०७४ मा एमालेका योगेश भट्टराईले जितेका थिए। उनले यसपटक पनि सफलता दोहोर्‍याएका छन्। पाँचथरमा वसन्तकुमार नेम्वाङले पनि दोस्रो पटक पुरानै प्रतिष्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बेलाई पराजित गरी सफलता पाउँदा पार्टीको सिट संख्या सुरक्षित राखेका छन्।

इलाम १ मा तत्कालीन एमालेबाट निर्वाचित झलनाथ खनाल यसपटक एकीकृत समाजवादीबाट सत्ता गठबन्धनका उम्मेदवार बनेका थिए। पार्टीका संस्थापकमध्येका एक नेताले फरक पार्टीबाट उम्मेदवार दिए पनि इलाम १ मा एमालेका महेश बस्नेत निर्वाचित भएर पार्टीको सिट सुरक्षित पारेका छन्।

इलाम २ मा सुवास नेम्वाङले जीतलाई निरन्तरता दिने सफलता पाउँदा झापा २ मा पनि एमालेले सफलता दोहोर्‍याएको छ। यसअघि पवित्रा निरौला निर्वाचित भएको क्षेत्रमा यसपटक देवराज घिमिरेले जीत हात पारेका छन्। झापा ४ मा लालप्रसाद साँवाले फेरि जीत दर्ता गर्दै पुरानै प्रतिष्पर्धी कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ बाट पुनः जित हासिल गरेर व्यक्तिगत सफलता दोहोर्‍याउँदा एमालेले सिट सुरक्षित गरेको छ।

संखुवासभाबाट २०७४ को चुनाव जितेका राजेन्द्र गौतम यसपटक पराजित बनेका छन्। उनलाई कांग्रेसका दीपक खड्काले जितेर एमालेबाट सिट खोसेका छन्।

एमालेले यसपटक तेह्रथुम गुमाएको छ। २०७४ मा भवानीप्रसाद खापुङले जितेको यो क्षेत्रमा यसपटक एमालेबाट विजय सुब्बा उम्मेदवार बनेका थिए। खापुङ एकीकृत समाजवादीतिर लागेपछि उम्मेदवार बनेका सुब्बा कांग्रेसकी सीता गुरूङसँग पराजित भएका छन्।

धनकुटामा वाम गठबन्धन हुँदा २०७४ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै क्षेत्र जितेको एमालेले यसपटक एक्लै लड्दा पनि पुरानै सफलता दोहोर्‍याएको छ। प्रतिनिधि सभामा राजेन्द्रकुमार राई दोहोरिँदा प्रदेशमा इन्द्रमणि पराजुली र निरन राई पनि पुनः निर्वाचित बनेका छन्।

मोरङ १ मा कांग्रेसले एमालेबाट सिट खोसेको छ। २०७४ का विजेता एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै कांग्रेसका डिगबहादुर लिम्बूले जीत हात पार्दा मोरङ ३ एमालेले गुमाएको छ। २०७४ मा कांग्रेसका  सुनिल शर्मालाई पराजित गरेर विजेता बनेका भानुभक्त ढकाल यसपटक पुरानै प्रतिष्पर्धी शर्मासँग फराकिलो अन्तरमा पराजित भएका छन्।

मोरङ ६ एमालेले गुमाएको अर्को क्षेत्र हो, जहाँ यसपटक पनि लालबाबु पण्डित कांग्रेसका शेखर कोइरालासँग भिडेका थिए। तर, शेखरसँग पराजित भएर लालबाबुल हार व्यहोर्दा एमालेले सिट गुमाएको छ।

सुनसरी १ एमालेले जितेको क्षेत्र थियो। यसपटक एमालेकै समर्थनमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका नेता अशोक राई निर्वाचित बनेका छन्। २०७४ मा प्रदेशको कुनै क्षेत्रमा जीत हात नपारेको जसपा यसपटक सिटको खाता खोल्न सफल भएको छ।

खोटाङ र ओखलढुंगा पनि एमालेले गुमाएको छ। २०७४ का विजेता विशाल भट्टराई यसपटक माओवादीका रामकुमार राईसँग पराजित भए। ओखलढुंगामा एमालेका यज्ञराज सुनुवारसँग २०७४ को बदला लिँदै कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन्।

वाम गठबन्धन हुँदा २०७४ मा प्रदेश १ का ६ वटा क्षेत्र जितेको माओवादीले  यसपटक ३ क्षेत्रमा जीत हात पारेको छ।

२०७४ मा झापा १ राम कार्की निर्वाचित भएको ठाउँमा यसपटक माओवादीले टिकट पाएन। सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले जीत हात पार्दा त्यो सफलता कांग्रेसमा थपिएको छ।

भोजपुरबाट सुदन किरातीले पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै आफ्नो र पार्टीको सफलता कायम राखेका छन्। मोरङ ४ मा अमनलाल मोदीले सफलता जारी राख्दा यसपटक एमालेमा विनोद ढकाललाई पछि पारेका छन्। मोरङ ५ माओवादीले गुमाएको छ। २०७४ का विजेता शिवकुमार मण्डल यसपटक स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित हुन पुगेका छन्।

सोलुखुम्बु यसअघि माओवादीका हेमकुमार राई निर्वाचित भएका थिए। यसपटक सत्ता गठबन्धनबाट कांग्रेसका बलबहादुर केसी उम्मेदवार थिए। तर, उनी एमालेका मानवीर राईसँग भए।

उदयपुर २ मा जितेका सुरेश राईको ठाउँमा नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडा पराजित भएका छन्। उनी एमालेका अम्बरबहादुर रायामाझीबाट पराजित भए। उदयपुर २ सत्ता गठबन्धनबाट खोस्न एमाले सफल हुँदा गठबन्धनले नोक्सानी व्यहोरेको छ।

यसपटक प्रतिनिधि सभामा कांग्रेसले २०७४ को दाँजोमा प्रदेशमा दोब्बर सिट जितेको छ।  वाम दलहरू विभाजित भएको र दुईटा वाम दलले आफैंलाई समर्थन गरेको फाइदा कांग्रेसलाई भएको छ।

२०७४ मा मोरङ २ मा मीनेन्द्र रिजाल, सुनसरी २ मा सीताराम महतो,  सुनसरी ३ मा विजयकुमार गच्छदार, सुनसरी ४ मा ज्ञानेन्द्र कार्की र उदयपुर १ मा नारायण खड्का निर्वाचित भएका थिए।

यसपटक मोरङ २ का पुराना विजेता मीनेन्द्र रिजाल टिकटविहीन हुँदा कांग्रेसबाट सुजाता कोइराला उम्मेदवार थिइन्। सुजातालाई एमाले उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरे। सुनसरी २ मा सीताराम महतोलाई यसपटक एमालेका भीम आचार्यले पछि पार्दा सुनसरी ३ मा विजयकुमार गच्छदार भगवती चौधरीसँग पराजित हुन पुगे। उदयपुर १ मा नारायण खड्का  सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले सफलता जोगाएका छन्। २०७४ को निर्वाचनमा झापा ३ बाट निर्वाचित बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यसपटक सफलता दोहोर्‍याएका छन्। setopati

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै