२०७९ भदौ १६  
spot_img
spot_img

अन्ततः सोलुले संसार छोड्यो

spot_img

‘तिम्रा कुकुरलाई मारिदिन्छु म। हेर्दै डरलाग्दो। भोटे कुकुर! यो बाटो त हिँड्नै भएन। झम्टिहाल्छ।’

‘किन? के भयो र दाइ?’

‘दाइ नभन मलाई! यो कुकुरलाई ठेगान लगा नत्र म मारिदिन्छु।’

‘के गर्यो र मेरो कुकुरले?’ (भ्वाऊ … भ्वाऊ … )

‘हेर न त्यहाँ भुकेको! मलाई टोक्न नपाएर दाउरा टोकेको। अझ के गर्यो रे? जो चोर उसैको ठूलो स्वर! हैन ए लठुवा!’

‘कसलाई लठुवा भनेका हौ र दाइ? मेरो नाम नोर्बु हो। नामले बोलाए त तिम्रा के बिग्रिन्थे! कति न ठूलो पल्टन्छौ।’

‘यो बाटो तिम्रा निजी सम्पत्ति हुन् र?’

‘हैन ए दाइ, किन गर्जन्छौ र?’

‘बाटो हिँड्नै नपाउने भइयो, तेरा कुकुरलाई छाडा नछोड्। टोकौलाझैं गर्छ। कुन दिन कसलाई टोक्छ अनि जान्छस् जेल।’

‘तिम्रालाई त टोकेको छैन नि’ किन यतिका विधि फलाक्छौ? टोकेका दिन मारिदिउँला,’ मेरो बोली सकिन नपाउँदै दाइ हिँडिभ्याए। हिँड्दै गर्दा पछाडि फर्केर आँखा पर्लक्क पल्टाए। मैले बुझिहालेँ। आँखाले पख्लास् भन्दै थिए।

हामी शेर्पा जातिहरू, कुकुर र हाम्रो सम्बन्ध प्रगाढ हुन्छ। पहिला पहिला हिमालमा बस्ने भएकाले कुकुर पाल्ने गरिन्थ्यो। हाम्रा पूर्खाले भनेका। कुकुरमा पनि भावना हुन्छ रे। माया र स्वामिभक्त हुन्छ रे। त्यो बेला जंगली जनवारहरूसँग सजिलै भिड्न सक्ने भएको हुनाले अंग रक्षकको रूपमा पालिने गरिन्थ्यो।

मेरो बुबाले पनि कुकुर पालेको थिए। औधी माया गर्थे। बुबा मर्नुभन्दा एक हप्ताअघि नै घर छोडेर गयो रे। बुबा मरेको ४५ दिनपछि फेरि टुपुल्क घर आएको थियो रे। म त सानै थिएँ। आमाले पछिसम्म पनि सम्झिरहनु हुन्थ्यो। आमाको काखमा बसेर लुटुपुटु गर्दा मलाईजस्तै माया गर्नुहुन्थ्यो। बौद्ध धर्ममा आस्थासँगै अहिंसा हाम्रो धर्म हो। हाम्रो पूर्खाहरू तिब्बतबाट शरणार्थी भएर नेपाल सरेका हुन्। म चाहिँ नेपालमै जन्मेको हो।

आजकाल समयसँगै मान्छेहरू पनि परिवर्तन भए। हामी पनि हिमाली भेगबाट गाउँमा बस्न थाल्यौं। बुबाको मुत्युपछि सोलुखुम्बुमा बसाइ सर्यौं। सोलुखुम्बु आउँदा बाटामा भेटेको यसलाई मेलै। यसलाई भन्नाले ‘सोलु’लाई। विचरा यो सानो थियो। मलाई देख्नबित्तिकै टुलुटुलु हेरिरह्यो। मैले मायाले अंगालेँ र आज हामीसँगै छ।

सोलु सानैदेखि चुलबुल स्वभावको थियो। सोलुखुम्बुको बाटोमा मलाई पर्खिरहेको थियो। मलाई लाग्यो मेरो बाबाले पठाइदिनु भएको हो। यसको नाम नै मैले सोलु राखिदिएँ। सोलु अर्थात् सोलुखुम्बुजस्तै सुन्दर र सफा मन भएको सोलु। हामी खुब खेल्थौँ। घर बाहिर जाँदा सोलुले मलाई पर्खिरहेको हुन्थ्यो। मलाई देख्न बित्तिकै कम्ता खुसी हुँदैन थियो! बुरूक्क उफ्रेर अंगालो नै हाल्थो।

कस्तो अजीवको हुँदो रहेछ है माया। समयको रफ्तारसँगै आमाले पनि बिदाइ लिनुभयो। म एक्लो भएँ। सोलुलाई हेरेर दिन बिताउँथेँ। मेरो दुःख साट्ने सोलु नै थियो। आँसु पुछिदिने पनि उही। सोलु र ममा के फरक छ र? बस! सोलु बोल्न सक्दैन, म बोल्न सक्छु। यति नै होइन फरक? भावना उस्तै, मन उस्तै, दुखाइ उस्तै अनि भोगाइ उस्तै। हामी ठिक उस्तै।

मेरो जीवनले कहिले पनि सुख दिएन तर एउटा नयाँ अनुभव भने दिइरह्यो। इमान्दार र असल हुन मैले सोलुबाट सिकेको छु। मान्छेहरू त पाइला पाइलामा रिस र डाहा गर्ने मात्रै भेटेको छु। विश्वासमा अडेको छ संसार। सोलुले मलाई आँखा बन्द गरेर विश्वास गरेको छ।

कहिलेकाहीँ हामी झगडा पनि गर्छौं। सोलु बिनाकारण नै भुक्छ। मलाई बेस्सरी रिस उठ्छ। घर बाहिर छोडिदिन्छु। म कोठामा चुकुल लगाएर बस्छु। कोठाको झ्यालबाट टुलुटुलु हेरिरहन्छ। अनि म फेरि कोठाको झ्याल पनि बन्द गरिदिन्छु। एकैछिनमा घरको दैलोमा आएर बोलाउँछ। विचरा सोलु! मलाई एकैछिन नदेख्दा खुब आत्तिन्छ। मलाई पनि मायाले डोर्याइहाल्छ अनि अंगालो हालेर सुत्छौं।

हिन्दुहरूको महान् चाड दसैं सकिएलगत्तै तिहारको रमझम चलिरहेको थियो। देश तिहारको संगीतमा झुमिरहेको थियो। मलाई पनि दसैं र तिहार भन्ने बित्तिकै मन हर्षित हुन्छ। हामीहरू लोसार पर्व मान्छौं तर मौलिक परम्परागत संस्कार र संस्कृतिसँग जोडिएका पर्वहरूले नेपाली नेपाली बीचको सम्बन्धलाई अझ मजबुत बनाउँदो रहेछ।

आधुनिकतासँगै भित्रिएको विदेशी संस्कारलाई त्यागी आफ्नै मौलिकता झल्काउने भेषभुषा, भाषामा रमाउँदा स्वर्ग यही हो जस्तो लाग्छ। तिहारको बत्तीमा सोलुले उत्सव मनाउँदा मलाई खुसी लाग्छ। यसपालिको तिहारमा सोलुलाई मैले उपहार ल्याइदिएको छु। सोलुलाई थाहा छैन, धेरै वर्ष भयो सोलुलाई मैले केही दिएको छैन। सोलुले केही मागेको पनि छैन मसँग। सोलुलाई थाहा छ, म एक छाक खानको लागि यार्सागुम्बा टिप्न जान्छु। सोलुले पनि सघाउँछ मलाई।

बिहानको सूर्यसँगै म उठेँ। आङ तनक्क तन्काएँ। सोलुको निन्द्रा खुलेको थिएन। सोलु सुतिरहेकै थियो। म ट्वाइलेट गएँ। आउँदा सोलुले मलाई खोजिरहेको थियो। मलाई देख्ने बित्तिकै पुच्छर हल्लाउँदै काखमा आइहाल्यो। सोलुलाई थाहा भयो होला आज कुकुर तिहार हो भनेर।

मैले भनिदिएँ, ‘सोलु! आज तेरो दिन हो।’

सोलुले मलाई बुझेझैं गरी पुलुक्क हेर्यो। मैले ल्याइदिएको सानो घन्टी सोलुको घाँटीमा लगाइदिएँ। सोलु छक्क पर्दै हेरिरह्यो।

‘टाउको हल्ला त सोलु?’ सोलुले टाउको हल्लायो। घाटीको घन्टी टिंग… टिंग… गर्दै बज्न थाल्यो। सोलु खुसीले बुरूक्क उफ्रियो अनि त के चाहियो र? जति बेला पनि टाउका मात्रा हल्लाउँछ। टिंग… टिंग… टिंग…।

एकदिन सोलुले खान खानै मानेन। निराश मन लिएर सुतिरह्यो। मलाई एकदम चिन्ता लाग्यो। बोली आउने भए भन्थ्यो होला, मलाई सन्चो छैन भनेर। पुसको महिना चलिरहेको थियो। सोलुखुम्बुले चिसो हावासँगै चिसो मौसमलाई पनि बोकेर आएको थियो। जाडो बढेसँगै घामले मुख देखाउनै छोड्यो। हुस्सु र कुहिरोले सोलुखुम्बुलाई छोपिदिएको थियो। मलाई चाहिँ मनपर्छ जाडो महिना।

जाडो महिना अक्सर पानी नपर्ने महिना तर सोलु र मेरो पहिलो भेट जाडो महिनामै पानी परेको दिनमा भएको थियो। मलाई अहिले पनि सम्झना छ। सोलु पानीमा भिज्दै बाटोमा भौतारिरहेको बेला मैले भेटेको हो। आकाशको पानीले मलाई सोलु उपहारमा दिएको छ। आज पनि पानी पर्यो भने त्यही दिनमा भेटाउँछु आफूलाई। आज त रातभरि पानी परेछ। पानीले चिसिएको दाउरालाई अँगेनामा झोस्दै गर्दा मान्छेहरूको हुल मेरो घरको दैलोमा देखेँ। सोलु भुक्न थाल्यो। अँगेनाको धुवाँसँगै बाहिर आएँ। मान्छेहरूको भिडमा पुलिस पनि थिए। मेरो सातो गयो। म आत्तिएछु।

मान्छेको हुलबाट एकजना पुलिसले हप्काउँदै सोधे- ‘तेरो कुकुर खोई?’

मेरो बोली नै बन्द भयो।

‘किन बोल्दिनस्?’

म आत्तिदै बोलेँ- ‘भित्र छ सर! हिजोदेखि बिरामी परेको छ।’

मेरो बोलीसँगै मान्छेहरूका हुलबाट आवाज एकोहोरो बर्सिन थाल्यो- ‘यसको कुकुरलाई मारिदिनु पर्छ। नत्र हामी नै मारिदिन्छौ। बाहिर निकाल् तेरो कुकुरलाई।’

मैले ‘के गल्ती भयो र?’ भनेर सोधेँ।

‘नजान्ने हुन्छस्? हिजो बेलुका तेरो कुकुरले मेरो छोरालाई टोकेछ। यी हेर् त घाउ!’

केटो चुप थियो।

मैले लामो सास फेरेँ। सोलुलाई भित्रबाट लिएर आएँ। सोलु एकदम डराएको थियो। त्यो केटालाई देख्न बित्तिकै झम्टिहाल्यो। पुलिसले एक लात्ती सोलुको ढाडमा हान्यो। सोलु कराउँदै मेरो खुट्टामा लुक्दै आयो। मलाई पुलिसले समातेर लग्यो। सोलु पछिपछि दगुर्दै थियो। मान्छेहरूले ढुंगाले हिर्काउँदै थिए।

आँसुका थोपा तप्प भुइँमा खसे। म अकमक्क थिएँ। अन्योलमा हराएको थिएँ। पुलिसको गाडीलाई पछ्याउँदै दगुरिरहेको सोलु एकैछिनमा मेरो आँखाबाट बिलिन भयो। मलाई विश्वास थियो, मेरो सोलुले यस्तो गर्न सक्दैन। पुलिस चौकीमा सोधपुछ सुरू भयो। मेरो सबै कुराहरू प्रष्टै राखेँ।

दुई दिनको जेल बसाइपछि सहमतिमा छोडिदिए। मैले मेरो सोलुलाई मेरै हातले मार्नु पर्ने निर्णयले म पलपल मरिरहेको थिएँ। सोलु घरमा मलाई पर्खेर बसिरहेको थियो। मलाई देख्नेबित्तिकै सोलुको आँखा आँसुले भिज्यो। मैले सोलुलाई बेस्सरी गाली गरेँ।

‘किन बदमास गरेको? यस्तो काम गर्नु हुन्छ? मैले तँलाई यति माया गर्दा पनि सुख कहिले नदिने भइस्?’

मेरो गालीले सोलु झन् मसँगै टाँसिएर बस्यो। सोलुलाई आँखाभरि सजाएँ। मन भारी थियो। आँखाका डिल भत्केका थिए। मैरे काखमा हुर्कियो र मृत्यु पनि मैले नै लिएर आएँ। मृत्युभन्दा भयानक डरलाग्दो चिज अर्को कुनै छ र? तर सोलु आफ्नो मृत्युमा पनि शान्त र मलिन छ। मनमा धेरै कुराहरू छन् होला। बोली नआउँदा पानीको फोकाझैं हराएर जान्छन् होला। सृष्टिको सबैभन्दा असहाय प्राणी पशुपन्छीहरू नै हुँदो रहेछ। जन्म त लिन्छन तर ईश्वरले पनि ठगी दिन्छन्। विचरा! मेरो सोलु!

घाम विस्तारै डाँडाको छेउबाट ओझेल पर्दै जाँदै थियो। आकाशमा बादलहरू मडारिरहेका थिए। पानीको छिटा तप-तप वर्षिंदै थियो। रूखका पातहरू हावाको बेगमा हल्लिरहेका थिए। घर वरिपरि दुबो उम्रेर बाक्लो भएको थियो। चारैतिर अस्तव्यस्त वृक्षहरूले ढाकिएको भएता पनि मौसम उजाड थियो। कसैको अभावमा नदीझैं शान्त छ।

आज यसै पनि केही गर्न मन छैन। मेरो सोलुलाई मिठो खान खुवाएँ। अँ साँच्ची! नुहाइदिएर कपालमा तेल लगाइदिएँ। तेल लगाउँदै गर्दा भुसुक्क निदाएको थियो। एक घण्टापछि बिउँझ्यो। मैले सोलुलाई घर पछाडिको रूखमा बोलाएर लगेँ। सोलु ज्ञानी भएर लुरूलुरू आयो।

मेरो हातमा बन्दुक थियो। सोलुले मलाई हेरिरहेको थियो। मैले बन्दुक तेर्साएँ सोलुतिर। मैले सोलुलाई हेर्नै सकिनँ। आँखा चिम्म गरेँ। लामो सास फेरेँ। सास फ्याँक्दै गर्दा बन्दुक हातबाट खस्यो। सोलु कुदेर आयो। मलाई अंगालो हालेर चुम्न थालो। मैले पनि सोलुलाई च्याप्पै अंगालो हालेर बेस्सरी रोएछु।

अह! म सक्दिनँ। सोलु मलाई माफ गर। रातभरि छटपटी भइरह्यो। छटपटीले निदाउनै सकिनँ। सोलुको एकदम माया लाग्यो। मैले ईश्वरलाई सम्झेँ। हे भगवान! के पाप हुन लाग्यो मबाट। म अन्जान छु, मलाई माफ गर।

बिहानको झुल्के घामको किरणमा भुसुक्क निदाएछु। मान्छेहरूके कोलाहलले बिउँझेछु। उठ्ने बित्तिकै मेरो आँखाले सोलु नै खोज्दै थियो। सोलु ढोकाको छेउमा बसेर लामो जिब्रो झिकेर स्वाँ-स्वाँ गर्दै थियो।

‘यसले त यो कुकुरलाई अझै मारेको छैन रहेछ!’ आवाज मेरो कानमै आएर ठोकियो। रिस नउठेको हैन तर म पराजय भइसकेको थिएँ।

मैले गाउँलेहरूसँग माफी मागेँ। चिच्चाएँ, कराएँ, गुहार मागेँ तर मेरो कुरा कसैले सुनेनन्। मलाई यो पापबाट मुक्त गरिदिनु होस्। म सक्दिनँ मेरै हातले मार्न। मेरो बोली नसकिँदै एउटा मोटो टाउको भएको कालो बिरालो सोलुको छेउमा आएर बस्यो। मैले सुनेको थिएँ ‘कुकुर र बिरालो मिल्दैन’ भनेर तर झुट साबित भयो। सोलुले बिरालो देखर भुकेन। कुकुर र बिरालो बीचमा प्रेम हुन्छ तर हामी मान्छे-मान्छे बीचमा चाहिँ किन प्रेम, सद्भाव छैन? मान्छेको चरित्र बल्ल बुझ्दै छु। मान्छेहरूभन्दा त पशुहरूमा कति धेरै आफ्नोपन छ।

रिसको पोको बोकेर ममाथि ती मान्छेहरू बर्सिन थाले।

‘कि तँ मार, कि हामी मार्छौं!’

‘मार्ने कुरा नगर्नुहोस्, बिन्ती! म कतै लगेर छोडिदिन्छु।’

‘के रे! के रे! छोडिदिने रे,’ मान्छेको भिडबाट आवाज आयो, ‘अनि फेरि त्यहाँका मान्छेलाई पनि टोक्यो भने तँ के गर्छस्?’

‘तँ किन कुरा बुझ्दिनस्? जेलबाट के सम्झौताम छुटेको छस्?’

म निशब्द भएँ। मौन बसेँ। केही बोल्नै सकिनँ। सोचेँ, मैले यी मान्छेलाई मार्न दिएँ भने तड्पाई-तडपाई मार्छन्। विचरा सोलुलाई कति दुख्छ। अहँ! म आफै एकैचोटि मार्छु। मैले गाउँलेहरूलाई आज मार्छु भनेर विश्वासमा फर्काएँ। मार्छु त भनेँ तर सक्दिनँ। मान्छेहरूसँगै त्यो बिरालो पनि गयो। सोलुले बिरालोलाई हेरिरह्यो। सायद सम्झनामा राख्यो होला।

थोरै हिम्मत र आँट बटुलेर फेरि बन्दुक उठाएँ। सोलुतिर तेर्साएँ। सोलु ढोकामै सुतिरहेको थियो। आँखाहरू डुलिरहेका थिए। मन उडेको हुँदो हो सायद। घर पछाडिको रूखमा बसेर खुब रोएँ। सोलु पनि त्यही आयो। सोलुलाई मैले सिधैँ भने- ‘म तँलाई मार्दैछु आज सोलु! सुन्दैछस्!’

विचरा मेरो शब्दमा माया भेटेछ। मलाई खुट्टामा चाट्न थाल्यो। आँसु बरर खस्यो।

‘कि यति धेरै माया गर्छस् मलाई? म पापी हो। म तेरो मायाको लायक छैन। मलाई माफ गर है सोलु।’

सोलुले टाउको उठाएर मलाई हेर्यो। आज म सबैसँग माफी माग्छु। संसारका प्रत्येक पशुप्राणीहरूसँग। यो धर्ती, जंगल आँगो, पानी, घाम, जून, गाउँलेहरू र तपाईसँग पनि। हे भगवान! के हो पाप? के हो पुण्य? मलाई थाहा छैन। छुट्याउन सक्ने क्षमता पनि छैन र ममा त्यो शक्ति पनि छैन। म गलेर सिथिल भएको छु।

एकैछिनको मौनतापछि आँखा बन्द गरेँ र सोलुलाई गोली हानेँ। सोलुलाई हेर्दै नहेरी फनक्क पछाडि फर्केर घरभित्र स्वाट्ट पसेँ। सोलु कराउँदै गरेको आवाज सुनेँ। आवाजसँगै सोलुको घाँटीको घन्टी बजिरहेको थियो। घन्टीको आवाजसँगै तिहारलाई सम्झेँ। सम्झेँ सोलुलाई मनभरि।

एकैछिनमा आवाज बन्द भयो। बाहिर निस्केर हेर्ने आँटै आएन। ढोका थुनेर बेस्सरी रोएँ। आँसुले भरिएको आँखा पुछ्दै बाहिर निस्केर हेरेँ। रूखको वरिपरि रगतले पोतिएको थियो। सोलुको रगतलाई हातले स्पर्श गरेँ। तर सोलु त्यहाँ थिएन। सोलुलाई खोज्दै पर जंगलसम्म गएँ। शून्य मन र फुस्रो ओठ लिएर घर फर्किएँ।

सोलुको मृत्युमा शोक मनाएँ। वरिपरि सोलु मात्र आइरह्यो। घरको भित्ता र ढोकामा सोलुकै छाया नाचि मात्र रह्यो। एउटा शून्यता बोकेर कालो रातमा छटपटी रहेको थिएँ। घर बाहिरको कौसीमा बसेर रातमा जून खोजिरहेको थिएँ। आकाशमा जून थिएन। ताराहरू पनि आकाशमै हराएका थिए। म भित्रका सबै आत्मविश्वास गलित र थकित भएका थिएँ।

मभित्रका जोश जाँगरका सागर सुकेर फिक्का फिक्का भएर एक्लो भइसकेको थिएँ। अब छन् त केवल मसँग एक्लोपन र मात्र सपना देख्ने यी आँखाहरू। अब यी आँखाहरूको पनि लालच छैन। कसैले घोचेर फुटाइदिए पनि हुन्छ।

अनेक थरिका प्रश्नहरूबीच कालो रातमा सोलुका यादमा तड्पिरहेको थिएँ। रात छिप्पिएर चिसो बतासमा पानीका थोपा बोकेर आउँदै थियो। चिसो बतासले मलाई छोएर अन्धकारमा बिलिन हुन्थ्यो। शरीरले विश्राम गर्न खोज्दै थियो। डम्म सुनिएको आँखा झन् निद्राले सुनिएका थिए। पर-परसम्म फिँजिएको रातमा सोलुको घन्टीको आवाज मधुरो सुनेँ। जुरूक्क उठेर दगुरेर। घन्टीको आवाज पछ्याउँदै दगुरेँ।

सोलु मलाई खोज्दै आउँदै रहेछ। मैले देखिहालेँ। सोलुको पछाडिको भाग रगतले रंगिएको थियो। खुट्टामा रगतका टाटा खुट्टामै सुकेका थिए। शोलुलाई गर्ल्याम्म अंगाल्लो हालेँ। सोलुले मेरो कुममा टाउको अड्यायो। मैले सोलुलाई बोकेर घर ल्याएँ। तातो पानीमा कपडा भिजाएर सोलुको घाउ सफा गरिदिएँ। गोली सोलुको पछाडिको भागमा लागेछ। मैले हेर्नै सकिनँ। सोलुलाई कति दुख्यो होला! म अनुमान पनि गर्न सक्दिनँ। आफैले आफैलाई धिक्कारेँ।

घामको झुल्को घर्तीमा आएसँगै सोलुलाई बोकेर सहरको पशु अस्पताल लगेँ। कठिन पैदल यात्रा छिचोलेर सोलुखुम्बुको गाउँबाट सल्लेरी आइपुग्न झण्डै एक दिन लाग्छ। मान्छेको उपचार नहुने गाउँमा पशुको उपचार सम्भव थिएन।

सोलुलाई बचाउने झिनो आशा लिएर अस्पाल हिँडेको म, सोलुले देख्नै परेन। बाटामै सोलुले अनन्तको लागि बिदाइ गर्यो। मेरो कुममै निदायो, कहिले नफर्किने गरी। अनन्तको लागि। अब भने मेरो आँखाबाट आँसु आएन। सायद आँसु सकियो होला। सोलुको मृत शरीर बोकेर फेरि घर फर्किएँ। सोलुको दाहसंस्कार आफ्नै घरमा गरेँ। घरको ढोकामै सोलुलाई गाडिदिएँ। सोलुले अबदेखि यो घरको रक्षा गर्नेछ। सोलुको आफ्नै घर।

मैले यो गाउँ नै छोडिदिएँ। अबदेखि यो गाउँ सोलुको हो। आजभोलि म हिँड्ने हरेक गोरेटा अनि गल्लीहरू शून्य लाग्छन्। आकाशबाट बर्सिने पानीमा आज पनि सोलुलाई सम्झन्छु। समयले सन्झनामा बाँच्न सिकायो। सम्झनामा बाँच्नु नै जिन्दगी हो जस्तो लाग्छ आजकाल। प्रत्येक तिहारमा सोलुलाई सम्झन्छु। तिहारको रमझममा सोलुको घन्टीको आवाजले झस्किन्छु। सम्झना सोलुको नाममा। रमेश दियाली लेखक हुनुहुन्छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै